
२ महिना अगाडिको कुरा हो । एउटी पश्चिम् भेगतिर बस्ने ३५ वर्षिय महिलालाई कुकुरले टोकेको रहेछ । तर ती महिलालाई भ्याक्सिन लगाउन पर्ने उपदेश दिने मान्छे भएनछन् । ओ पि डीमा आउँदा मुखबाट र्याल चुहिएर, हातखुट्टा सबै खुम्चाएर , हावा पानीबाट पनि डराउने भएर आउँदा रेबिजको लक्षण हो भन्न कत्ति मुस्किल भएन । उनलाई रेबिजको उपचार गर्न काठमाडौं अवस्थित टेकु अस्पतालमा प्रेषण गरियो । तर रेबिज शतप्रतिशत प्राणघातक रोग हो भन्ने कुराले उनी बच्ने कुनै आश थिएन ।
रेबिज एउटा प्राणघातक रोग हो । यो कुकुरको टोकाइबाट सर्ने रोग भनेर बुझिन्छ । रेबिज लागेपछि लगभग शतप्रतिशत मृत्यु सुनिस्चित हुन्छ । यसबाट बच्नका लागि कुकुर, बिरालो , जंगली जनावरआदिले टोकेपछी भ्याक्सिन लगाउन पर्छ ।
कस्तो अवस्थामा रेबिज भ्याक्सिन लगाउनपर्छ ?
कुकुर, बिरालो, स्याल, जंगली जनावरले टोके पछि साबुन र सफा पानीले घाउ सफा गर्नुपर्छ । त्यस ठाउँमा बेसार लगायतका घरेलु जडिबुटी लगाउनु हुँदैन । घाउको प्रकृति अनुसार भ्याक्सिन लगाउन पर्छ । हाल तीन दिन भ्याक्सिन लगाउन पर्छ । पहिलो डोज लगाएको तेस्रो दिन र सातौं दिन लगाउन पर्ने हुन्छ । गहिरो घाउ वा घाउबाट रगत आएको खण्डमा भने अर्को Immunoglobulin भ्याक्सिन पनि दिनुपर्ने हुन्छ । जसमा रेबिज भाइरस विरुद्धमा बनेका Antibodies हुन्छन् । र शरिरमा फैलिएको भाइरसलाई न्यूनीकरण गर्ने काम गर्छन् । तर यो प्रकारको Antibodies कुकुरले टोकेको ७ दिनभित्रमा दिनुपर्ने हुन्छ ।
के कुकुरलाई भ्याक्सिन लगाउदैमा रेबिजबाट सुरक्षित हुन्छ ?
कुकुरलाई रेबिज विरुद्दको भ्याक्सिन लगाउँदैमा सो कुकुरले मान्छेलाई टोकेमा रेबिजबाट सुरक्षित हुने सुनिस्चित हुँदैन । त्यसैले भ्याक्सिनक लगाएको वा नलगाएको कुनै पनि कुकुरले टोकेमा भ्याक्सिन लगाउन अनिवार्य हुन्छ ।
के मुसाले टोकेमा रेबिज भ्याक्सिन लगाउन पर्छ ?
मुसाबाट रेबिज रोग सरेको प्रमाण प्राप्त छैन । तसर्थ , मुसाले टोकेमा रेबिज विरुद्धको भ्याक्सिन लगाउन पर्दैन ।
के पहिले रेबिज भ्याक्सिन लगाएपछी पुनः टोक्दा दोहोर्याउनुपर्छ ?
यदि भ्याक्सिन लगाएको तीन महिनाभित्र कुकुरले टोकेको छ भने भ्याक्सिन पुनः दोहोर्याउनुपर्दैन । तर भ्याक्सिन लगाएको तीन महिनाभन्दा बढी समय भइसकेको छ भने पहिलो मात्रा र तेस्रो दिनमा लगाइने दोस्रो मात्रा लगाउँदा पर्याप्त हुन्छ । सातौं दिनमा लगाइने भ्याक्सिनको तेस्रो मात्रा लगाइरहन पर्दैन ।
के रेबिजबाट बच्न मुस्किल छ त ?
यो रोग सतप्रतिशत प्राणघातक रोग हो भन्ने कुरामा कुनै दुविधा छैन । अहिलेसम्म इतिहासमा रेबिजबाट ज्यान बचेका केही उदाहरण भए पनि ती सबैमा अपाङ्गता रहेको देखिन्छ । त्यसैले रेबिज रोग लाग्न नदिनु नै बुद्धिमता हो ।
रेबिज भ्याक्सिनका बारेमा केही जानकारी प्राप्त गर्न परेमा रोग नियन्त्रण महाशाखाको पेजमा हेर्न सकिन्छ । यसको जानकारी प्राप्त गर्न मेरो फेसबुक पेजमा पनि सम्पर्क गर्न सक्नुहुन्छ । रेबिज रोगको जानकारी राखौं , समाजमा रेबिज रोगलाई निर्मुल गरौं ।