
विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुले खोलेको सामाजिक संस्था एक एक पाइलाले काठमाडौंको थापाथालीमा थोरै शुल्क लिएर विशेषज्ञ सेवा दिन थालेको योजनाबाट लाभ लिनेको संख्या बढिरहेको छ ।
चलेको भन्दा निकै कम शुल्क लिएर उपचार गरिने मात्र नभइ लिइएको यो शुल्क पनि विपन्न नागरिकको उपचारमै खर्च गरिने एक एक पाइलाले जनाएको छ ।
बिरामी जाँच र परामर्शसहितको सामुदायिक क्लिनिकमा अन्य क्लिनिक तथा अस्पतालमा जान नचाहने वा आर्थिक रुपले नसक्ने बिरामीहरुलाई विशेषज्ञ डाक्टरको परामर्श उपलब्ध गराउन थालिएको कलेजो रोग विशेषज्ञ तथा एक एक पाइलाका संस्थापकमध्येका एक प्रा. डा. सुधांशु केसीले जानकारी दिए ।
एक एक पाइलाले देशका विभिन्न ठाउँमा यसअघि १९ वटा विशेषज्ञले स्वास्थ्य शिविर सञ्चालन गरेको र त्यहा जाँच गरिएका बिरामीहरूको फलोअप तथा अन्य बिरामीलाई एकदमै सस्तो र सुलभ दरमा स्वास्थ्य परामर्श दिनुका साथै विपन्न समुदायका बिरामीलाई आर्थिक सहयोग पनि गर्ने गरेको डा. केसीले बताए।
२०१५ को भुकम्प पश्चात् राहत वितरणमा मात्र केन्द्रित हुनुभन्दा आफ्नो ज्ञानलाइ सेवामा प्रयोग गर्ने सोच पलाएको संस्थाका संस्थापकमध्यका एक डा सुमन थापाले बताए।
कोभिड महामारीमा नेपालीबाट करिब सत्तरी लाख बढी पैसा संकलन गरेको डा थापाले बताए। सहयोग गर्नेहरु सबै नेपाली नै रहेको बताउँदै यस्ता योजनाहरुले छरिएका “असल मन” हरुलाइ एकीकृत गर्न सहयोग पनि गरेको छ।