
||१|
काफल पाक्यो चुत्रो फुल्यो,खाने गाउँमा साँईली छैन
गुराँस फुल्यो,टाँकी फुल्यो,लाउने गाउँमा साँईली छैन
शुन्य लाग्छ डाँडा पाखा, न्याउली रुन्छ “बिरहमा”
बाँझै रहे गरा-पाखा , झ्याउरे गाउने साँईली छैन
।२।
खरी झर्यो मादलुको, गाउँमा नाच्ने साँईली छैन
गितका भाका “पप” बने टुक्का, गाउने साँईली छैन
साथी संगी साउदी कतार, बाँकी लागे युरोप तिर
फागु आउँदा अबिर लाउने, मेला जाने साँईली छैन
|| ३||
तिहार आउँदा मखमली उन्ने,गाउँमा अब साँईली छैन
हत्याउरीमा गुन्द्री बुन्ने, गाउँमा अब साईली छैन
गुँढ बनाई फुल पारे, माउ भन्दा चल्ला बाठा
निउँवा टिपि दहि हाली, क्वाप्प खाने साँईली छैन
|| ४||
फल्न छाडे आरु, अम्बा, लाने गाउँमा साँईली छैन
सिरु घारी झाडी बन्यो, घाँस काट्ने साँईली छैन
“उजाड” भए बन-पखेरा, कोईली उडि गए पछि
कल कल बग्ने मुहान सुके, कुलो लाउने साँईली छैन
||५||
भत्किएछ “घरको” गारो लिप पोत गर्ने साँईली छैन
पोखिएछ अन्नपात, जतन गर्ने साईली छैन
फुल्नै छोडे जाई जुई , चमेलीको बास्नै हरायो
स्याहार गर्ने माली उनै, गाउँमा अब साँईली छैन