अङ्ग्रेजीमा Prejudice भन्ने शब्द छ , जसको अर्थ हुन्छ – ” पूर्वधारणा वा राय जुन कारण वा वास्तविक अनुभवमा आधारित छैन ” । 
सामान्यतः हामी आफ्नो राय अध्ययन, अनुभव, अपेक्षा र मान्यताको आधारमा बनाउँछौं र त्यसलाई आफ्नो निर्णयात्मक क्षमताले श्रृंगारछौ । हाम्रो राय वा धारणा कतिको दृढ हुने भन्ने कुरा हाम्रो अध्ययन, चिन्तन र अवचेतन मनले तय गर्छ । 

हाम्रो जीवन र व्यवहारमा हाम्रो बुझाइ प्रष्ट झल्किने गर्छ, यही बुझाइले नै कसैलाई भोगी बनाउँछ त कसैलाई योगी ।

अब हाम्रो डाक्टर र स्वास्थ्यकर्मी प्रति  बुझाइ र धारणाका श्रोतहरु के हुन त ?
दैनिक च्याउ सरी  अनलाइन मिडियाका बिकाउ समाचार जसमा समाचारकाे मुख्य हेडलाइन नै “डाक्टरको  लापरबाही” हुन्छ!
youtube का भिडियो हरु जसमा भिउज बटुल्न अफबाह फैलाइन्छ । मृत्यु पश्चात कुहिएको लाशमा देखिने परिवर्तन “putrefaction” लाई आँखा झिकेको भनेर प्रचार गरिन्छ ।
घाँटीमा उपचारको लागी पाइप राख्न बनाएको घाउ लाई रेटेर मरेको प्रचार गरिन्छ ।
मुटुलाई पुन: जागृत गर्न गरिएको CPR लाई छाती थिचेर मरेको व्याख्या गरिन्छ ।
सरकार र अस्पताल व्यवस्थापनको कमजोरीकाे जिम्मा सामान्य कर्मचारी डाक्टर लाई लगाइन्छ । आफ्नाहरुकाे मृत्युको जिम्मा वर्षौं देखि शरीरलाई गलाएको रोगलाई होइन डाक्टरलाई लगाइन्छ । 

हाम्रा अनुभव कस्ताे छ त ?
पक्कै पनि अस्पतालमा सबैको तीतो अनुभव छ, बिरामीको अनुपातमा डाक्टरहरु नगन्य छन। जनशक्ति र उपकरण अभाव छन् ।
एउटा डाक्टरलाई जचाउन ओपिडीमा घण्टौं लाइन बस्न हामी बाध्य छौं। ल्याब टेस्ट गराउन पालो कुर्दा कुर्दा अस्पताल गन्हाएर वाक्क छौं  । ल्याब टेस्टको बिल देखेर हामी त्रसित छौं । प्राइभेट अस्पतालको खर्च देखेर तनावग्रस्त छौं।
त्यसैले त हामीलाई डाक्टर लाई दोष लगाउन सजिलो भएको छ। डाक्टर न्यूनतम तलवमा काम गरेका छन् र हामीले तिरेको पैंसा डाक्टरको खल्तीमा नभई अस्पताल मालिकको खल्तीमा जान्छ भन्ने बिर्सिन पुग्छौ र निस्किँदा निस्कीदै भन्छौ
“चोर डाक्टरले पैंसा खायो !  ”

अस्पतालको इमर्जेन्सीमा triage system हुन्छ अर्थात् बिरामीको गम्भिर अवस्थाको आधारमा प्राथमिकतामा राखेर हेरिन्छ।
होटलमा गए जस्तो पहिला जानेलाई सेवा भन्ने हुँदैन, हामी पेट दुखेर गएको छौं र अवस्था गभिर छैन भने हामीलाई १ घण्टा बेडमा सुताएर अर्को सिकिस्त बिरामीको वरपर स्वास्थकर्मी हुनु उचित हो।
तर, हामीलाई त्यस्तो मन पर्दैन, आफ्नो बिरामी पहिला नहेरेको झोकमा हामी डाक्टरलाई ठटाउँछौं, इमर्जेन्सीमा यही कुरामा कति डाक्टर कुटपिट भए त्यसको लेखाजोखा छैन ।

हामीले सामाजिक सञ्जालमा फैलिएको घृणा, बुझ्न नचाहेको वा नबुझेका सेलिब्रेटी हरुको एकोहोरो आरोप र आक्षेप भएको दस्तावेजलाईनै आफ्नो राय काे श्रोत बनाएका छौं । हामी आफ्नाहरुको मृत्युमा डाक्टर कुट्नुलाई नै दिवंगत प्रति माया र श्रद्धाञ्जली ठान्छौ ।
जो बढी उत्तेजित हुन्छ अराजक हुन्छ उसले माया गरेको ठान्छौं । 

भनिन्छ ,
ढुङ्गा खाए ढुङ्गा बनिन्छ, माटो खाए माटो ।
अरूको पूर्वाग्रही विचारलाई आफ्नो चेतनाको श्रोत बनाउने हो वा आफ्नो अध्ययन, समझ र स्वविवेक लाई प्राथमिकता दिने हो त्यो हाम्रै हातमा छ ।

स्वविकेकले निर्णय गरौं ज्यानमारा doctor !
यथार्थ हो कि Prejudice  ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय