लेखक- डा नताशा भट्टराई 

 टिङ्गटिङ्ग टिङ्गटिङ्ग !

फोनमा अलार्म बज्छ । मैले मेरो फोन  अाफ्नो ओछ्यान  नजिकैको टेबलबाट निकालेर हातमा  लिएँ। बिहानको  छ बजिसकेको रहेछ।

 अँध्यारो र उज्यालोको द्वन्द पछि अँध्यारोलाई चिर्दै मेरो कोठा भित्रपनि उज्यालो छिर्दैथियो , मन खुशी र बेखुशीको बीच रुमल्ली रहेको थियो । यत्तिकैमा मेरो आफ्नो कामको याद आयो ।

” अहो ! आज त मेरो बिहानको डयुटि छ। मलाई उठ्नुपर्छ” भनेर मेरो मनले मलाई उठ्न बाध्य  पार्दैथियो  

..तर, मेरा आँखाहरु अझै निन्द्राले लठ्ठ पर्दैथिए, मन  र शरिर झगड्दै थिए । त्यसैले मैले दश मिनेट समय शरीरलाई दिने विचार गरें । अनि, फेरी

 दश  मिनेटपछीको अलार्म लगाएँ अनि फेरि  सुतेँ।

हिजो बेलुकी डिउटीबाट दश बजे फर्किएर खाना पकाउँदा, खाँदा र भाँडा माझ्दा बाह्र बजिसकेको थियो। केही समय पढ्‌नको लागि छुट्‌याएको हुन्छु मैले किनभने  सिकेका कुराहरू लाई पुनरावृत्ति गर्दा सिकाइलाई अझ प्रगाढ बनाउँदो रहेछ। यसरी समय खर्च गर्दागर्दै म  सुत्ने बेला  दुई बजेको  थियो ।  कहिलेकाहीँ  असाध्यै शरिर थाकेको हुन्छ त्यसैले मैले प्राय जसो पठाओ मगाएर आउने जाने गर्थेँ तर महिनाको अन्तिम तिर आर्थिक अभाव हुँदै जाने अनि आफूलाई आवश्यक पर्ने सामानहरु पनि सकिँदै जाने भएको कारणले त्यही पठाओ पनि मगाउन सकिन ।

 त्यसैले होला अनि राती  ढिला  सुतेकोले बिहान  उठ्न  गाह्राे  भइरहेको छ। दश मिनेटपछी  फेरि अर्को अलार्म बज्छ। अनि म जुरुक्क उठेँ अनि आफ्नो दैनिक क्रियाकलाप सकेर म डियुटि जान  तयार भएँ। ह्यङगरमा राखेको लुगा झिक्ने बेला बल्ल याद आयो मैले लुगा धुन राखेको रहेछु भुसुक्कै बिर्सिएछु। लुगा धुन आउने दिदी आजकल आउनु हुन्न  । डाक्टरको घरमा कोरोना सर्छ भनेर आउनै छाड्नुभयो । कपडा धुने काम त्यति गाह्रो त होइन मलाई तर धेरै थाकेकोले गर्न नपरे हुन्थ्यो जस्तो लाग्छ आजकल । म विस्तारै तयार भएर हस्पिटलतिर हिँडे।

मलाइ अचम लाग्दै थियो किनकी हस्पिटल बाहिर  निकै नै भिड थियो। मानिसहरूले  आफ्नो  आफ्नो पालो कुरिरहेका थिए । हस्पिटलको ओपिडि देखि फार्मेसी  सम्म लामो लाइन थियो। मेरो  डयुटि भने ईमर्जेन्सीमा थियो। म आफ्नो डयुटिमा आए र सधै झै आफ्नो  काम गर्न लागेँ । 

डाक्टरको काम सजिलो कहाँ छ र निकै सतर्कता र जिम्मेवारी पूर्ण गर्नु  पर्छ।

विहान दश बजे हस्पिटलको ईमर्जेन्सी कक्षमा बस्दै गर्दा कोरिडाेरबाट एक्कासि  चिच्याएको आवाज  आयो। हामी सबै  ईमर्जेन्सीमा भएकाले कोरिडाेरतर्फ  हेरियो। दुई तिन जना मानिस ह्विलचियरमा एक जना  ब्यक्तीलाई  लिएर  आइरहेका  रहेछन् । बिरामी हेर्दा  बेहोस  देखिन्थ्यो।

उसको सर्ट पसिनाले  भिजिसकेको थियो । बिरामीसङ्ग आउने व्यक्ति भन्दैथिए -“ऊनी बिहानबाट छातीको देब्रे पट्टि दुखेको कुरा गरिरहेका  थिए । उनको  हत्केला पनि दुखिरहेको थियोे । ऊनी  सानो दुखाइ  होला  भनेर हेलचक्रयाई गरे उनी विहान सबेरै  हस्पिटल आएनन्”।

 उनलाई लिएर आउने साथीले बताउँदै थिए आज कतै जाँदा  गाडी  बिग्रेपछि बनाउने क्रममा  त्यहीँ  बेहोश भएका रहेछन् । हामीले  ढिला  नगरि हस्पिटलकाे वेडमा सुतायाैँ । बिरामी  बेहोश थिए । हामीले  बिरामीको  भाइटल साइन हेर्याैँ। पल्स ,विपी,हर्टविट,ब्रेथ साउन्ड केहि पाइएन । उनकाे  प्युपिल पनि डाइलेटेड थियोे । हामीले  कन्फर्म हुनकाे लागि  इसिजी पनि गरियाे। उनकाे इसिजी फल्याट थियाे। हामीले उनको  परिवारलाई उनको  निधन भएको कुरा बतायौँ ।

हामीलाई पनि कति गाह्रो हुन्छ नि कसैको ज्यान गयो अब  उनको निधन भयो भन्नलाई !

 तरपनि, यथार्थतालाई सबैले स्वीकार्नै पर्छ। परिवारका सदस्यहरु रुन कराउन लागे। हामीले  उनको लास   परिवारलाई  हस्तान्तरण  गरेर फेरी काममा लाग्यौं । पक्कै पनि हृदयघातका कारण  उनको  मृत्यु  भएको  हुनसक्छ । उनलाई विहान देब्रे छाती दुख्न सुरुहुने बित्तिकै ल्याएको भए उनलाई  बचाउन  सकिन्थ्यो । तर, विडम्बना अन्तिम क्षण जुनवेला उपचार गर्न नसकिने – गरेर पनि अर्थ नहुने बेला ल्याएर गल्ति गर्नुभयो ।

दुई बजिसकेको थियो। 

त्यसैबिच पछाडीको ढोकाबाट केहि  आवाज  आएको महसुस भयो। हामी  सबैले पछाडी  हेर्याैँ। पछाडिको  ढाेका फुटेको  रहेछ। केही बेरमै मानिसहरुको भिड देखिन  थाल्यो । हातमा  लठ्ठी  लिएका आक्रोसित मानिसहरुको भिड  हामीतिर आइरहेको थियो। ती मानिसहरुले हस्पिटलका सामानहरु तोडफोड  गर्न लागे । हाम्रो बिहान  सम्म केही नभएको विरामीलाई तिमीहरुले  हस्पीटल ल्याएर उपचार गर्ने सट्टा ज्यान लियौ  भन्दै मानिसहरु कराइरहेका थिए ।

 यसो झट्ट हेर्दा हो जस्तो पनि कतिलाई लाग्न सक्छ। तर उनी उपचार गर्न नमिल्ने अवस्थामा आएका थिए।

हामी  सबै  आत्तिन थाल्यौं । सिस्टरहरु अर्को कोठाबाट  रोएको कराएको आवाज  आयो। हाम्रा थुप्रै सहकर्मी  साथीहरुलाई  चाेट लाग्यो । कतिको टाउकोमा पनि चाेट लाग्यो । म आत्तिदै बाहिर  निस्कन खोजेँ तर मलाई  ठूलो भिडले पछ्याउँदै  थियो। म दौडिरहेको  बेला अगाडिको टेबलमा  ठोक्किएर नराम्रो सँग लडेँ। मेरो टाउकाे नजिकैको धारिलो  बस्तुमा गएर ठाेक्किनाले काटेछ। 

मेरो  शरीरमा  धेरै ठाउँमा दधारिएकाे थियोे । चाेट लागेकाे कारण म बेहाेस भएँ। 

मलाई  पुलिस  आएपछि नजिकैको  अस्पतालमा  लगिएको रहेछ ।

घरमा दुई तिन  दिन आराम गरेपछि म ठिक  भएर अस्पताल जान  फेरि तयार  हुनलागेँ । मलाई कस्तो कस्तो नराम्रो लागिरहेको थियो। यो स्वास्थ्य विज्ञानका कुरा सर्वसाधारण मानिसलाई कहिले बुझाउने बनाउन सकिएला !

 होला, कहिलेकाहीँ अस्पताल र डाक्टरको पनि कमजोरी तर धेरै जसो घटनाहरु नबुझेर घटेका छन् । यस्तै यस्तै सोच्दै थिएँ  त्यहिबेला आमाको फोन  आयो। आमा रूँदै हुनुहुन्थ्यो ।

“सानोमा टिभीमा देखाउने डाक्टरलाई  देखेर तिमीले आमा  म डाक्टर बन्छु भनेर भन्थेउ । डाक्टर भएर सेवा गर्छुभन्थ्यौ । तिम्रो त्यही इच्छा र डाक्टर बन्ने चाहना पुरा  गरेको  हो हामीले । तर, आज तिम्रो  यो अवस्था  देख्दा मेरो मन असाध्यै रुन्छ। हिजो भानिज दाइको बिहेमा  घर आउ भनेको थिएँ । मैले तिमीलाई तर तिमी हस्पिटलमा छुट्टी नपाएर आइनौ। यसरी घर परिवार इष्टमित्र कोही नभनी सेवा गरेर आज यस्तो फल पायाै। कठै  घरमा  आएको भए यस्तो  हुँदैन थियो तिमीलाई” ।

आमा फोनमै सुक्क सुक्क गर्न थाल्नुभयो । मैले आमालाई सम्झाउंदै आफुलाइ केहि  नभएको र आत्तिनु पर्ने अवस्था नभएको कुरा जानकारी गराएँ ।

  आफूले आफ्नो शरीर र स्वास्थ्यलाई पहिलो प्राथमिकता दिने बचन दिदै मैले  फोन  राखेँ। 

हस्पिटलमा आज पनि  उत्तिकै  लामो लाइन रहेछ। म इमर्जेन्सी कोठाको कुर्सीमा आएर बसेँ। हिजोका – कुराहरूलाई फेरी भुल्दै फेरी आफ्नो दायित्व र कर्तब्य तिर लार्गे  केही वेरमै एम्बुलेन्सको आवाज  आयो। हामी सबै  जुरुक्क  उठेर बिरामी  जाच्न गयाैँ।

जिन्दगीको यो नियमित चक्र चलिरहेछ।

चलिरहन्छ ।

हामी चुपचाप स्विकारिरहेछौ।

किनकी,

अरु कुनै बाटो छैन।

बस् ,

सानो गुनासो छ- जसका लागि यसरी खटिन्छौ, उसैले हाम्रो ब्यथा किन नबुझिदिएका होलान् !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय