आखिर  हरेक मानिस यहाँ अरुलाई  भ्रमित पारेर  नै त बाँचिरहेको छ। हरेक मान्छे कुनै न कुनै निजी रहस्य लुकाएर हिँडिरहेको छ। मान्छे मात्र होइन यो ब्रहमाण्डको तमाम चिजहरू र ब्रहमाण्ड आँफै पनि त रहस्य बोकेर बसेको छ । सायद यस्तै रहस्य बोकेकी आमालाई भेटेर होला म टोलाइरहेको थिएँ ।
कुरा CMC हस्पिटल मेडिसिन( ग्यास्ट्रो) वार्ड को हो। एउटी  ७०/७१ वर्षकी बुढी  आमा आउँदा दिनबाट नै निकै नै प्रफुलित हुनुहुन्थ्यो । लाग्थ्यो उहाँ आँफु बिरामी बनेर अरु बिरामीलाई सकरात्मक उर्जा प्रदान गर्न आउनु भएको थियो ।

हस्पिटलमा आएर बेडमा सुत्दा, क्यानुला लाउँदा देखी पेटबाट पानी निकाल्ने बेला नै किन नहोस् आमा को त्यो जिस्कीने बानी र दुखाइलाई सजिलै रुपमा लिने प्रवृतिले मलाई तानीरहेको थियो । वार्ड छिरेपछि जहिले पहिला आमालाई बोलाएर उहाँको त्यो हजुर भन्दै खिस्स हाँसेको अनुहार हेरी छुट्टै उर्जा बोकी दिन बिताउन अग्रसर हुन्थें ।
दिन यसरी बित्दै थिए बिस्तारै आमाको स्वास्थ्य अवस्था बुझ्न विभिन्न जाँचहरु गरिदैँ थिए । रिपोट पनि आइरहेका थिए । म उहाँको रिपोटहरू आएको थाहा पाउने बित्तिकै फाइल पल्टाएर हेर्थेँ ।उहाँले प्रदान गरेको सकरात्मकता उहाँकै रिपोर्ट हेरेर बिस्तारै कम हुँदै थियो, म निराश हुँदै थिएँ तर उहाँको मुहार भने उस्तै थियो; हँसिलो ।

एक दिन बिहानै सफा गर्ने दिदी भुइँमा पोच्छा लगाउँदै हुनुहुन्थ्यो, त्यती नै बेला अर्को बेडको बिरामी कुरुवा आमा त्यही भुइँमा हिँड्दै गर्दा लड्नु भो। त्यो दृश्य देखेर हाम्री सकरात्मकता बोकेकी आमा मुरीमुरी हाँस्नु भो। मलाई खै किन किन पचेन यो कुरा । आमाले गएर सोधेँ ।
मः अरूको दुःखमा हाँस्ने हो त आमा? बिचरा उहाँलाई चोट लाग्यो होला ?
आमा: उहाँ लडेर भन्दा पनि म हाँसनुको कारण अर्कै छ बाबु ।
मः लड्दा को पिडाले त्यती पिडा नदेला तर आँफु लड्दा कोही हाँसको देख्दा धेरै पिडा हुन्छ नि आमा ।
आमा: ठिक हो बाबु कुरा । म पनि बिहान ट्वाइलेट जाँदा लडेकी थिएँ । त्यती बेला देख्ने हाँस्ने कोही भएन , अहिले त्यही सम्झेर हाँसेकी हुँ बाबु ।
त्यसपछि हामी वरिपरिका सबैमा हाँसोको फोहोरा नै छुट्यो ।आँफु पनि हाँस्ने र अरुलाई पनि हॅसाउन मायुर आमा अझै केही दिन बसे हुन्थ्यो सोच्दै थिएँ म ।

भालोपल्ट पुन आमाको दिशाबाट रगत आउने कारण पत्तालगाउन तलबाट पाइप छिराएर ( कोलोनीस्कोपी) जाँच गर्ने कुरा भो , हाम्रो आदरणीय प्रदीप दाई उहाँलाई जाँचको बारेमा सम्झाउँदै हुनुहन्थ्यो । सम्झाइसकेपछि आमा को प्रतिक्रिया उस्तै थियो “नमरी बाँचे कालले साँचे गरम्ला नी बाबु” भन्दै खिस्स हाँस्नु भो । दाई पनि के भन्नु भन्नु सोच्दै खिस्स हाँस्दै अर्को बेड तिर लाग्नु भो ।

अर्को बेडमा पनि समस्या उस्तै दिशामा रगत आउने, त्यहाँ पनि दाई (कोलोनीस्कोपी) गर्नुपर्छ भन्दै सम्झाउँदै हुनुनुन्थ्यो । बिरामी र बिरामीको कुरुवा गार्हो हुन्छ , गर्न सकिंदैन होला भन्दै हुनुहुन्थ्यो । दाई पुन सम्झाउँदै हाम्रै बुढी आमाको उदाहरण दिदैंहुनुहुन्थ्यो ।

दाई: उहाँको पनि यस्तै जाँच हो हेर्नु त ? बुढी आमाले त गर्ने भन्नुभाछ ।
बिरामी कुरुवा: बुढी आमा त हेर्दै हट्ठा कट्टा हुनुहुन्छ नी, हाम्रो बुढा त हेर्नु न ।
दाई: बाहिर देख्दा त्यस्तो देखेर भए न नि । रोग तपाईको भन्दा जटिल छ आमाको ।

बिरामी कुरुवा टाउको हलाएर सहमति जनाउँदै गर्ने निर्णय गर्नुभो। । साँच्चै भ्रमित पार्ने बुढीआमा र उहाँको सकरात्मकता आदानप्रदान मेरा शब्दमा मात्र होइन ,आँखाले पनि प्रत्यक्ष देखीरहेका थिए। म भने आमाको जटिलता थाहा पाउने क्रममै थिएँ । वार्डमा काम भ्याइएपनि आमासँग गफ गर्दै बस्थेँ । गफ गर्दै गर्ने क्रममा अर्को वार्डबाट डाक्टरहरू आएर आमाको कलेजो को क्यानसर भएको र त्यसको उपचारको लागी (Transarterial chemoembolisation) गर्नुपर्ने र त्यसको गर्ने तरिका र खर्चको बारेमा पनि बुझाउँदै हुनुहुन्थ्यो । खर्च महङगो नै पर्ने कुरामा उहाँहरू सहमत हुनुहुन्थ्यो । आमा खर्च सुनिसकेपछि  पहिला लकडाउनको बेला काठमान्डु मा गएर गरेको र यो भन्दा धेरै महङगो परेको कुरा सुनाउँदै ; यो पाली त सस्तो पर्‍यो भन्दै खिस्स हाँस्नुभो । अलिकति अप्ठ्यारो मान्दै भनीराख्नु भएका डाक्टरहरुको मुहार र बोली आमाको त्यो प्रतिक्रिया सुनेपछि छुट्टै थियो । त्यसपछि उहाँहरू सामान आएपछि खबर गर्ने भन्दै सकरात्मक उर्जा बोकी जानुभो ।

नभन्दै सामान आएर उपचार पनि भएछ । भोलीपल्ट आमालाई सदाझैँ खबर सोध्न गएँ । मलाई भने हिजोको उपचार प्रक्रियाबाट उहाँमा आउने परिवर्तन हेर्नु थियो । म नजिकै पुग्न नपाउँदै हिजो त अल्लि गार्हो भएजस्तो भो, छाती पोल्ने, पेट दुख्ने पो भो त गाँठे भन्दै हाँस्नथाल्नु भो। दुखेको नै भनेपनि दुखाइ अनुभव नै नगरेजस्तो थियो अनुहार ।

मान्छेको रोग कति प्रतिशत उसको शरीरमा ? अनि कति प्रतिशत रोग चाहिँ उसको सोचमा छ ? मान्छेलाई दुख्दा/ बिरामी हुँदा उसको सोच र भय कति प्रतिशत जिम्मेवार हुन्छ ? सायद यसै भन्न सकिन्न होला किनभने मान्छे शरीर मात्र होइन, उसको मन पनि हो । एक साइकोसोम्याटिक संरचना हो मान्छे, त्यसैले जब उसको मन हलुका हुन्छ , दुखाइ/ बिमार आँफै कम हुन्छ। जुन कुरा हाम्री सकरात्मक आमाले पुष्टी पनि गर्नु भो ।

उपचार प्रक्रिया भएको एक /दुई दिन हस्पिटल नै राखेर जाँचहरू राम्रो आएपछि आमालाई फेरी पुन आउने भन्दै घर पठाइयो । मेरो मन त्यसै फुरुङ्ग थियो । सायद हामी सबैको मनले भनिरहेको थियो; बिरामी हुन् त यस्ता , जसले आफ्नो सकरात्मक उर्जा द्वारा आफ्नो रोग लाई छिट्टै निर्मुल पार्ने मात्र नभएर सबैलाई जिवन जिउने एउटा छुट्टै उर्जा दिन्छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय