
सरकारी अध्ययनअनुसार करिब दुई तिहाइभन्दा बढी नेपालीमा कोभिड–१९ विरुद्धको एन्टिबडी विकास भएको छ । खोप लगाएका वा प्राकृतिक रूपमै कोभिड संक्रमण निको भएर यति धेरै नेपालीमा प्रतिरोधी क्षमता विकास भएको सरकारको दाबी छ ।
सर्वेक्षणले कोभिडविरुद्धको खोपको प्रभावकारितासमेत राम्रो देखाएको छ । सर्वेक्षणअनुसार मुलुकमा एक मात्रा खोप लगाएकामा ८० प्रतिशत र दुई मात्रा खोप लगाएकामा ९० प्रतिशत कोभिडविरुद्धको एन्टिबडी देखिएको छ ।
सेरो ‘प्रिभ्यालेन्स’ सर्वेक्षणले आधाभन्दा बढी नेपाली कोभिडविरुद्ध आफैं संक्रमित भएर आफैं निको भएको देखाएको औंल्याउँदै विज्ञहरूले मुलुक ‘हर्ड इम्युनिटी’ तिर गइरहेको समेत जनाएका छन् । तर केही विज्ञले भने कोभिडको ‘डेल्टा भेरिएन्ट’ सँग ‘हर्ड इम्युनिटी’ सम्भव नरहेको समेत दाबी गरेका छन् । हर्ड इम्युनिटीको अर्थ समाज वा समूहका केही प्रतिशत व्यक्तिमा रोग प्रतिरोधक क्षमताको विकासको माध्यमले संक्रामक रोगको प्रसार रोकिनु हो ।