
यहि गएको आइतबार म माथी जे भयो , म बयान गर्दा पनि हात काँपिरहेका छन् ।
एक सामान्य परिवारको मान्छे डाक्टर बन्ने सपना पछ्याउँदै डाक्टर बनेर सरकारले तोके अनुसारको ठाउँ गोरखा अस्पतालमा कार्यरत छु ।
आफुले आजसम्म जानेको सीप, ज्ञान र अनुभवको प्रभावकारी कार्यनयन गर्दै दुर्गमका बिरामीलाइ सकेको सेवा दिनु नै मेरो सपना थियो ।
पैसा कमाउन नसकेपनि आत्मसन्तुष्टि पक्कै कमाइएला भन्ने सोचले मलाइ सधैं प्रेरित गरिरहेको थियो ।
तर,
आइतबारको घटनाले मलाइ नराम्रोसँग निमोठिरहेको छ ।
भएको के थियो ?
आइतबार म सधाझैँ ओपिडीमा बिरामी हेरिरहेको थिएँ । तिहारको सरकारी बिदा सुरु भइसकेको भएतापनि तिहार भर काम गर्ने ड्युटी रोस्टर आइसकेको थियो ।
४:३० तिर एकजना महिला आउनुभयो ।
Thyroid Function Test गरेको रिपोर्ट सहित ।
“मेरो थाइरोइड बढेको छ कि घटेको छ” रिपोर्ट मेरो हातमा पर्नेबित्तिकै उहाँले सोध्नुभयो ।
“बढेको छ कि घटेको छ हेर्नलाइ त तपाइँले यो भन्दा पहिले गर्नुभएको जाँच र खाइरहेको औसधि हेर्न पर्यो नि । खोइ देखाउनुस् त ” – मेरो जवाफ ।
थाइरोइड जाँचका पुराना कागज अहिले छैन भनिसकेपछि समय मिलेको बेलामा ति रिपोर्ट ल्याउनु । अनि, म बिस्तारमा बताउँनेछु है भनेर मैले भनेपछि बिरामी जानुभयो ।
त्यसको केहि समयपछि उनै महिला फेरि आउनुभयो साथमा अर्को पुरुष लिएर ।
“हाम्रो रिपोर्ट किन नहेरिदिएको”? आक्रोशयुक्त उहाँको प्रश्नलाइ मैले अघि महिलालाइ सम्झाए जसरी नै सम्झाँए ।बिरामीको अघिल्लो रिपोर्ट नहेरी बढेको-घटेको थाहा नहुने कुरा फेरि बताँए ।
तिहारसम्म पहिलाकै औसधि निरन्तर खाने अनि तिहार लगत्तै विशेषज्ञ चिकित्सककोमा गएर थप सुझाव लिँदा उत्तम हुन्छ भनेर मैले भन्न नपाउँदै सँगै आएका पुरुषले भन्नुभो -” रिपोर्ट नहेर्ने भए रगतमात्र किन तानेको ? तिहारको बिदामा सरकारी अस्पताल बन्द गर्न मिल्दैन “।
जवाफमा मैले भनेँ – “चाडपर्व लगायतमा नियमित ओपिडी नभएतापनि इमर्जेन्सी २४सै घन्टा खुल्ला हुन्छ । केहि परे आउनु न है” ।
मसँगै रहनुभएको सिस्टरले पनि त्यहि कुरा दोहोर्याउनु भो ।
उहाँ सन्तुष्ट भएजसरी निस्किनु भो ।
निकै समय लगाएर भएपनि सन्तुष्ट पारेर पठाउन सकियो भन्ने सोचेँ ।
….
अन्य कुरिरहेका बिरामी जचाँउन भित्र आउन थाले ।
केहि समयपछि ,
दुइ जना पुरुष सरासर भित्र छिरे ।
म अर्को बिरामीलाइ सम्झाउँदै थिएँ ।
“बिरामीलाइ छिटो बाहिर पठा”- एउटाले रुखो स्वरमा बोल्यो ।
बिरामी जानेबित्तिकै ढोकाको चुक्कुल लगाए । अनि, म माथी हातपात सुरु भयो । बन्द कोठाभित्र एक्कासी यसरी हातपात हुँदा मैले केहि सोच्नै सकिन । “अब मार्छन् होला” भन्ने सोच मात्र आइरह्यो दिमागमा । केहि समय हातपात गरेपछि ढोकाको चुक्कुल खोले । बाहिर रहेका अस्पतालको गार्ड, सिस्टर ,बिरामी सबैको अगाडी हात खुट्टा काटिदिने धम्की दिएर लात्तीले हानेर सरासर गए ।
त्यसपछिका प्रत्येक सेकेन्ड मेरो दिमागमा अब मलाइ फेरि अर्को आक्रमण गर्छन् होला भन्ने डरमा मात्र बितिरह्यो ।
रातभर एक पटक पनि आँखा झिम्काउन सकिन ।
त्यसको भोलिपल्ट ,
अस्पताल प्रशासन , डाक्टरहरु, जिल्ला पुलिस कार्यालयको रोहवरमा बसेको छलफलमा आक्रमणकारीलाइ पक्राउ गर्न कुनै कसर बाँकि नराख्ने निर्णय गरियो जसले मलाइ केहि भएपनि आड दिलायो ।
तर, सबै आश्वासनको बाबजुद पनि आक्रमणकारीलाइ पक्राउ परेका छैनन् । मुद्दा दर्ता गर्नलाइ सार्वजनिक बन्दले रोकेको छ ।
मलाइ चिन्ता छ – अदालत खुल्ने बेलासम्म यो घटना पनि यसअघिका घटनाजस्तै सेलाएर जाने त होइन ?
मलाइ चिन्ता छ – के यो घटनापनि कार्यक्षेत्रमा चिकित्सकमाथि भएको अर्को एउटा घटना मात्र हुनेछ?
के , यो घटनापनि “Jail Without Bail” लाइ गिज्याउने अर्को थप एउटा घटना मात्र हुनेछ?
…
अरु सहकर्मीलाइ कार्यक्षेत्रमा आक्रमण हुँदै गर्दा मैले मलाइपनि यस्तो दिन आइपर्ला नि भन्ने मनको एउटा कुनामा त सोच्थेँ , तर, गम्भीरतापूर्वक कहिले पनि लिइन ।
आज, म पनि सिकार भएँ ।
कार्यक्षेत्रमा चिकित्सकमाथि हुने हातपातमा सामुहिक लडाइँ लडनुको साटो एक्लाएक्लै “जसलाइ पर्छ, उसैले भोग्छ” भन्न थाल्यौं भने घुम्दैफिर्दै हामी सबको दिन आउँछ ।
…
नत्र,
यो देशमा बसेर सेवा गर्नुपर्छ भन्ने म युवा डाक्टरलाइ यो देशमा बस्नुको एउटै कारण कसले दिनसक्छ?
(गोरखा अस्पतालको आफ्नै कार्यक्षेत्रमै कुटिएका डाक्टर अभिनास पराजुलीका शब्द) ।