
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. ज्ञानेन्द्र गिरीलाई दीर्घकालीन असर पर्नेगरी प्रतिष्ठानका कर्मचारी, प्राध्यापकहरूलाई स्पष्टिकरण सोध्ने कार्य नगर्न निर्देशन दिएको छ ।
प्रतिष्ठानमा केही दिनअघि सम्पन्न एक कार्यक्रममा सिनेट सदस्य समेत रहेका प्रतिष्ठानका स्कुल अफ पब्लिक हेल्थ एन्ड कम्युनिटी मेडिसिन विभागका प्राडा पारसकुमार पोखरेललाई कार्यक्रमको नेतृत्व गरेको भन्दै उपकुलपति गिरीले स्पष्टिकरण सोधेपछि मन्त्रालयले पत्र लेखेको हो । मन्त्रालयले प्रतिष्ठानमा भएका विभिन्न समस्या र भ्रष्टाचारको विषयमा छानबिनको प्रक्रिया चलिरहेकाले प्राध्यापकहरुलाई स्पष्टिकरण पत्र नलेख्न निर्देशन दिएको हो ।
गत भदौ १७ गते मन्त्रालयमा बसेको बैठक अनुसार सञ्चालक परिषद्को बैठकबाट निर्णय नभएसम्मका लागि दैनिक प्रशासनिक र अनिवार्य दायित्व सिर्जना हुने आर्थिक कार्य बाहेक प्रतिष्ठानलाई थप आर्थिक दायित्व सिर्जना हुने अन्य कार्य नगर्न भनेर उपकुलपति गिरीलाई निर्देशन दिएको थियो । तर, असोज ११ गते प्राडा पोखरेललाई उगिरीले प्रतिष्ठान ऐन विपरित कार्य गरेको भन्दै ३ दिनभित्र लिखित स्पष्टिकरण पेस गर्न निर्देशन दिएका थिए ।