
कपिलवस्तु :
कपिलवस्तुको शिवराज नगरपालिकामा कक्षा दशसम्म मात्र पढेका एक भारतीयले आफुलाइ डाक्टर भएको चिनाएर बर्षौँदेखि बिरामीको उपचार गरिरहेको खुलेको छ ।
अबैध रुपमा स्वास्थ्य केन्द्रहरु चलिरहेको ब्यापक जनगुनासोपछि कपिलवस्तु प्रशासनले गरेको अनुगमनमा यो तथ्य खुलेको हो ।
अनुगमनका क्रममा शिवराज नगरपालिकाको थुन्हिया चोकमा बिकास बिश्वास नामक बंगाली डाक्टरले संचालन गरको मेडिकल स्टोरमा ईजाजत बिना संचालन गरेको भेटियो। बिश्वासले आफू भारतको कलकत्ताको भएको र कक्षा १० सम्म पढेको बताएको कपिलवस्तुका प्रजिअ धर्मेन्द्र कुमार मिश्रले बताए।
उनले चलाइरहेको मेडिकलबाट गर्भपतनको औषधि समेत भेटिएको प्रजिअ मिश्रले बताए। सो पसललाई सिल गरी प्रशासन कार्यालयमा हाँजिर हुन निर्देशन दिएको उनले बताए।
यस्तै, महराजगंज नगरपालिकामा रहेको अपना स्वाथ्य क्लिनिकका संचालक भने अनुगमन टोलीलाइए देखेर भागेका थिए। यस क्लिनिकमा टिटिको भ्याक्सिन बाहिर अलपत्र अवस्थामा राखिएको थियो।
यस्तै शिवराज नगरपालिका वडा नम्बर ३ स्थित राहुल श्रीवास्तवले नाम समेत नभएको क्लिनिक संचालन गरेर बसेका थिए। यस्तै शिवराज नगरपालिका ८ खैरेन्द्रपुरमा जितु श्रीवास्तवले नाम नभएको स्वास्थय क्लिनिक संचालन गरेका थिए। अनुगमन टोलीलाई देखेपछि उनी त्यहाँबाट गायब भएका थिए।
जिल्लामा दुई सय भन्दा बढी यस्ता अबैध औषधि पसल सञ्चालनमा रहेको औषधि व्यवसायी संघले जनाएको छ। पसल मात्र नभई झोला छाप र भारतीय नक्कली डाक्टरहरु समेत दर्जनौको संख्यामा रहेका छन्।
‘यस्ता गैरकानूनी पसल तथा झोले डाक्टरहरु जिल्लाका ग्रामिण भेगमा जरा गाडेर बसेका त छन् नै सदरमुकाममा समेत किराना पसल झै छ्यापछयाप्ती छन्’ औषधि व्यवसायी संघका पूर्वजिल्ला सचिव मनिराजम पाण्डेयले भने, ‘तर कारबाही गर्ने आँट कसैबाट भएको छैन।’ जिल्लामा कति दर्तावाल औषधि पसल छन् र कति छैनन् त्यसको तथ्याङ्क राख्ने निकाय समेत जिल्लामा छैन। त्यस्ता पसलमा प्रतिबन्धित, म्याद नाघेका तथा कमसल तथा नक्कली खालका औषधिहरु बिक्री हुने गरेको पाण्डेय बताउँछन्।