“एमबीबीएसपछि यस्तो अवस्था हुन्छ भन्ने पहिल्यै थाहा पाएको भए त म पढ्ने नै थिइन पक्का”!
भख्खर इन्टर्नशीप सकाएर जागिरको खोजीमा भौतारिरहेको एउटा साथीले भन्यो!
यो भन्ने उ एक्लो होइन।
एमबीबीएसको दौरान धेरैबाट सुनेको “साझा वाक्य” यहि नै हो !
म आफैंले कतिपटक आफैंलाई भनेको छु।
तपाइँको मनमा कहिल्यै आएको छ?
एकछिन सोच्नुस् त?
किन यस्तो हुन्छ?
जब कल्पना अनि यथार्थ बीचमा गहिरो खाडल  आउँछ,यो सोच आउँछ।
नेपालमा चिकित्सा शिक्षा पढ्नुअघिको कल्पना र पढिसकेपछिको यथार्थबीच कस्तो भिन्नता छ?
यो लेखमा म बिस्तृतमा चर्चा गर्ने जमर्को गर्नेछु!
तर,
फेरि,दोहोर्‍याएर भन्छु-” कल्पना र यथार्थबीच जति ठूलो खाडल पैदा हुन्छ,त्यति धेरै फ्रस्टेसन पैदा हुन्छ!
अब,
म आफुले देखेको-भोगेको- बुझेको समस्यालाई बुँदागत रुपमा चर्चा गर्नेछु!
      पढाई
   सामान्यतया,ब्याचलर्सको पढाइ चार बर्षको हुन्छ। एमबीबीएस अपबाद हो। एमबीबीएसको पढाइ अवधी साढे पाँच बर्षको हुन्छ। तर,यो समयमा पढाइ सकिने “भाग्य”ले साथ दिनुपर्छ।
टियु अन्तर्गतका मेडिकल कलेजमा एमबीबीएस सकिन कम्तिमा ६ बर्ष लाग्छ। रिजल्टमा हुने ढिलाइ लगायत अन्य कारणले सात बर्षसम्म लागेको उदाहरण छ। एउटै कोर्सको पढाइ केयु अन्तर्गत भने साढे पाँच बर्षमा सकिन्छ। चाइना लगायत अन्य कतिपय मुलुकमा पढ्न जाँदा पहिला भाषा सिक्नुपर्ने पुर्वशर्तका कारणले त्यहाँको एमबीबीएस सकाउनपनी कम्तीमा ६-७ बर्ष लाग्छ।
भन्नाले, संगै +२ सकाएर इन्जिनियरिङ पढेको साथीले मास्टर्स सकाउने समयमा एमबीबीएस सकिन्छ ।
अझ,एमबीबीएसपछि “अनिवार्य” गर्नैपर्ने एमडी/एमएस पढ्नुअघी कम्तीमा एक बर्ष तर ब्यवहारिक हिसावले दुइबर्ष “दैनिक ज्यालादारी” डाक्टर भएर काम गर्नैपर्ने बाध्यता छ।
अरु कुनै बिधामा नभएको र अन्य देशको चिकित्सा शिक्षामा समेत नभएको यो “मौलिक” नियम हाम्रो देशमा कायम छ!
भन्नाले, सबै हिसाबले ठिक भए कम्तीमा एमबीबीएसको छ बर्ष , बीचको संक्रमणकालिन दुई बर्ष अनि एमडी/एमएस गर्दाको तीन बर्ष गरि एघार बर्षपछि मास्टर्स सकाइन्छ।
मैले एउटा कुरा छुटाएँ नि!
सम्झिनु भो,
एमबीबीएस भर्ना हुनुपहिले गरिने “इयर लस” बारे त जानीजानी नजोडेको मैले!
त्यो चाहिँ आफैं जोड्नु न है।
साँच्चै, आफ्नो सपनाको बिषय एमबीबीएस पढ भनेर कति बर्ष “लस” गर्नु भो तपाइँले?
यसरी , +२ उत्रीण गरेको कम्तीमा ११ देखि १२ बर्षपछि चिकित्सा शिक्षामा मास्टर्स सकिने रहेछ।
संगै,
इन्जिनियरिङ वा अन्य पेशा अपनाएको साथीले यो ११ बर्षमा के के गरिसक्छ भन्ने कुरा चाहिँ “सम्झने पानी छम्कने” है!
२० बर्षमा एमबीबीएस भर्ना भएको युवा मास्टर्स सकाउँदा ३३-३४ बर्षको भइसक्छ!(चिन्ता नगर्नुस् ,यो पनि राजनीतिक भाषाको युवा नै हो)!

पैसा
“चिकित्सा शिक्षा भनेको सेवामूलक पेसा हो! पैसा कमाउने भए अन्य सयौं क्षेत्र छन् । यो भनेको सन्तुष्टि पाउने पेसा भएकाले पैसासंग तुलना गर्न मिल्दैन”!
यो भन्ने अगुवा वा सहकर्मीजस्ता ढाेंगी मलाइ कोहि लाग्दैन।
कि ,
तपाइँपनि भ्रममा हुनुहुन्छ ?
मेरो अहिलेसम्मको बुझाइले भन्छ-चिकित्सा पेशापनि अन्य पेशाजस्तै पेशा हो! मानव जीवनसंग प्रत्यक्ष सरोकार राख्ने भएकाले यो पेशा अन्यभन्दा अलिक भिन्न देखिन गएको मात्र हो।
तर,
यो पेशामा आबद्धहरु अन्य पेशाकर्मी जस्तै सपना-यथार्थ भएका प्राणी नै हुन् ।
“चिकित्सा पेशालाइ पैसासँग तुलना गर्न मिल्दैन वा पैसा कमाउने भए अन्य फिल्ड रोजेहुन्छ” भन्नेहरु भनेका भुइँतहका स्वास्थ्यकर्मीलाई चुसेर आफू मोटाउन चाहने ढाेँगी चरित्रका “कुरुप अनुहार” हुन् ।
यति लेखेपछि अब पैसो/कमाइको कुरा त  गर्नैपर्यो नि है!
तपाइँ अहिले यो लेख पढ्दै हुनुहुन्छ र तपाइँ स्वास्थ्यकर्मी होइन भने एकछिन ब्रेक लिनुहोस्!
पानी पिउनुहोस् !
अनि,
बिस्तारै पढ्न बस्नुहोस्!
किनकी,
अब मैले लेख्ने कुराहरु तपाइँलाई पत्यार नलाग्नसक्छ।
हो,
आफुले नदेखेको/नभोगेका कुराहरु पत्याउने हाम्रो बानी नै छैन।
कम्तीमा छ बर्षको एमबीबीएस पढाइ सकिसकेपछी मेडिकल अफिसर भएको कमाइने औसत तलव भनेको ३३-३६ हजार हो।
दिनमा दस घन्टा काम गर्दा पाइने औसत तलव भनेको यहि हो।
यो तलब अतिरिक्त भत्ता पाउनु वा बिमा हुनु भनेको कल्पना बाहिरको कुरा हो!
तर,
यथार्थ के हो भने, कामको निश्चित समय हुँदैन।
केही महिनाको करार पाउनु भनेको ठुलै चिट्ठा हात पार्नु झैँ हो।
लगभग ६० लाख खर्च गरेर छ बर्षको आफ्नो जिन्दगी बिताएर “समाजको सेवा गर्ने भगवान” को तलब भनेको ३३-३६ हजार हो।
एमबीबीएस पछि एमडी गर्नु भनेको “बधुवा मजदुर” हो! लगातार ४८ घन्टासम्म खटिनुपर्ने भएपनी अहिले नेपालका अधिकांश मेडिकल कलेजले रेजिडेन्टलाई दिने तलब भनेको १८ देखि २२ हजार हो। त्यो पनि विद्यार्थीबाटै पहिल्यै एकमुष्ट लिइएको रकम समयसमयमा “रिलिज” गरिदिने मात्र हो।
यति लेखेपछी पैसाको कुरा थप के लेख्ने र है?
आफुलाइ माथीका सन्दर्भमा पाइसक्नुभयो होला क्यारे!

अवसर
“अवसर खोज्ने होइन, सिर्जना गर्ने हो”!
सुन्नलाइ यो भनाइ गज्जब सुनिन्छ।
क्या दम छ है एकै वाक्यमा!
यथार्थ?
सबै परिक्षाहरु उत्रीण भैसकेपछी पनि लाइसेन्स परिक्षा दिनैपर्ने पेशामध्य चिकित्सा शिक्षा नै होला! नेपालभित्र काम गर्न लाइसेन्स परीक्षा दिएजस्तै नेपाल बाहिर जुनसुकै देशमा काम गर्न चाहे उनीहरुको देशको नियम अनुसारको परीक्षा दिनुपर्ने हुन्छ।
अन्य पेशामा जस्तो ब्याचलर्स सकाएपछी बिदेशका कलेजसंग सम्पर्क गरी सिधै पढ्न पाइने अवसर यो पेशामा छैन। तसर्थ,बिदेशको अवसर अन्य पेशामा जस्तो यसमा छैन!
अनि,
नेपालमा?
नेपालमा त चिकित्सकलाई “सौतेनी” व्यवहार गरेको बर्षौँ भैसक्यो। अन्य हरेक बिषयमा खोलिने लोकसेवा डाक्टरहरुलाइ नखोलेको आधा दशक भैसक्यो। केहि महिने करारमा आफू अनुकुल भर्ती गराएर सरकारले आफ्नो अभिस्ट पूरा गर्दै आइरहेको छ। अन्य कुनै विकल्प नरहेपछी चिकित्सकहरु यहि “निर्बिकल्प” रोज्न बाध्य छन् ।
आक्रोश पोखिरहेकै छन् !
पीडा पोखिरहेकै छन् !
याद गर्नुहुन्छ,
DSON/DVON लगायत डाक्टरका अफिसियल ग्रुपहरुमा आउने अधिकांश पोस्टहरु केसंग सम्बन्धित हुन्छन् ?
लेखिरहन पर्ला र?
एमबीबीएस सकाएपछी आफ्नै पोलिक्लिनिक वा फार्मेसीसम्म खोल्न पनि एमबीबीएसको लाइसेन्सले नहुने ब्यवस्था मिलाइएको छ।
आफैं वा एउटा समूह बनाएर केही प्रयास थाल्ने सोचलाइ राज्यको हावादारी र बेतुक निर्णयले पहिलो चरणमै ठेस पुर्याउँछ। एचए/सिएमएले अस्पताल चलाएर डाक्टरहरुलाइ ज्यालादारी मजदुर बनाउँदा चुपचाप सुत्ने ऐन-कानुन डाक्टरले औसधि बेच्न पाउनुपर्छ भन्ने बित्तिकै सल्बलाउँछ।
किनकी,
राज्य चाहन्छ-डाक्टरहरु अन्योलग्रस्त भबिस्य बोकेर भयबित बर्तमानमा बाँचिरहुन्!
बस् ,
“भगवान” भन्ने एउटा बेमौसमी ट्याग भिराइदिएपछी डाक्टरका अगुवा पनि चुपचाप !
नत्र,
“मेडिकल अफिसरको तलब एक लाख  हुनुपर्छ” भनेर बाचा गरेर चुनाब जितेकाले आफ्नो कार्यकाल सकिनलाग्दा सम्मपनी चुपचाप निर्लज्ज भएर बस्ने हो?
नेतृत्व जवाफदेही हुनुपर्ने होइन?
इमर्जेन्सीमै कार्यरत डाक्टरहरुले पिटाइ खाइरहँदा “जेल विथआउट बेल मेरो पहलमा आयो” भन्नेहरुले यथार्थ बुझिसकेपछी माफी माग्नुपर्ने होइन?
गैरजिम्मेवार नेतृत्व भनेको कस्तो हुन्छ भनेर कसैले बुझ्न खोजे बर्तमान राजनीतिक नेतृत्वभन्दा पहिले चिकित्सा क्षेत्रका नेतृत्व सम्हालेकालाई देखाइदिए अझ गज्जब हुन्छ।
बिरामीबाट टिकट शुल्कमा एक रुपैयाँ यताउता नगर भनेर आदेश दिइरहने नियामक निकायले डाक्टरले पाउनुपर्ने न्युनतम तलब तोकिदिनुपर्ने होइन?
अठार महिने कोर्स गरेकाले अस्पताल चलाएर “मालिक” भइरहँदा दशकबढी उर्जाशिल समय निताएर विशेषज्ञता हासिल गरेका चिकित्सकलाई “मजदुर” भन्दा माथीको दर्जा दिन किन हिच्किचाउने?
चिकित्सा पेशामा अहिले “सेटल” भइसकेका अगुवा आफ्नो धरातल यति छिटो बिर्सिन्छन्, त्यति छिटो त चप्पल पड्काउँदै काठमाडौं छिरेका “क्रान्तिकारी” ले पनि बिर्सिन्नन्।
आफुले भोगेर आएको समस्या आफू सम्बोधन गर्ने ठाउँमा पुगिसकेपछी “कुन समस्या” भन्ने हरिबहादुर पाराको ब्यवहार देखाउँछन्!
फलतः आफ्नो सोचाइ अनि धरातलीय यथार्थ बीचको यो गम्भीर अन्तरले भख्खरै पास भएर केही गर्छु भन्ने चिकित्सकहरु फ्रस्टेसन मै पुग्छन् !
राज्यसँग भिख मागेर आफ्नो समस्याको समाधान हुँदैन भन्नेसम्म बुझ्न नसक्ने चिकित्सा क्षेत्रको नेतृत्वको के कुरा गर्नु!
तर,
भन्नैपर्छ,
नेपालमा चिकित्सा शिक्षा नेग्लेटेड हुनुमा प्रमुख जिम्मेवार ढाेंगी नेतृत्व भएर पनि हो!
अरे यार,
यति लेख्न अब साइत हेर्नुपर्छ र भन्या!

अब के गर्ने त?
तपाइँलाइ लाग्दैन?
अबपनि समस्या समाधानका निम्ति पहल नगर्ने हो भने बिद्रोहको रुप लिन्छ भनेर!
कार्पेट मुनिको फोहोर कति समयसम्म लुकाउन सक्नुहुन्छ?
यो पुस्ताले बोलेन भने,अर्को पुस्ताले जरुरै बोल्नेछ!
किनकी,
सबै हामीजस्तो लाचार,ढाेंगी अनि कायर हुँदैन!
हो,तपाइँलाई नै भनेको!
पत्याउनुभएन,
अहिले यो पढिरहनुभएको तपाइँलाई नै भनेको!
दोहोर्‍याएर भन्छु है- सबै तपाइँजस्ता कायर-ढाेंगी हुँदैनन्!
“मालप्राक्टिस” को बारे प्रमाणसहित सार्वजनिक गर्दा  ज्यानको धम्की दिनेसामु एकजुट हुनुको सट्टा सुराकी बन्न तयार तपाइँ-हामी जस्ता मान्छेलाइ “भगवान” भन्ने पगरी धेरै भारी भैसक्यो!
यो पगरी पाएपछी हामीले आफ्नो धरातल चटक्कै बिर्सिने बानी परिसक्यो!
“भगवान” भन्दा पहिले मान्छे बनेर!
“भगवान” भन्दा पहिले कसैको छोरा-कसैको बाबू- कसैको भाइ भनेर हेर्नुपर्ने बेला आइसक्यो!
आफैंले चौबीसै घन्टा काम गर्ने अस्पतालमा आफैं बिरामी हुँदा सित्तैमा उपचार गर्न पाइन्न भने त्यो “भगवान” भने अलौकिक उपहारको औचित्य के?
आफू कुनै कुनामा दिनरात कसैको ज्यान बचाउन मरिमेटेर लाग्दैगर्दा आफ्नै परिवारको सदस्यले पैसाकै अभावमा समयमा नै उपचार पाएनन् भने त्यो “भगवान” भन्ने पगरीले छोरा/छोरीको कर्तव्य पूरा हुन्छ?
हुन्न!
हुन्न!
हुन्न भन्ने तपाइँ लगायत यो लेख पढ्ने हर कोहिलाइ थाहा छ!
त्यसोभए,
के गर्ने?
बिद्रोह !
हो,नेपालजस्तो देश जहाँका राजनीतिक नेतृत्वदेखि कर्मचारी तन्त्र डाक्टरको हुर्मत लिन तम्तयार भएर बसिरहेको छ,त्यहाँ हामी पेशाकर्मीले हात जमाएर बस्ने नै होइन!
सकेसम्म कमभन्दा कम मानव क्षति हुनेगरी बिद्रोह गर्ने हो!
यो सत्ताले यो समयमा हाम्राजस्ता धरातलीय समस्यालाई बिद्रोह नगरेसम्म सुन्दैन!
तर,
हामीले कठोर भएर अल्टिमेटम दिएमात्र समस्या समाधान हुनसक्नेमा एकले अर्कालाइ निशेधको राजनीति गर्दै आफू आफैंमा सकिँदै छौँ !
….
लेख सकाउनुपर्ने भयो!
यो बिषयमा अब अरु शृङ्खलापनि लेख्नैपर्नेछ!
अन्य बिषयलाई त्यहाँ अटाउने नै छु!
आज जानुअघी एउटा अन्तिम प्रश्न है,
एमबीबीएस जोइन गर्नुपहिले तपाइँले सोच्नुभएका सपनासँग आजभोलि आफुले भोग्ने धरातलीय यथार्थसँग कत्तिको तुलना गर्नुहुन्छ?
ओहो!
प्रश्न सुन्नेबित्तिकै निको हुन लागेको घाउमा नुनपानी छर्केको जस्तो भयो होला है?
तपाइँलाई कहिँकतै लाग्छ,
चिकित्सकमाथी भइरहेको यो राज्यसमर्थित विभेद हटाउन बिद्रोह गर्ने बेला भइसकेन?
कि,
आजसम्म जसरी बित्यो-भोलि पनि त्यसैगरी बित्छ भन्ने लागेको छ?
यो लागेको भएपनी,
एउटा कुरामा ढुक्क हुनुस्-
तपाइँबिना पनि बिद्रोह सम्भव छ!
किनकी,
सबै चिकित्सक तपाइँजस्तै ढाेंगी हुँदैनन्!
….
यति पढेपछी केही जवाफी प्रतिक्रिया त लेख्नु न !
“सामुहिक पीडा” सुन्नुको मज्जा जो छ! 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय