
डा. गोविन्द केसीले प्रधानमन्त्री शेरबहादुर देउवाले आफूसँग गरेको पाँच बुँदे समझदारी तत्काल कार्यान्वयन नगरे आफूले कुनै पनि बेला सत्याग्रह सुरु गर्न सक्ने बताएका छन् । उनले प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने लगायतका आफूसँग भएका समझदारीका बुँदाहरु तत्काल कार्यान्वयन गर्न माग गरेका हुन् ।
बीपी प्रतिष्ठानको आन्दोलनको पहिलो चरण टुंग्याउने बेला भएको सहमति तथा हामीसित प्रधानमन्त्रीले गरेका स्वार्थको द्वन्द्व रोक्न कानुनी व्यवस्था गर्ने र पदाधिकारी नियुक्तिका नयाँ मापदण्ड बनाउने लगायतका पाँच बुँदे समझदारी तत्काल कार्यान्वयन गर्न तथा विभिन्न स्वार्थ समूहहरुको तर्फबाट चिकित्सा शिक्षा आयोगलाई नाजायज दबाब नदिन समेत सरकारको ध्यानाकर्षण गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य राज्यमन्त्रीलाई पदमुक्त गर्ने लगायतका हामीसँग भएका समझदारीका बुँदाहरु तत्काल कार्यान्वयन गर्न पनि माग गर्दर्छौं । यी मागहरु पूरा नगरी सरकारले अहिलेकै निष्क्रियता, लाचारी र अनियमितता कायम राखेमा कुनै पनि बेला सत्याग्रह सुरु गर्ने जानकारी पनि गराउन चाहन्छौं ।’
उनले २०८५ सालपछि कानुनतः मेडिकल कलेजहरु गैर नाफामूलक हुनुपर्ने व्यवस्था रहेकोमा त्यसको कार्यान्वयन तयारी गर्नुको बदला सत्तारुढ दलका नेताहरु तथा तिनका परिवारका सदस्यले अरबौंको कालो धन मेडिकल शिक्षामा खन्याइरहेको दाबीसमेत गर्दै आर्थिक स्रोतको खोजी गर्नुपर्ने पनि बताएका छन् । ‘अहिलेको सत्तामा रहेका पार्टी, तिनका नेता तथा नेताका परिवारका सदस्यहरुसित साँठगाँठ रहेका तथा आपराधिक पृष्ठभूमिका माफियाहरुले देशभरका निजी मेडिकल कलेजहरु किनिरहेका छन् । त्यस्तो किनबेचले राजनीतिकर्मीहरुले भ्रष्टाचार गरेर थुपारेको कालो धन माफियाहरुमार्फत मेडिकल कलेजमा लगानी भइरहेको भन्ने आशंकालाई गम्भीर बल पुर्याएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘नागरिकले लाखको कारोबार गर्दा स्रोत खोज्ने राज्य र बैंकिङ प्रणाली अरबौं रुपैयाँको यस्तो शंकास्पद किनबेच भइरहँदा मौन बस्नुले थप शंका जन्माएको छ ।’