सामान्य घरमा बोलचालको भाषा प्रयोग गरिरहेको बानी भएर पनि होला रेस्पी वार्ड पोस्टीङ्का दिनहरू मध्यको एकदिन बिहान बिरामीको सुधार बुझ्ने क्रममा एउटी बुढी आमालाई प्रश्न गर्दै थिएँ :
मः आमा कस्तो छ अहिले? सन्चै छ ?
आमा: सन्चो भाको भए किन हस्पिटल आउनु पर्थ्यो र बाबु ।

आमाको प्रतिक्रिया सुनिसकेपछि मैले  जिस्कीएर होला वा आफ्नो स्वास्थ्य देखेर वाक्क भएर होला भन्ने सोची पुन सम्झाउँदै हिजो भन्दा आज सुधार छ की नाई त भनेर सोधेको नि आमा भनेपछि उहाँले हाँस्दै ठिकै छ भन्ने संकेत गर्नुभो ।

आमा हाँसेपछि भने मलाई भने अझै अन्तरक्रिया गर्न मन लाग्यो र पुन चुरोट खानुहुन्छ की नाई भन्दै प्रश्न गरेँ ।

 आमा:( जिस्कीने मुडमा हुनुहुन्थ्यो होला ) चुरोट खाएको त धेरै भो बाबु । वनमा घाँसदाउरा गर्न जान्थ्यौँ । तिमी जस्तै बाहुन केटाले चुरोट सल्काएर दिन्थ्यो । आज तान्दा भोली तान्दा तान्नैपर्ने भइयो नि बाबु। चुरोट नखाए त के बिर्सेँ के बिर्सें हुन्छ ।

म: (स्वरमा स्वर मिलाउँदै) म जस्तै त भन्नु भो आमा तर मैले त तान्ने गरेको छैन। चुरोटले त फोक्सो बिगार्छ नि आमा ।

आमा: के बिगार्ने हो र खै | २/३ वर्ष अगाडी मेरै बुहारी फोक्सोको क्यान्सर भएर स्वर्गवास भई । न चुरोट खान्थी न रक्सी नै । म त बुझ्नसक्दिन के हो खै यो कुरा ।

म: चुरोट खानेलाई नखानेको तुलनामा सास फेर्न गार्हो हुने,  निमोनिया, टिबी साथसाथै क्यानसर हुने सम्भावना बढी हुन्छ भन्न खोजेको हो आमा । चुरोट को सेवन, इन्फेक्सन, धुँवा , धुलो, चिसोको एलर्जी साथै विभिन्न कारणले गर्दा फोक्सोमा रोग उत्पन्न हुन्छ नि त आमा ।

साथी सिल्भियाले पनि  अहिले पैसा तिरेर चुरोट खाँदै हुनुहुन्छ, पछि सास फेर्न पनि पैसा तिर्नु पर्छ है विचार गर्नु आमा भन्दै  थिइन् ।

सायद यति भनिसकेपछि आमालाई चित्त बुझ्यो होला  अब नखाने विचारमा छु  छाडेको २/३ महिना भो भन्दै हुनुहुन्थ्यो।

…….
त्यस्तै अर्को बेडमा पनि बुडीआमा सास फेर्न गार्हो भो भन्दै हुनुहुन्थ्यो । अलिकति सास बढेको जस्तो महसुस भएकोले मैले अक्सीजन लेभल ( pulse oximeter) बाट नापेपछि दाइहरुको सल्लाहमा उहाँलाई अक्सीजन दियौं । बिस्तारै आमाको स्वास्थ्य स्थिती बुझ्ने क्रममा नै थिएँ । आमा एक महिना अघि पनि हस्पिटल भर्ना हुनु भएको रहेछ । उहाँलाई मुख्य त अलिकति हिंड्न थाल्यो कि सास फेर्न गार्हो हुने, खोकी लाग्ने( कहिले सुख्खा त कहिले खकार सहित) हुँदो रहेछ । यस्तो लक्ष्ण देखिएमा सामान्य भाषामा भन्दा रोग बडेको भनेपनि मेडिकल भाषामा हामी (Acute exacerbation of COPD) भन्छौँ ।

आखिर के हो त यो? कस्ता लक्ष्ण देखा पर्छन ?
COPD भनेको खासमा विभिन्न कारण जस्तै चुरोटको अत्याधिक सेवन, जिवाणुको संक्रमण, चिसो धुलो धुवाँको एलर्जीले गर्दा श्वासप्रशास मा समस्या आउनु हो । यस्तो बेला सामान्य औषधी द्वारा ठीक हुन पनि सक्छ वा अक्सीजनको साथसाथै भेन्टिलेटरको खाँचो पर्ने पनि हुनसक्छ । सामान्य औषधीमा तान्ने औषधी भन्दै(MDI Foracort,MDI Tiova, R/C foracort) दिने गरिन्छ । औषधी सहि तरिकाले नियमीत प्रयोग साथै खानपिनमा ध्यान दिए बिस्तारै ठिक हुँदै जान्छ।
……..
१५ दिनको मेरो रेस्पी पोस्टीङमा भने प्राय( AE of COPD) का बिरामी धेरै हुनुहुन्थ्यो । उहाँहरुमा (COPD) हुँदा भन्दा बढी सास फेर्न गार्हो हुने, खोकी साथै खकार बढी हुने, अक्सीजन दिनुपर्ने र सामान्य चलाएका औषधीको डोज बढी दिनुपर्ने भएर आउनुहुन्थ्यो । कोही कोही बिरामी भने यी लक्षण साथ साथै खुट्टा पनि सुनिए भन्दै आउनुहुन्थ्यो । छातीको रोगले मात्रै गर्दा मुटुमा समस्या भएर खुट्टा सुनिने साथै अरु(Right heart failure) का लक्ष्यण लिएर आएमा  हामी त्यस्तो अवस्थालाई ( Cor -Pulmonale) भन्छौँ ।

बिस्तारै बिरामीको अवस्था बुझ्ने क्रममा AE of COPD हुने कारणहरू जिवाणुको इन्फेक्सन( निमोनिया, टिबी), धुवाँ धुलोको एलर्जी, चुरोटको सेवन साथै उचित तरिकाले औषधीको सेवन नगर्नु रहेछन् । जसमा पनि धेरै जसो बिरामी भने औषधीको राम्रो संग प्रयोग गर्न नजान्दा फेरी रोगबाट संक्रमण भई पुन हस्पिटल आउने गरेको पाइयो। कोही भने चुरोट खान्न त भनेर जाने तर घरमा कसैले नदेख्ने तरिकाले लुकेरै भएपनि खाने वा छाड्नै सकिन भनेर आउने पनि हुनुहुन्थ्यो ।

सुरुसुरुका दिनहरूमा आदरणीय तिलक दाईले तान्ने औषधीको प्रयोग गर्ने तरिकामा धेरै जोड दिएको देख्दा झ्याउ मानेपनि पोस्टिङको अन्त्यतिर भने यी सबै अवस्था हेरेर दाइबाट सिक्ने र बिरामीलाई सिकाउन अग्रसर भएँ । खासमा त्यो तान्ने औषधी(MDI foracort,MDI TIOVA) प्रयोग गर्नु पूर्व मज्जाले हल्लाउने अनि आँफुले गाउँघरमा आगो फुक्दा ढुम्रीमा फुकेजसरी मजाले सास फेर्ने र एकचोटी मज्जाले त्यो औषधी तान्ने । त्यसपछि लगभग १० सेकेन्ड सम्म सास रोक्नु पर्ने रहेछ। त्यसपछि पुन सास फेर्ने र अर्कोपल्ट पनि त्यो भाडोँ Metered Dose Inhaler(MDI)बाट औषधी लिन सकिने रहेछ ।

सुरुसुरुमा गार्हो भएपनि बिस्तारै सहज हुने र बिरामीको आफन्तले उचित निर्गानी गर्न जरूरी पनि रहेछ। औषधी तानेको छु भन्ने तर राम्रोसँग फोक्सोमा नपुग्दा पुन समस्या देखा पर्ने रहेछ । साथै(MDIForacort) प्रयोग गरिसकेपछि भने मुख कुल्ला गर्नु पर्ने रहेछ । यदी गरिएन भने फङ्गल संक्रमण( Oral Candidiasis) भएर मुखमा घाउ आउन सक्ने रहेछ।

यसरी बिरामीको स्वास्थ्य स्थिती बुझ्दै र आँफुले पढेको सैदान्तिक ज्ञान व्यवाहरमा परिणत गर्ने क्रममा १५ दिन त कतिबेला बितेछ पत्तै भएन । सिक्ने सिकाउने क्रम निरन्तर जारी नै रहनेछ। तैपनि अहिलेलाई भने नभनी नहुने कुरा भनेको चुरोटको सेवन नगर्नु, पशु चौपाय बाट टाढा बस्नु ,धुँवा धुलो चिसोबाट बच्नु र आफ्नो स्वास्थ्यको विशेष ख्याल गर्नु नै हो । साथै कोही फोक्साको दिर्घकालीन बिरामी हुनुहुन्छ भनेपनि तान्ने औषधिको उचित प्रयोग र अक्सीन लेभल(Spo2) घटे बढेको थाहा पाइराख्न (Pulse Oximeter) किनेर घरमै समय समयमा जाँच गर्न सकिन्छ ।

ल त आजलाई यति नै ।
आशा गरौँ आउँदा दिनमा फोक्सोको रोग लिएर बिरामी कम आउनु हुनेछ र आएका मध्य पनि औषधिको उचित तरिकाले सेवन नगर्दा (AE of COPD) भएको देख्न र सुन्न नपरोस् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय