
भारतीय लगानीकर्ताले पोखराको मणिपाल शिक्षण अस्पताल बिक्री गरेको छ । २०५१ सालमा ४९ वर्षपछि नेपाल सरकारलाई हस्तान्तरण गर्ने गरी अस्पताल र शिक्षण अस्पताल सञ्चालन गरेको मणिपाल समूहले म्याद नसकिँदै बिक्री गरेको हो ।
उक्त कलेज पोखराका व्यवसायी आनन्दराज बतासको बतास अर्गनाइजेसन र नारायण पौडेलको अटोवेज प्रालिले खरीद गरेका छन् । कलेज खरिद बिक्रीसम्बन्धी अन्तिम सम्झौता शुक्रबार हुने अटोवेजका पौडेलले जानकारी दिए।
‘नेपालकै ऐतिहासिक र प्रतिष्ठित अस्पताललाई अझै व्यवस्थित हिसाबले सञ्चालन गर्ने लक्ष्यसहित हामीले खरीद गरेका हौं,’ पौडेलले भने, ‘इनिसियल सम्झौता गरिसकेका छौं ।’
यी दुई व्यवसायीले ३ अर्ब ५० लाख रुपैयाँमा मणिपाल कलेज किनेका उनीहरु निकट स्रोत बताउँछ । कलेजमा ६० प्रतिशत बतास र ४० प्रतिशत अटोवेज समूहले लगानी गरेका छन् ।
४० रोपनी क्षेत्रफलमा फैलिएको मणिपालले ९ सय शय्याको अस्पतालको अनुमति लिएको छ । अस्पतालले आफ्नो स्वामित्व बाहेक पनि १०० रोपनी लिजमा लिएको छ । मेडिकल कलेजमा अहिले १ सय विद्यार्थीले एमबीबीएस अध्ययन गरिरकेका छन् । मणिपालमै बीएस्सी नर्सिङ, स्टाफ नर्ससमेत पढाइ हुँदै आएको छ । मणिपालमा भारतदेखि धेरै विद्यार्थी एमबीबीएस अध्ययन गर्न आउने गरेका छन् ।
मणिपालले पोखरा महानगरपालिकालाई जग्गा शुल्क, करबापत २८ करोड रुपैयाँ तिर्न बाँकी छ । कलेजले विभिन्न दायित्व र अन्य ठाउँमा गरी ९७ करोड ६० लाख रुपैयाँ तिर्न बाँकी छ