
जुम्ला : जुम्ला स्वास्थ्य बिज्ञान प्रतिष्ठाको इमर्जेन्सीमा कार्यरत डा.करण साहमाथि इमर्जेन्सीमै मरणासन्न हुनेगरी कुटपिट गरेका प्रतिष्ठानकै कर्मचारी धनबहादुर शाहीले नक्कली रिपोर्ट बनाएर अदालतमा मुद्दा दर्ता गरेको र त्यहि नक्कली रिपोर्टकै आधारमा अदालतले पक्राउ पुर्जी जारी गरेको खुल्न आएको छ ।
डाक्टरलाइ निर्घात कुटपिट गरेको सिसिटिभि फुटेज सार्वजनिक भएर चौतर्फी बिरोध भएपछि उनले जुम्लाकै OM MANISH Polyclinic and Referal Center मा लगेर नक्कली रिपोर्ट बनाएका थिए । घाउको टाँका खोल्न इमर्जेन्सीमा आएका उनले अदालतलाइ बुझाएको कागजमा भने बच्चालाई अत्याधिक पेट दुखेको झुटो बिवरण देखाएका छन् । अदालतलाइ बुझाइने कागजमा डाक्टरको छाप हुनुपर्ने हुन्छ । राष्ट्रिय स्वास्थ्यकर्मि महासंघ नेपालका कोषाध्यक्ष अनि रेडियोलोजिकल सोसाइटी अफ कर्णालीका अध्यक्ष रहेका प्रतिष्ठानमै कार्यरत मक्कर बहादुर हमालले आफ्नो पोलिक्लिनिकबाट अबैध तरिकाले डाक्टरको छापबिना नक्कली कागज बनाएको खुलेको हो ।
आफैंले मरणासन्न हुनेगरी कुटपिट गर्ने अनि उल्टै पीडित डाक्टरलाइ झुटो मुद्दामा फसाउने कार्य भएको भन्दै चौतर्फी बिरोध भएको छ ।
डा.करणमाथि भएको यो अन्यायका विरुद्ध देशैभरका डाक्टरहरुले प्रदर्शन गरिरहेका छन् ।