
एक चिकित्सकको आफ्नो अगुवालाइ खुल्लापत्र :
सार्वजनिक पदमा बसेकालाइ प्रश्न गर्नु प्रश्न गर्नेहरूको नैसर्गिक अधिकार नै हो ।
अझ, अनेकौं बाचा ,आश्वासन दिएर चुनाव लडेर पदमा पुगेकाहरुलाइ घच्घचाउनु झनै सामान्य हो ।
नेपाल चिकित्सक संघको निर्वाचित पदाधिकारीको कार्यकाल अढाइ बर्ष पुग्न लागिसकेको सन्दर्भमा चुनावी समयमा उठाइएका क्य्रा के कति सम्बोधन भए वा सम्बोधन गराउन पहलकदमी भइरहेका छन् भन्ने जान्ने आम चिकित्सकको “साझा चाहना” पनि हो!
त्यसैले यो पत्र सिधै डा.लोचन एन्ड टीम प्रति समर्पित छ!
…….
मैले सिधै तपाइँलाइ सम्बोधन गरेर यो पत्र नलेखेको भए पनि हुन्थ्यो झैँ मलाइ पत्र लेखिसक्दा पनि लागिरहेछ!
एक मनले भनिरह्यो -चुनावी बाचालाइ सिरियस्ली लिनु भनेको स्वयंको मुर्खता हो ।
अर्को मनले फेरि भनिरह्यो -“डाक्टर जस्तो बौद्धिक समुहको टाउकेले सबैको अघि गडगडाहट तालीका खाँदै भनेका कुराको जिम्मेवारी लिनैपर्छ । प्रश्न उठाउनै पर्छ”।
तपाइँले चुनाव ताका दिएका आश्वासन पुरा गराउन कि उचित पहलकदमी लिनपर्छ कि “चुनाव भनेको गफै लगाएर जित्ने त हो । मैले पनि त्यहि गरेको मात्र हुँ ” भनेर भन्न सक्नुपर्छ ।
होइन भने,प्रश्न तपाइँलाइ भोट गरेका तमाम चिकित्सकले स्वयंमाथी गर्नपर्छ!
…..
तपाइँहरु,
हो, अहिले यो लेख पढ्दै गरेका तपाइँहरु मध्य कयौंको दिमागमा एउटा तस्बिर झझलि छ होला!
चिकित्सक संघको चुनावी माहोल थियो ।
अध्यक्षका प्रत्यासी डा.लोचन कार्कीले एउटा भिडमा बोले- “एक लाख त मिनिमम हो । हामीहरु त्यो भन्दा बढी दिलाउन लाग्ने छौँ “।
गडगडाहट ताली बज्छ ।
त्यो ताली बजाउने कयौं हातहरु यो लेखको मुनि कमेन्ट लेख्छन् होला अहिले फेरि!
अन्योलग्रस्त आफ्नो बर्तमान, सपना अनि धरातलीय यथार्थ बीचको त्यो गहिरो खाडल अनि कोहि अगुवाको त्यो भावनात्मक सम्बोधन !
मन नपग्लियोस् नि कसरी ।
समय बदलियो।
गर्छौं भएर “आशिक” मागेकालाइ नै निर्वाचित गराए ।
बितेको यो डेढ दशकमा आफ्ना लागि के गरे- उनैले जानुन्!
फ्याटरनिटीलाइ लागि के गरे भनेर बुझ्न यिनलाइ दैनिकजसो डाक्टरी समुहतिर आउने प्रश्नले प्रष्ट पार्छ ।
…
अब,
मुद्दा मै केन्द्रित हौँ न है ।
चुनावताका आफ्नो प्रमुख एजेन्डामा यो टिमले डाक्टरको तलब र उचित वर्किङ समय र सुरक्षा भनेका थिए ।
आजसम्म पनि, सम्बोधनको पहल हुनु त परको कुरा,यो बिषय बरु दुई पाहिला पछि सरेको छ ।
डाक्टरहरु आफ्नै कार्यकक्षमा कुटिँदा बिज्ञप्ती निकाल्न समेत “जोखाना” हेर्ने “नेपाल बिज्ञप्ती संघ” आफुसंग असम्बन्धित बिषयमा भने धारण सार्वजनिक गर्न हतारिन्छ ।
Jail Without Bail ल्याएको भनेर जस पाउन विभिन्न पेशागत संगठन दौडिरहँदा यो प्राबधानमार्फत कोहि एउटा आरोपित जेल गएको सुन्नुभएको छ?
बरु, आरोपित अस्तिको चुनावमा वडा अध्यक्ष भएको चाँहि सुनिएको छ ।
यति भनेपछि तपाइँको दिमागमा क्यामराको रिलजस्तै कति घटना आइसके होलान् है?
फनफनी घुमेको घुमै क्या !
…
“बिरामी त चिकित्सक बीच बेलाबेलामा हुने असमझदारी तत्काल समाधानका लागि “Rapid Response Team” बनाइनेछ र यस्ता घटनाको तत्काल छानबिन गरि आवस्यक कारबाही गरिनेछ” ।
हेर्दा सामान्य जस्तो लागेपनि यो बुँदाले दुर्गामी महत्त्व बोकेको छ । यसले धेरै चिकित्सकसँग भावनात्मक सम्बन्ध पनि जोडेको छ ।
यहि कुराको फाइदा उठाएर सिर्फ उठाउनैका लागि यो मुद्दा उठाइयो । नत्र, अहिलेको बर्तमान समयमा बिरामी र चिकित्सक बीचको बढ्दो खाडल कम गर्न नेतृत्वदायी संस्थाले पहलकदमी लिनुपर्ने होइन र भन्या?
…..
“पेशागत हितको रक्षा : समुचित वृद्धिबिकाशको सुरक्षा “ भन्ने मुल नारा बनाएर चुनाव जितेका हाम्रा अभिभावकहरु यसरी बरालिएको देखेर चिन्ता नगर्ने-नलाग्ने कुन चाँहि चिकित्सक नहोला ।
प्रिय निर्वाचित,
समय बदलिएको छ ।
हरेक क्षेत्रमा जबर्जस्त पुस्तान्तरण देखिराखिएकै छ ।
आक्रोश छ!
आक्रोश चरम बिन्दुमा छ ।
अझ,
पढाइ सुरु गर्दैगर्दा देखिएका-देखाइएका सपना अनि सकिसकेर काम सुरु गर्दगर्दा देख्ने धरातलीय यथार्थबीचको त्यो गहिरो खाडलले युवा चिकित्सक अझ बढि पीडित छन् ।
प्रताडित छन् ।
अझ,
समाजमा डाक्टरहरुप्रति बढ्दै गएको अबिश्वासले यो समस्या अझ बढ्नेछ भन्नेमा कुनै शंका छैन।
हुन त,
तपाइँ लगायतलाइ यो समस्याबारे सबै थाहा छ ।
तपाइँहरुपनि यस्तै यस्तै बाटो भएरै त्यहाँसम्म पुग्नुभएको हो ।
तर,
आफुले यात्रा गरेको गोरेटो यति छिटो त डुंगाले पनि बिर्सिँदैन होला कि भनेर कहिलेकाहीँ तपाईं सोच्नुहुन्न?
अहिले बर्तमानका अनेकौं समस्यामध्य केहिमा मात्र तपाइँ लगायतको इमानदार प्रयास मात्र भएको चिकित्सकलाइ लाग्यो भने त्यो जति राम्रो तपाइँहरुलाइ के होला!
एउटा पेशागत संघको नेतृत्वमा पुगेको मान्छे एउटा पार्टीको प्रचार बिभागको “म्यादी सदस्य” मा चुनिएको खबरलाइ बढो उपलब्धि मान्नुभन्दा बरु केहि समय दत्तचित्त भएर आफैंले बोलेका कुराहरु समाधान गर्न पहल लिए तपाइँ स्वयंलाइ पनि कति शान्ति मिल्थो होला है!
….
म फुच्चेले यहाँभन्दा बढी के लेख्नु!
आशा छ! अपेक्षा छ !
र त,
गुनासाका पोखा पोखिएको छ ।
गल्ती लेखेको भए अग्रिम माफी!
आगे ,हजुरहरुकै मर्जी !