चितवन : भरतपुरमा रहेको पुरानो मेडिकल कलेजको नामबाट चिनिएको कलेज अफ मेडिकल साइन्सले आफ्नो अस्पतालमा कार्यरत डाक्टरहरुलाइ छ महिनादेखिको तलब दिन आनाकानी गरिरहेको कार्यरत डाक्टरहरुले गुनासो गरेका छन् ।
आफुहरु महिनौंसम्म पनि बिदा नलिइ लगातार अस्पतालमा २४ घन्टासम्म काम गर्दा पनि आधा बर्षदेखि आधारभूत तलबसम्म नदिएपछि दैनिकी चलाउनै हम्मेहम्मे परेको नाम नबताउने सर्तमा अस्पतालमा कार्यरत एक डाक्टरले बताए ।
“पैसा माग्न जानेबित्तिकै अस्पताल घाटामा छ अहिले कसरी दिने तिमीहरूलाई भनेर पन्छिन खोज्छन् ” अर्का एक डाक्टरले बताए ।
“काम छोडौँ भने अहिलेसम्मको पैसा नपाइने पीर , गरिरहौँ भने बेतलबी भनेर कहिलेसम्म गर्ने भन्ने अर्को पीर ” – आफुले ठाक्कै छ महिनादेखि एक कामबापत एक पैसा पनि नपाएको बताउने एक डाक्टरले गुनासो पोखे ।
तर,
अस्पताल घाटामा छ भनेर कर्मचारीलाइ तलब दिन आनाकानी गर्ने कलेज प्रशासनले बिरामी बोक्ने एम्बुलेन्स ड्राइभरलाइ भने अग्रिम भुक्तानी गर्ने गरेको प्रमाण फेला परेको छ ।
केहि दिन पहिले चितवनबाट प्रकाशित हुने एक अनलाइनले बताए अनुसार दुर्घटनाका सबै बिरामीलाइ पुरानो मेडिकल लैजाने सिन्डिकेट धेरै पहिलेदेखि चल्दै आइरहेको छ ।
अनलाइनले लेखेको छ ,
” भरतपुरमा रहेको कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज)ले प्रहरी प्रशासन र एम्बुलेन्स चालकहरुसंगको मिलेमतोमा घाइतेहरुलाई आफ्नो अस्पतालमा उपचारका लागि ल्याउने गरेको छ । भरतपुरका एक एम्बुलेन्स चालकले दुर्घटनाका घाइते र अन्य बिरामी पुरानो मेडिकल कलेजमा लगेबापत कमिशन दिने गरेको बताए ।

नाम नभन्ने शर्तमा उनले भने–‘हामी एम्बुलेन्स चालक मात्रै होइन प्रहरीले नै दुर्घटना पश्चात घाइतेहरुलाई पुरानो मेडिकल कलेजमा लैजान भन्छ ।’ कलेज र प्रहरीको सम्बन्ध के हो हामीलाई थाहा छैन तर जहाँ दुर्घटना भए पनि त्यहिँ नै लैजाउँ भन्छन् । उनले पुरानो मेडिकल कलेजमा दुर्घटनाका घाइतेहरुलाई लैजादा सहजै कमिशन पाउने गरेको बताए ।

अर्का एम्बुलेन्स चालकले आफूले पनि धेरै घाइतेहरुलाई पुरानो मेडिकल कलेज लगेको बताए । उनले आफूले कमिशन भने नपाएको दावी गरे । प्रहरीले नै लैजान भनेका कारण भरतपुर अस्पताल वा अन्य अस्पताल नलगि पुरानो मेडिकल कलेज लैजाने गरिएको बताए ।

अस्पतालले घाइतेको उपचार गरेबापत चर्को शुल्क समेत असुल्ने गरेको छ । उपचार खर्च भने अस्पतालले बिमा मार्फत भुक्तानी लिने गरेको छ । कतिपय अवस्थामा अस्पतालले बिमा रकम भुक्तानी ढिलो हुने भन्दै घाइतेहरुसंगै धरौटी रकम माग्ने गरेको छ । चर्को शुल्क असुल्न आवश्यकता भन्दा बढी चेकजाँच समेत गराउने बिरामीहरु बताउँछन् “!
..
उता एम्बुलेन्स ड्राइभरलाइ बिरामी ल्याइदिएबापत अग्रिम भुक्तानी गर्ने कलेज प्रशासन त्यहि बिरामीलाइ रातदिन उपचार गर्ने डाक्टर लगायत कर्मचारीलाइ भने छ महिनादेखि तलबसम्म नदिइ गैरजिम्मेवारी देखाइरहेको छ।
यो बिषयमा बुझ्न कलेज प्रशासनमा बुझ्दा जवाफ दिन आलटाल गरियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय