
सबै पेशा समान हुन्छन् !
हुनुपर्छ पनि ।
तर,
कुनै पेशामा बढी भावना जोडिएको हुँदा अरुभन्दा भिन्न देखिन्छन् ।
डाक्टरी पेशा यसकारण अन्य पेशाभन्दा अलिक पृथक देखिन्छ।
प्रत्यक्ष मानव ज्यानसँग सरोकार राख्ने भएर यो पेशाको “वजन” अन्यभन्दा धेरै छ।
डाक्टरहरु पनि सामान्य मानिस नै हुन् भन्ने तर्क कहिलेकाहीँ हल्का सुनिनुको प्रमुख कारण डाक्टरको यहि “वजन” हो।
मानव शरीरजस्तो संबेदनशिल कुरामा प्रत्यक्ष सरोकार राख्ने यो पेशालाइ मर्यादित बनाएर डाक्टरहरुलाइ शान्त बाताबरणमा काम गराउनु पर्नेमा नेपालका सरोकारवाला निकायहरु डाक्टरलाई कसरी बिचलित बनाउन सकिन्छ भनेर संगठित भएरै लागेको जस्तो देखिन्छ नीतिनिर्माताको रबैया देख्दा-भोग्दा ।
अहिले नेपालमा कार्यरत रहेका डाक्टरहरुलाइ एकएक गरि प्रश्न सोध्ने भए- सन्तुष्ट सायद कोहि भेटिएला!
किनकी,
यहाँ सन्तुष्ट हुने/बनाउने आधारभूत क्राइटेरिया यो राज्यले दिँदैन ।
स्वभाविक प्रश्न आउँछ,
डाक्टरहरुको हकहितका लागि लड्ने संस्था छैनन् ?
हरेक पेशागत संस्थाहरुले आफ्नो हक अधिकारका लागि गैरकानुनी बाटो देखि आन्दोलनका हरेक उपाय अपनाउने यो देशमा सबैभन्दा संबेदनसिल पेशाका डाक्टरहरुचाहिँ जस्तोसुकै विभेद सहेर बस्नुपर्ने किन?
तपाइँलाई कहिल्यै यो प्रश्नले पोल्दैन?
भन्नु त,
पोल्दैन?
साँच्चै,
डाक्टरहरुको अधिकारको लागि लड्ने संस्था कुन होला?
…..
नेपाल मेडिकल काउन्सिल डाक्टरहरुको नियमन देखि समस्या समाधान गर्ने अधिकार सहित खोलिएको थियो। आजभन्दा ५६ बर्ष पहिले स्थापना भएको यो संस्थाले डाक्टरहरुको अधिकारका लागि लड्नेभन्दा पनि डाक्टरहरुलाइ नियमन (अनावश्यक) गर्नमै आफ्नो समय खर्च गरिरहेको छ। देशमा चिकित्सा शिक्षाको गुणस्तरदेखि उत्पादित जनशक्तिको उचित परिचालनमा समन्वयकारी भुमिका खेल्नुपर्नेमा आफैंमा रनभुल्ल छ।
अझ,पछिल्लो केही बर्षदेखि “चिकित्सा शिक्षा आयोग” लाई लगभग सबै अधिकार हस्तान्तरण गरिसकेपछी यो संस्था “बिघटन” हुने साइत कुरेर बसेको छ।
चिकित्सा शिक्षा आयोग डा गोबिन्द केसीको बढो जोडबलमा आएको “उपहार” हो। डाक्टर केसीले एउटा कल्पना गरेर ल्याउनुभएको यो आयोग यथार्थमा औपचारिकता निभाउने संस्था जस्तो मात्र देखिएको छ । चिकित्सकको लागि हो भनौं ,त्यसको कुनै आभाष हुँदैन । होइन भनौं ,आफैंले लडेर ल्याएको हो।
नेपाल मेडिकल एसोसिएसन देशभरका चिकित्सकको हकहितका लागि लड्ने भनेर खोलिएको एक पेशागत संस्था हो।
बिडम्बना, आफ्नो सदस्यलाई कार्यक्षेत्रमै भौतिक आक्रमण गर्दापनी यो संस्थाले आफ्नो पछिल्लो बिज्ञप्तीबाट मिति सच्याएर नयाँ मितिमा उहि पुरानो बिज्ञप्ती सार्वजनिक गर्नेबाहेक बिरलै केही गर्छ।
सरकार अनि अन्य सरोकारवाला निकायसँग प्रमाण तथ्य तथ्यांकअनुसार बहस गर्नपर्नेमा यो संस्थाका अगुवाहरु एजेन्डामा मोलमोलाइ गरेर कतै आफ्नो “सेटिङ” मिलाउन पाइन्छ कि भनेर कुर्छन्।
बरु, आफ्ना जुनियरलाई आफैंले स्थापना गरेको अस्पतालमा पेल्न तम्सिन्छन् ।
…
यस्तो अगुवा संस्था भएको हाम्रो पेशामा पेलिनु बाहेकको अन्य विकल्प के पो हुनसक्ला र!
सक्छौं ,विकल्प दिनुपर्यो!
होइन,
यहि नियति भोग्न तयार बस्नपर्यो!
तपाइँ कुन रोज्ने?
– नेपालमा कार्यरत एक चिकित्सक