
आज ३३ दिन भएछ।
केपी ओली नेतृत्वको सरकारलाइ बिस्थापित गरेर शेर बहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनाएको।
त्यो भन्दा पहिले,
यो सरकार बनाउने खेलाडीहरुले महिनौंसम्म केपी ओली विरुद्ध सडक-सदन संघर्ष गरे।
एउटै पार्टी भित्र पनि।
सायद,ओलीको हेपाइ-पेलाइ सबैको “साझा पीडा” भएरै होला,इतिहासमा बिरलै देख्न पाइने घटनाको हामी साक्षी बन्न पुग्यौं ।
अर्थात् ,आफ्नै पार्टी अध्यक्षलाई हटाएर अर्को अझ कुनैबेलाको “प्रधान शत्रु” मानेको पार्टीका सभापतिलाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने मात्र होइन, मोर्चाकै अग्रपंक्तिमा उभिए एमालेका सांसदहरू ।
“हामी यहाँ छौँ” भनेर माइतीघरमा धर्ना बस्नेदेखी आफुहरुको नेतृत्वमा सरकार बन्यो भने यस्ता यस्ता कार्यक्रम गर्नेछौं भनेर नागरिक अगुवा अनि सम्पादकहरुलाइ चरण-चरणमा बृफिङ गरे देउवा-प्रचण्ड-नेपालको गठबन्धनले।
बिश्वास त “नागरिक अगुवा” गरेहोलान् ।
नागरिकले गरेका थिएनन् ।
तर, नागरिकले न्यूनतम कुरामा यो सरकारले आफ्नो इमानदारीता देखाउँछ भन्ने सोचेथे।
आज?
…
आज,
शेर बहादुर देउवा प्रधानमन्त्री बनेको महिना दिन बितिसक्दापनी उनले आफ्नो मन्त्रीमण्डल बिस्तार गर्न सकेका छैनन् । आफुहरु मन्त्रीमण्डल बिस्तारमा बाधक नभएको अनि कानुनी समस्याले तत्काल जाने सम्भावना नरहेको भनेर माधवकुमार नेपाल समुहले सार्वजनिक रूपमै भनिरहँदा सत्ताको चावी सम्हालेका शेर बहादुर देउवाले यो ढिलाइको उचित कारण आजसम्म बताएका छैनन् न त बिस्तार गर्ने इच्छाशक्ति देखाएका छन् ।
आफ्नो पार्टीबाट निर्वाचित भएका सबैलाई मन्त्री पद चाहिएको तर आफुहरुको भागमा सबै नपर्ने भएकाले मिकाउन सकस परिरहेको भनेर आफैंलाई गिज्जाउनुबाहेक माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले थप केही बताएका छैनन् ।
केपी ओली नेतृत्वको सरकार रहँदा सडक तताउन सदैब तयार समूह पनि आजभोलि सायद “पर्ख र हेर” को अवस्थामा भएर होला कि के हो, यो ढिलाइको शसक्त बिरोध गरिएको कुनै दृश्य जति खोजेपनी भेट्टाइदैन।
आखिर,
यो ढिलाइ किन भइरहेको होला?
कोरोनाको यत्रो महामारी रहिरहेको बर्तमान समयमा स्वास्थ्यमन्त्री जस्तो जिम्मेवार मन्त्रालयलाई खाली राखिराख्ने सरकारको नियत के होला?
“ओलीको तानाशाही कदम विरुद्ध लड्नु अनि जनताको हितमा काम गर्नु” नै आफ्नो एकमात्र लक्ष भएको बताउने गठबन्धनलाई अहिले त्यस्तो के समस्या आइपर्यो होला जसले मन्त्रीमन्डल बिस्तारजस्तो समान्य र सुरुवातकै काम गर्न महिना बढी लाग्न गयो होला?
…
यो प्रश्नमा दिमाग खियाउनै पर्दैन।
शेरबहादुर वा प्रचण्ड वा नेपाल कसैको प्राथमिकता यस्ता कुरामा कहिल्यै थिएनन् । आफ्नो दशकौंदेखिको राजनीतिक क्यारियरमा नभएको राजनीतिक चरित्र यो उत्तरार्धमा होला/आउला भनेर सोच्ने हामी नै मूर्ख होइनौं ?
आफ्नो भाग नपाएको निउँमा भौतारिरहेका यो समुहलाइ असंबैधानिक तरिकाले संसद विघटन गरेर केपी ओलीले घिउ थपिदिएपछी तत्कालको अवस्थामा मिल्नु वा सिद्दिनुबाहेक अरु कुनै विकल्प नभएपछी बाध्यात्मक अवस्थामा यो गठबन्धन बनेको हो। सबैलाइ भाग साझा पार्नेगरी ।
शेरबहादुर देउवा भन्ने मान्छे यहाँभन्दा पहिला चारचोटि प्रधानमन्त्री भैसके। के तपाइँ यिनले गरेका एउटै राम्रो काम सम्झन सक्नुहुन्छ? यिनले कहिल्यै जनजीबिकाको सवालमा चिन्ता/चासो प्रकट गरेको देख्नुभएको छ/सुन्नुभएको छ?
यिनी पहिलोपटक प्रधानमन्त्री हुँदा नजन्मिएको पुस्ताको जनसंख्या अहिले बर्तमानमा सबैभन्दा धेरै होला। देश बिदेशमा आफ्नो इलम देखाएर आफुमात्र नभएर राज्यलाइ पनि पालिरहेको छ। अनि,हामीले नेता चहै उहि “शेरबहादुर”लाई मानिदिनुपरेको छ।
बिडम्बना!
नियती!
वा,
आवस्यकता।
भनिदिने को होला?
…
प्रचण्ड आजभोलि आफैंदेखि लजाएर ,आफ्नै छायाँदेखि तर्सिएर भौतारिरहेका एक “अलौकिक प्राणी” हुन् । कहिले आकाशमा उड्ने चरी त कहिले पानीमा रम्ने माछा बन्ने प्रचण्ड समाजको धरातलीय यथार्थ बुझेको मान्छे हुन कहिल्यै सकेनन् ।
मान्छे हुन अझैसम्म नसकेका उनी नेता कसरी सक्लान् र?
आकाशको तारा झार्ने सपना देखाएर युद्धमा मर्न अनि मार्न हौसाएर ,देश अनुसार्को भेष बदलेर “छ्लाङ”हान्न माहिर प्रचण्ड भनेका आजभोलि “गुनासाका पोका” बाहेक सायदै अरु केही होलान् ।
कहिले “प्रचण्ड”बाट “पुस्पकमल” ,कहिले “पुस्पकमल” बाट “छबिलाल” ! उनी आफ्नो रङ्ग कहिले फेर्छन् ,कहिल्यै भन्दैनन्। तर, जसो गरेपनी ,जे गरेपनी त्यो उनको लागि “युगान्तकारी छलाङ”बन्न पुग्छ।
नत्र,
अबको आधा सताप्दी कम्युनिस्टबाहेकको सरकारको कल्पना गर्नपनी सकिन्न भनेर भोट मागेका उनले तीन बर्षमै सबै दोष ओलीलाई सुम्पिएर आफू चोखो बन्न मिल्छ/सुहाउँछ? पछिल्ला दशकमा आएका सबै उपलब्धिहरु आफुले ल्याएको भनेर भन्न कहिल्यै नथाक्ने तर आफ्नो बैचारिक-सांस्कृतिक-आर्थिक स्खलनले पार्टी हुँदै देशलाइ नै पारेको नकारात्मक प्रभाव बारे बोल्दै नबोल्ने बिरोधाभाष शैलीबाट के बुझ्ने!
…
एउटा कुरा प्रष्ट हुनैपर्छ।
ओलीको विकल्प हौं भनेर दावी गरिरहेका देउवा-नेपाल वा प्रचण्ड विकल्प होइनन् लोभी सहयात्री हुन् । आफ्नो भाग कम हुनेबित्तिकै रिसाएर हिँडेकाहरु।
हो,खड्कप्रसादले गर्नैनहुने असंबैधानिक अपराध गरे। तर, खड्कप्रसादलाइ त्यो तहको अपराध गर्न उक्साउने भनेका यिनै हुन् । पर्दाबाहिर खड्कप्रसाद देखिएपनि यिनिहरुको नियत खड्कप्रसादको भन्दा भिन्न कहिल्यै थिएन र हुँदैन पनि।
…
तपाइँहरुलाइ लाग्दैन?
अलिकती जनताप्रती संबेदनशिल हुनेभए “मलाइ शेरबहादुर देउवा यसकारण मनपर्छ” भनेर सयौं भिडियो पाइपलाइनमा छ भनेर सगौरव भन्नेले एउटा खोप लगाएको सर्टिफिकेट नपाएकै कारणले मजदुरीमा जाने दाजुभाइको टिकट छुटेको यथार्थबारे बोल्नेथिएन होला?
“कन्फ्लिक्ट अफ इन्ट्रेस्ट” बारे नेपाली समाज आजभोलि ज्यादै संबेदनशिल छ भन्ने यथार्थ जान्दाजान्दै ब्यापारीलाई मन्त्री बनाउन तम्सिनेले “अब यस्तो हुनेछैन” भनेर भनेका कुरालाइ पत्याउन कसरी सकिन्छ?
आजको यथार्थ यो हो,
शेरबहादुर देउवाबाट अपेक्षा गर्नु ब्यर्थ हो।
प्रचण्ड-नेपालले शेरबहादुरलाई ट्राकमा ल्याउन पहल गर्छन् कि भनेर सोच्नु अझ ब्यर्थ हो।
अपेक्षा नै केही नगरेपछी,”यो गरेन/त्यो गरेन” भनेर दुखेसो बाँकी सायदै रहला।
…
आजको यथार्थ के हो भने, कोरोना महामारी हामीबीच अझै बढ्दो संख्यामै छ। टेस्ट गरिएको मध्य एक चौथाइ संख्या पोजेटिभ आइरहेकै छन् । दिनहुँ तीस देखि चालिसको हाराहारीमा मृत्यु भइरहेको छ। यो संख्या सायद हाम्रो लागि फगत संख्या मात्र होला तर,कसैकसैको लागि सारा जिन्दगी हो।
भनिन्छ नि,
कोहि साधरण मानिस कसैकसैका लागि कोहि नहुन सक्छ तर,त्यही साधरण मानिस कसैकसैका लागि सारा संसार हुनसक्छ।
आज हाम्रो लागि फगत संख्या रहेको यो यथार्थ घुम्दै फिर्दै “सारा संसार” हुनसक्छ ।
यस्तो बेला हामीलाई अभिभावकत्व दिनुपर्ने सरकार आफ्नै तालमा ब्यस्त छ। जिन्दगीभर सरकारलाई सकेको सहयोग गर्दै आएका हामीलाई सहयोग चाहिएको बेला वास्तै नगर्ने सरकारको के अर्थ।
….
शेरबहादुर देउवा नेतृत्वको यो सरकार कहाँसम्म पुग्ला भन्न त सायद उनैको ज्योतिषीबाहेक अरु कसैले नसक्ला।
तर,
कुनैदिन यो गठबन्धन टुट्नेछ।
अनि,
आफुलाइ असहयोग गरेको भन्दै प्रचण्ड-नेपाल प्रती उनले गुनासोका पोखा जनतासंग भन्नेछन्।
प्रचण्डले आफुले चाहेजस्तो काम गर्न सरकार असफल भएको भन्दै अर्को गठबन्धन बनाउने “युगान्तकारी छ्लाङ” हान्नेछन्।
हामी दशकदेखीको यिनको यहि गैरजिम्मेवारीपनलाइ हेर्नबाहेक केही गर्न सक्नेछैनौ!
यो भबिस्यको कुरा भयो!
तर,
बर्तमानको यथार्थ के हो भने,
शेरबहादुर नेतृत्वको सरकारसँग “केही गर्छ कि” भनेर अपेक्षा गर्नु आफैंलाई अन्ततः दुखी बनाउने एउटा बाटो मात्र हो।
आफैंलाई एउटा प्रश्न सोध्नु त, आफ्नै आँखा अगाडि देखिएको यस्तो महामारीको समयमा पनि एउटा स्वास्थ्यमन्त्री छान्न नसक्ने नेतृत्वसङ दीर्घकालीन सपना-गन्तब्य होलान् भनेर बिश्वास गर्न तपाइँको मन मान्छ?