
राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका निमित्त मेडिकल सुपेरिटेन्डेन्ट डा. विनोद सिंहलाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । अन्य चार जनाको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।
डा. सिंहलाई युवाहरुको एक समूहले शुक्रबार दिउँसो कार्यकक्षमै मोसो दलेको थियो । यस घटनाको विरोधमा चिकित्सक तथा स्वास्थ्यकर्मी आइतबारदेखि इमर्जेन्सीबाहेकका सेवा बन्द गरी आन्दोलनमा उत्रिएका छन् । अहिले जिल्लाभर नियमित स्वास्थ्य सेवा बन्द छ ।
पक्राउ परेकाविरुद्ध स्वास्थ्यकर्मीको सुरक्षा सम्बन्धी अध्यादेश २०७८ बमोजिम मुद्दा दर्ता गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।