लेखक: डा नवराज रानाभाट

भिडियो एक्स-रे गरिसकेपछी बिरामीको जिज्ञासामा डाक्टर साबले भन्दै थिए -“ हजुरको अरु त सबै ठीक छ; कलेजोमा बोसो जमेर बसेको रछ !  फ्याट्टी लिबर- ग्रेड २ ! अब चिल्लो कम गर्ने, एक्ससाइज गरेर तौल घटाउने”! 
आफै १ कुइन्टलको जम्बो शरीर लिएर बसेका डाक्टर साबले तौल घटाउने र व्यायाम गर्ने कुरा गरेको सुन्दा बिरामीले थप जिज्ञासा राक्छन् -“ डा. साब खासै डराउनुपर्ने त केइ छैन होला नि! हजुरको र मेरो जिउज्यान उस्तैउस्तै त छ !”
नाथे बिरामीले आफ्नो ज्यानसँग उसको ज्यान दाँजेको देखेर डाक्टर साब नझर्किने त कुरै भएन! तैपनि लम्बाईभन्दा चौडाइ बढी भएका डाक्टर साब आफुले लगाएको फिटिङ चेक शर्टको बटनबिचबाट निस्किन खोज्दै गरेको प्याण्टे भुँडीलाई लामो सास फेरेर भित्रतिर तान्दै झर्को मानीमानी बिरामीलाई काउन्सिलिङ गरे !हुन त  आज बिहान मात्रै काम बिशेषले छिमेकीकोमा जाँदा आफु हाँसोको पात्र बन्नुपरेको कुरा अझै पनि डाक्टर साबको दिमागमा खेल्दै थियो ।  कारण- नेत्र र जमिनको विचमा रहेको जम्बो भुँडीले दृष्टिमा अवरोध गरेकोले फरक फरक चप्पल लगाएर  छिमेकीकोमा जानु ! यस्तै यस्तै कुराले बिहान देखी नै  मुड अफ भएर बसेका डाक्टर साबसँग फतफताउदै सिस्टरलाई नयाँ बिरामी ल्याएर बेडमा सुताउन निर्देशन दिए !
थप  केही बिरामीको अल्ट्रासाउन्ड गरेसी घडी हेर्दै डाक्टर साब भन्दै थिए -“ ओहो ३:३० भैसकेछ ! बुढीले फर्निचर पसलमा जानुपर्छ भनेर घरमा किच किच गरेको पनि १ हप्ता भैसक्यो।आज नि नलाने भने त मार्छे !” यती भन्दै आफ्नो ब्याग समातेर उनी पार्किङ स्पटतिर लागे ! 
मारुती अल्टो- 800 कारको ढोका खोल्न लाग्दै गर्दा छेउमै गाडी पार्किङ गर्दैगरेका अर्का डाक्टर साबले व्यंग्य गर्दै भन्छन् – “ डा. साबलाई यो गाडी सानो भयो ! अब अर्को ठुलो गाडी किन्नुपर्ने देखियो!” दिनभरी नै मुड अफ भएर बसेका डाक्टर साबलाई आफ्नो सहकर्मिले  व्यंग्य गर्दै दिएको यो सुझाव त्यती मुनासिब लाग्ने त कुरै भएन ! हुन त  योभन्दा पहिलेको  मोटर साइकलमा आफ्नो एक कुइन्टलको शरीर राख्दा टायर दबिएर  प्राय: पंचर भैरहने गरेकोले अस्ती भर्खरै सेकेण्ड ह्यान्ड अल्टो किनेको कुरा सहकर्मी साथीलाई सुनाउन मन थियो तर उक्त कुरा सुनाउंदा आफ्नै बिल्ला हुने डरले साथीको कुरालाई सुन्दै नसुनेझैँ गर्दै उनी अल्टोको ड्राइभीङ सिटमा बसेर अटस्मटस गर्दै सिटबेल्ट बाँधेर घरतिर लागे !
बुढीसँग एकहप्तादेखी चल्दै आएको शितयुद्धलाई मत्थर पार्ने मनसायले घरमा पुग्नसाथ डाक्टर साबले भन्न थाले- “ आज शपिङ जानुपर्छ भनेर छिटै निस्केको म ! के के किन्नुपर्ने छ लिस्ट बनाउ।” मत्ता हात्तीकोजस्तो शरीर भएका डाक्टर साब त्यसमाथि झन राती सुत्दा घुर्ने बानीले आजित बनिसकेकी डाक्टर साबकी श्रीमती कि त छुट्टै कोठामा सुत्ने कि चैं ठुलो किंग साइज बेड किनेर ल्याउने तरखरमा थिईन् ! उनीहरु बिचको शितयुद्धको चुरो कुरो यही थियो ! त्यैपनि बुढाको अगाडि  झ्याप्पै बोल्न नसकेर कुरो मिलाउँदै  उनले भनिन् : “ बिहेमा माइतीले दाईजो दिएको खाटमा नि कती सुत्ने; अब नयाँ किन्नुपर्‍यो!माइतीतिरबाट कोइ आए नि एउटा खाटसम्म नजोडेको भनेर खिस्सी गर्छन् ! “श्रीमतीको आवाज जति नै कर्कस लागेपनि उनको कुरा नमान्नुको बिकल्प डाक्टर साबसँग थिएन ! तसर्थ उनको कुरालाई मौन समर्थन जनाउँदै  डाक्टर साब फर्निचर पसलतिर लागे !
उही मारुति अल्टोमा पेट अटस्मटस गर्दै सिटबेल्ट लगाएर गाडी स्टार्ट गरेसी यसो एफ.एम लगाएर पुराना हिन्दी गीत सुन्दै थिए डाक्टर साब !  एफ.एमले गीत बजायो – “जिसकी विवि मोटि उसका भि बडा नाम हे~~~विस्तर पे लेटादो ~~ गद्देका क्या काम हे।”  मोटो भएकै कारण दिनभरी बिरामीदेखी सहकर्मी साथीको व्यंग्य सुन्नुपरेको डाक्टर साबलाई एफ.एममा बजेको यो गीतले झनै गिज्ज्याइरहेको जस्तो लाग्यो ! आफ्नै बुढीले “जिसका पति  मोटा  उसका भि बडा नाम हे~~~विस्तर पे लेटादो ~~ गद्देका क्या काम हे~” भनेर ब्यंग्यबाण हान्नसक्ने प्रबल सम्भावना देखेर उनले एफ.एम बन्द गर्नमा नै आफ्नो भलाई देखे ! त्यसपछी डाक्टर साबले मनमनै भने “भोलिबाट  त जसरी भएनी बिहानै  उठेर मर्निङ वाक जान्छु !एक महिनाभित्र जसरी भएनी भुँडी घटाउँछु  !” पहिला पहिला सधैं मायालु स्वरले ”बाबा~~” भनेर बोलाउने श्रीमतीले आजकाल झर्केर “~ बाजे” ( त्यस्का बाजे) भन्ने गरेको कुराले डाक्टर साबको मनमा बिहे गरेर भएको “श्रीमतीको बुढो”भन्दा पनि उमेर र मोटोपनले गर्दा भएको “बुढो” जस्तो महसुस हुन्थ्यो !तसर्थ उनले अठोट गरे- “यो भुँडीलाई र बुढीलाई तह लगाएर राखेकै बेस!” यस्तायस्तै कुरा मनमा खेलाउँदै डाक्टर साब सपिङ गरेर घर फर्के !
सपिङ गरेर घर आउनसाथ होस्टलबाट शुक्रबार घरछुट्टी आएको छोरालाई देख्दा एक्छिन भएनी डाक्टर साबले दिनभरीको तनाब भुलाउने कोशीश गर्दैथिए ! तैपनि  छोरालाई देख्नसाथ अस्तीभर्खर छोराको स्कुलको “ प्यारेन्ट्स डे”मा जाँदा छोराका केही साथीले “मोटु अंकल” भनेर बोलाएको एकाएक उनको कानमा गुन्जिन थाल्यो ! “प्यारेन्ट्स डे”मा जाँदा ‘घरै पिँडालु, वनै पिँडालु ; ससुराली जाँदा बाह्र हातको पिँडालु’  जस्तो  महसुस  गरेका डाक्टर साबलाई  छोराले टिभिमा “मोटु-पत्लु” कार्टुन हेरेको देख्नसाथ भाउन्न भएर आयो अनी उनले छोरालाई हकार्दै उक्त कार्टुन हेर्न दिएनन् !
पहिलोपटक आमा बनेकी नारीले आफ्नो बच्चालाई खेलाए जसरी नै  डाक्टर साबले राती सुत्ने बेलामा दिनभरीका अनेक घटनाक्रमहरुलाई मनमनै खेलाउँदै थिए!  बानेश्वरमा उभिँदा शान्तिनगर गेट छुने आफ्नो भुँडीले गर्दा बारम्बार आफु लज्जित हुनुपरेको योभन्दा अगाडिका अनेकौं घटनाहरु उनको मस्तिस्कमा खेलिरहे। बोसोको भारले थिचेर ढाड दुख्ने समस्याबाट ग्रसित डाक्टर  साबलाई चार बाइ छ को पलङमा आधा ज्यान मात्रै अट्ने, ट्वाइलेट गर्दा कमोटमा नअटाउने, बर्खामा सामान्य छाता ओढ्दा त्यसमा नअटाएर रुझ्ने, मोजा लगाउन अप्ठ्यारो हुने, पुरै काठमाडौं चाहर्दा पनि आफुलाई फिट हुने लुगा नपाईने, पुट्ट निस्केको पेटकै कारणले श्रीमतीलाई अंकमाल गरेर चुम्बन लिन नसक्ने, सिंगल फोटो खिच्न मन नलाग्ने, ग्रुप फोटोमा अगाडि बस्न मन नलाग्ने, दुइटा पेटी गाँसेर लगाउनुपर्ने, एक तोलाको सिक्री लगाउँदा सिक्री नै  घाँटीमा बिलाउने जस्ता यावत् समस्याको भारले पनि थिच्दै थियो! त्यसमाथि झन अघिल्लो हप्ता मात्रै स-परिवार स्वयम्भू घुम्न जांदा उकालो चढ्न धौधौ भएको दृश्यपनि उनको आँखा अगाडि घुमिरह्यो। 
यि र यस्तै अनेकौं घटनाक्रमले गर्दा डाक्टर साबले भोलिपल्टदेखी  नै डाइटिङ र मर्निङ वाक गर्ने संकल्प मनमनै गरिसकेका थिए ! तसर्थ मोबाइलमा बिहान पाँच बजेको अर्लाम सेट गरेर डाक्टर साबले एउटा खराब दिनको अन्त्य गरे; भोलिपल्ट सबेरै उठेर मर्निङ वाक गर्ने प्रतिज्ञाका साथ ! भोलिपल्ट बिहान मोबाइलले आफ्नो धर्म निर्वाह गर्दै अर्लाम बजायो ।  तर अर्लाम सुन्नसाथ झसंग भएर बिउँझिएका डाक्टर साबले मोबाइलको अर्लाम बन्द गर्दै भन्न थाले -“आज स्याट-डे ! भोलिबाट जान्छु मर्निङ वाक!” दिनहरु भोलिपल्ट पनि यसरी नै आइरहे अनी डाक्टर साबका नयाँ नयाँ बहानाहरु पनि ! कहिले शनिबार त कहिले प्राइभेट  प्र्याक्टिस; कहिले पुषको ठन्डी त कहिले काठमाडौंको धुलो ! यस्तायस्तै अनेकौं  बहनाले  डाक्टर साबको भुँडी घटाउने कमिटमेण्ट अधुरै रह्यो !  हुन त डाक्टर साब एक पटक “ कमिटमेण्ट” गरिसकेपछी आफ्नैकुरा पनि नसुन्ने सलमान खान पनि त थिएनन् ! भेटवाल थर गरेका उक्त डाक्टर साबलाई आझसम्म पनि सबैले डाक्टर पेटवाल भनेर सम्बोधन गरिरहन्छन्! उनी पनि निच्च हाँसेर मनमनै भन्छन्-“एकदिन अवश्य पेट घटाउने छु !”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय