![]() |
लेखक- डा आशिष कडारिया |
म त सानो मान्छे,
सायद भुइँको मान्छे,
मैंले बोलेको,चिच्याएको सायद ,
कोहि ले पनि नसुन्ने मान्छे,
हजुर त काठे कुर्ची छोडेर,
सुनको कुर्चीमा बस्ने चाह भएको मान्छे।
म त आफ्नो पेट पाल्नको लागि,
काम गरेर खानु पर्ने मान्छे,
देशको हालत देख्दा पिर मात्र लाग्ने मान्छे,
हजुर त देशको लागि भन्दा आफ्नो लागि मरिहत्ते गर्ने मान्छे ,
तर पनि देश हाँक्ने, चलाउने मान्छे।
म त आफू सकि नसकि काम गरेर पनि देशको नियम मान्न पर्ने मान्छे,
अलिअलि कमाएको सम्पत्ति पनि आयकरमा बुझाउनु पर्ने मान्छे,
हजुर त देशको सम्पत्ति रित्ताएर आफ्नो भकारी भर्ने मान्छे,
तर पनि म बोल्दा कसैले सुन्दैनन्,
हजुर बोल्दा ताली थाक्दैनन्।
हो म गलत भएँ,
हजुरलाई सुनेँ, पत्याएँ,ताँली पिटेँ, भोट हालेँ,
तर आफू चैं,
बाढीमा बगेँ,
आगोमा डढेँ
कोरोनाको कहरमा परेँ,
बन्द कोठा भित्र थुनिएँ,
सायद आफैं जलेर गएँ, गढेर गएँ।
तर कास,
हजुरलाई त्यो बाढीले बगाउँथ्यो,
हजुरलाई त्यो डँडेलोले जलाउथ्यो,
हजुरलाई त्यो कोरोनाले छुन्थ्यो,
अरु नभए पनि देश परिवर्तन पक्कै हुन्थ्यो।
तर हेर्नुस् न म त बोल्न पनि सकेको छैन्,
केबल सम्झन मात्र सक्छु हैं,
सायद फरक यहि भएर होला नि,
हजुर एक नेता,
म एक आम नागरिक!!!