
डाक्टर पढाइ टेक्निकल सामान्यतया अन्य बिषयभन्दा अलि बढी टेक्निकल हो ।
प्लस टु गरेपछि एमबीबीएस गर्दगर्दाका ६ बर्ष अनि विशेषज्ञता पढाईका लागि थप अर्को तीन बर्ष पढेपछि एउटा मान्छेले आफ्नो “युवा” समय लगभग सकाउँछ!
यहाँ राजनीतिमा लाग्नेहरुले भन्नेगरेको “युवा” को क्राइटेरिया चाँहि पर्दैन है !
विशेषज्ञता हासिल गरेपछि एकैपल्ट आउने बहुआयामिक जिम्मेवारीले थिचेपछि एउटा डाक्टर काम गर्न तम्सिहाल्छ।
आफ्नो योग्यता अनुसारको !
काम गरेको केहि महिनामै उसलाइ आफ्नो विशेषज्ञ,परिश्रम अनि कर्म अनुसारको फल नपाइरहेको प्रष्ट आभास हुन्छ ।
नतिजा : अर्को ठाउँमा काम खोज्छन् !
तर,
कोहि अलिक फराकिलो विकल्प सोच्छन् !
अरुको नुनको सोझो गर्नुभन्दा आफ्नो अनुभव ,विशेषज्ञता प्रयोग गरेर आफैंले कुनै संस्थामा लगानी गर्ने!
अर्थात् , ऊनीहरु आफैंमाथि बिश्वास गर्छन् !
नेपालको परिवेशमा यो कमै हुने सम्भावनाहरुमध्य हो!
कसैले नआँटेर!
कसैको आर्थिक ब्यवस्थापन नभएर!
कसैले नचाहेर!
तर,
कोहि त यि सारा समस्यालाइ चिर्दै सम्भावना खोजिहाल्छन् नि!
डा.रबिन्द्र सिंह ठकुरी यस्तै “अपबाद” हुन् !
एउटा डाक्टर स्वयंले कुनै संस्थाको,(अझ प्राइभेट ) नेतृत्व गरिरहँदा के कस्ता परिवर्तनको आभास गराउँछन् ,भन्ने एक उदाहरण पनि।
संगै ,आफ्नै विशेषज्ञतामा लगानी गर्नुभन्दा कुनै संस्थाले महिनौंसम्म झुलाएर दिने तलबमा रम्नेहरुका लागि प्रेरणा पनि सायद!
…
डा.रबिन्द्र युवा छन् !
तर,कामको सिलसिलामा ऊनीले धेरै देखे, भोगे अनि सिके पनि!
अझ, आँखाको क्षेत्रमा सरकारी निकायको ब्यवास्था देखि एनजीओकरणसम्मलाइ नजिकबाट नियाले!
नेसनल मेडिकल कलेजबाट एमबीबीएस अनि NAMS – तिलगंगाबाट छात्रवृत्तिमा आँखा सम्बन्धि विशेषज्ञता हासिल गरिसकेपछि दुइ बर्षे अनिवार्य सेवा (Scholarship Bond) गर्न कुनै सरकारी आँखा अस्पताल नभएको तत्कालीन समयमा सरकार र आइएनजीओबीच भएको “एम.ओ.यु” अनुरुप ऊनी आइएनजीओद्वारा संचालित अस्पताल अन्तर्गत काम गर्नेगरी पश्चिम कपिलवस्तुको बहादुरगंज भन्ने ठाउँमा गए । त्यस एनजीओ मार्फत कपिलवस्तु र दाङमा गरी जम्मा तीस महिना बस्दा उनले आठ हजार बढी शल्यक्रिया गरे आँखाको ।
आफ्नो विशेषज्ञताको भरपुर सदुपयोग गरेर त्यहाँको कयौं जीवनलाइ दृष्टि दिएका उनलाइ पनि एउटा “जीवन उपयोगी” पाठ सिकाइदियो ।
नेपालको आँखा क्षेत्रलाइ कसरी एनजीओकरण गरिएको रहेछ भनेर ।
एक भेटमा उनले भन्थे-” प्रत्यक्ष फिल्डमा गएर वा अस्पतालमा बसेर सम्पुर्ण काम गर्ने हामी विशेषज्ञलाइ बर्षौँदेखि ठाउँ ओगटेका गैरप्राविधिकले गर्ने ब्यवहार सम्झँदा अहिलेपनि दुख लाग्छ । आँखा क्षेत्र ऊनीहरुले नै धानेको भन्ने भयानक भ्रम छ आँखा क्षेत्रमा काम गर्ने अधिकांश एनजीओ अगुवालाइ”।
जतिसुकै कठिनाइ सहेरै भएपनि काम गरिरहेका डा.रबिन्द्र अन्ततः तीस महिना काम गरेपछि आफ्नै सहर चितवन फर्किए ।
त्यसपछि , भरतपुर स्थित आइएनजीओद्वारा संचालित (बोलीचालीको भाषामा सरकारी) आँखा अस्पतालमा चार महिना काम गरेपछि उनको नेतृत्वमा भरतपुर-हस्पिटल रोडमा रहेको चितवन आँखा अस्पतालले पुर्नजीवन पायो ।
अर्थात् ,
नेतृत्व उनले लिए ।
बिगत ६ महिनादेखि उनको नेतृत्वमा चितवन आँखा अस्पताल अधि बढ्दै छ ।
…
“तिमीहरूलाइ जो बिरामीचाँहि निशुल्क आँखा सम्बन्धि उपचार गर्न उपयुुक्त छ जस्तो लाग्छ, मसम्म पठाउ । म निशुल्क गरिदिन्छु सामानको बाहेक । कोहि सामानको पनि तिर्न नसक्ने छन् भने स्याम्पल आएकाबाटै भएपनि गर्दिन्छु”! -निजी अस्पतालको नेतृत्व गरिरहेका उनले हामीलाई यसो भनिरहन्थे!
र, हाम्रै आँखा अगाडि गरेपनि ।
चितवन आँखा अस्पतालले हप्ताको दुइ दिन अपरेसन गर्ने गर्छ इमर्जेन्सी बाहेक । जस अन्तर्गत दुइ जनाले औसतमा सहुलियत/निशुल्क सर्जरीको सेवा पनि पाइरहेका छन् ।
अर्थात् ,मैले ख्यालख्यालै भनेको होला सोचेको कुरा आजसम्म उनले निरन्तर जारी राखेका रहेछन् ।
एउटा घटना सुनाए ।
“एकदिन एउटा कलेजको विद्यार्थी हाम्रो अस्पताल आए ।टिकट काटेर भित्र आइसकेका उनको रोग अनि अन्य पारिवारिक अवस्था सुनेपछि मैले टिकट मात्र होइन अन्य सबै औसधि उपचार निशुल्क गरिदिएँ “- यस्ता घटनाले बढो आनन्द दिन्छन् नि है? उनले प्रतिप्रश्न गरे ।
आफ्नो नेतृत्वमा अस्पतालले अहिले डाक्टर र डाक्टरका नजिकका सदस्यलाइ कन्सल्टेसन लगायतको शुल्क नलिएको र अन्य औसधि-शल्यक्रियामा पनि सहुलियत दिइरहेको बताउँदै उनले भने – “यो मैले एक्लै गर्ने कुरा होइन । टीममा मैले राखेका यस्ता प्रस्तावहरु अन्य सहकर्मीले आनन्दले स्वीकार गर्छन् । खासमा,ऊनीहरु धन्यवादका पात्र हुन् “- आफ्नो टिमप्रति उनी आभारी सुनिए ।
आफुहरुको प्राइभेट अस्पताल भएपनि उपचार – सर्जरी शुल्क आइएनजीओद्वारा संचालित अस्पतालभन्दा कतिपय सन्दर्भमा अझ कम रहेको बताए । “माेतीबिन्दुको सबैभन्दा आधुनिक र सफल शल्यक्रिया बिधि PhacoEmulsification को मुल्य हाम्रो अस्पताल र छेउकै एनजीओद्वारा संचालित अस्पतालमा गएर बुझेमात्र धेरै कुरा प्रष्ट हुन्छ ” ।
…
नेपाल अप्थाल्मिक सोसाइटीको सदस्य रहेका डा.रबिन्द्र बेलाबेला चिकित्सा शिक्षा अझ आँखाको क्षेत्रमा हुनेगरेका बिकृतीले संजालमार्फत आवाज उठाइरहन्छन् ।
“यो कोहिप्रति पुर्वाग्रह भन्दापनि सबैले आआफ्नो पदीय जिम्मेवारी अनुसार कार्य गरेर जनतालाइ सर्वसुलभ रुपमा गुणस्तरीय सेवा प्रदान अर्न सकियोस् भन्ने कामना मात्र हो”- एकै सासमा आफुले भन्न चाहेका कुरा पुरा गरे!
सायद, उनको मनभित्र यहि कुरा उकुसमुकुस भएर बसिराखेको थियो कि!
…
चितवन आँखा अस्पताललाइ उनी बिस्तार गर्न चाहन्छन् । तीन जना विशेषज्ञ डाक्टर सहित पन्ध्र जना कर्मचारीको नेतृत्व गरिरहेका डा.रविन्द्रले चौबिसकोठी- भरतपुर रोड र बाइपास रोडमा रहेको आफ्नो अस्पतालबाट दिनहुँ ४० को हाराहारीमा बिरामी आउने , महिनामा ३० जना सम्मको आँखाको सर्जरी गरिने बताउँदै संख्यालाइ भन्दा गुणस्तरलाइ प्राथमिकतामा राखिरहने प्रण ब्यक्त गर्छन् ।
“यो मेडिकल क्षेत्रमा एक्लै भन्ने त केहि नहुने रहेछ । मेरो नेतृत्वमा भएका टीम सबैको प्रयासले यहाँसम्म आइएको छ । टीमलाइ एकत्रित पारेर बढ्न सकियो भनेपनि कति चुनौतीपूर्ण कामहरु सहजतापुर्वक सप्पन्न हुने रहेछ”! – आफ्नो टिमप्रतिको उनको बिश्वास उनले एकै वाक्यमा सुनाए ।
आँखामा सरकारको लगानी बालुवामा पानी खनाएझैँ भएको चिन्तासँगै आँखा क्षेत्रलाइ “एनजीओकरण” गरिएकोमा उनको दुखमनाउ छ!
“आँखा जस्तो संबेदनसिल क्षेत्र अलिक “नेग्लेटेढ” भएको अनुभुति भैरहन्छ । मेडिकल कलेजहरुले एमबीबीएसको पढाइमा आँखालाइ जम्मा १५ दिनको इन्टर्नशिप गराउनुबाहेक अन्य केहि गराएको देखिन्न । आँखाको सामान्य सर्जरीसम्म पनि नदेखेको एक एमबीबीएस सकाएको विद्यार्थीले आँखामा विशेषज्ञता हासिल गर्छु भनेर सोच्नसम्म नि पाउन्न । यसले अन्ततः आँखाको विशेषज्ञ उत्पादनमा कमि आइ नागरिकलाइ गुणस्तरीय सेवा प्रदान गर्ने कुरामा समस्या आउँछ” ।
यति लेख्दै गर्दा एउटा कुरा म कसरी छुटाउन सक्छु र- डा.रविन्द्रले नै मलाइ पहिलोपटक आँखाको सर्जरी देखाएका हुन् जुन मैले ६ बर्षे एमबीबीएसका दौरान कहिल्यै देखेको थिइन।
डा.रविन्द्रजस्ता युवा डाक्टरले देश बिदेशमा विशेषज्ञता पछी पाएका अनेकौं अवसरलाइ त्यागेर आफ्नै जन्म ठाउँमा आफ्नो विशेषज्ञतालाइ यहीँको माटोमा लगाउँछु भन्दैगर्दा सबै जनताको “अभिभावक” सरकार र अन्य सरोकारवाला निकायले कसरी सहयोग-समन्वय गर्छ – ऊनीहरुले नै समयमा नै बुझ्नुपर्छ ।