आमाको उमेर पचास बर्ष रे!
तर,
हेर्दा लाग्छ लगभग उनी ६० वर्षे कटिसकिन्!
खरानीमा धोएर सुकाएको कपडाझैँ चाउरी परेका गाला अनि मुजा परेको निदार । उमेर भनेको संख्या मात्र कहाँ हो र है?
उनै आमा लाई महिना दिन भन्दा बढि भएछ श्वास बढेको, अनि हिड्दा पनि मुट्टुको धड्कन बढ्ने भन्दै एक जना सानी नातिनी बोकेर अस्पतालको ओपिडि मै आउनु भएको । आमाको श्वासको दर बढेको हुनाले ईमरजेन्सिमा राखेर अक्सिजन लगाएर केहि सहज पारेपछि एक्सरे र ईसिजि गर्यौ । आमाका खुट्टा सुन्निएर थिच्दा खाल्डानै पर्थे अनि अक्सिजन पनि १० लिटर भन्दा बढि आवश्यक थियो, प्रेशर बढेर १६० का मुनि १०० थियो, जिल्ला अस्पतालमा हामिले सक्ने जति गर्यौ र आमाको प्रेशर घटाउने औषधि पनि चलायौँ तर भोलिपल्ट बाट आमाको बोलि बन्द भयो ।
उहाँको घरबाट आएका श्रीमान छोरा बुहारी अनि गाँउले, आमाको बाठो श्वास गैसक्यो अब नेपालगंज काठमाण्डौँ लगेर बाच्ने होइन पैसा खर्च यत्तिकै गर्नुभन्दा घरमै लान्छौँ भनेर भनेपछि लाख कोसिस गरेर सम्झाउदा पनि नमानेर मुट्टु को समस्या भएकी आमालाई घरमै लानुभयो र घर लगेको करिब १ महिना भित्र उहाँको मृत्यु भएछ !
पछी बुझदै जाँदा थाहाँ पाईयो कि कहिले बाठो श्वास फर्कदा देउताका लग्ने, लाटो श्वास मात्र हुदाँ घरमै राख्ने, सायद बिरामीको आफन्तको अनुसार दुवै श्वासले आमालाई साथ दिइरहदाँ नेपालगंज काठमाण्डौँ लगेको भए अथवा हामी लाई विश्वास गरेर केहि दिन उपचार गर्न दिएको भए आमा घर जाँदा बाठो श्वासमा नै जानुहुने थियो होला या त दुख नपाएर मृत्यु वरण गर्नु हुन्थ्यो होला ।
……..
५८ वर्षकी आमा !
लामो समय देखि दमको बिरामी, फागुनको महिना ५ दिनको ज्वरो, खोकी अनि स्याँ स्याँ बढ्यो भनेर अस्पतालमा आउनु भएको थियो।
कोरोना एण्टिजिन जाँच गर्दा पोजेटिभ आयो, अनि कोभिड वार्डमा राखेर ५ दिनमा लक्षण मुक्क्त बनाएर घर पठाएका थियौँ, र पछिल्लो पटक पुन साँझको ६ बजेतिर उहाँका आफन्त र छोराहरुले बोकेर अस्पतालमा ल्याएका थिए । अहिलेको समस्या केहि दिन देखि ज्वरो अनि स्याँ स्याँ बढेको भनेर थियो । बिरामिलाई जाँच गर्दा शरिरमा अक्सिजनको मात्रा करिब ५८ प्रतिशत बिना अक्सिजन थियो, तुरुन्तै अक्सिजन दियौँ, सिथिल भएको शरिर देखेर रगतमा चिनिको जाँच गर्दा जम्मा ५२ mg/dl।
ग्लुकोज बढाउन डेक्सटोज दियौ, एक्सरे गरेर हेर्दा निमोनिया देखियो, आमालाई भर्ना गरेर वार्डमा राख्यौ कुरुवा उहाँको पती आफैँ बस्नु भएको थियो । अघिल्लो पटक भर्ना हुदाँ आमा एक्लै बस्नुभयो, बा ले घरमा पुजा छ पर्सि आउँछु भनेर जानुभएको थियो तर आउनु भएन यस पटक भने बा ले घर जाने बहाना खोज्नु भन्दा पहिले नै हामीले अनिवार्य बस्नु पर्छ भने पछि बहानाका कुरै पुगेन!
शरिरमा अक्सिजनको मात्रा १० लिटर अक्सिजनमा मिलिरहेको थियो, आमाको स्वास्थ्यमा आउने दिन भन्दा केहि सुधार थियो, तर एक्कासी एक दिन बिहान आमाको पनि बोलि बन्द भयो, सिस्टरहरुले बोलाउदाँ पनि नबोलेपछि डाक्टरलाई कल आयो हामी गयौँ ।
हेर्यौ ।
आमा लाई बोलायौँ बोल्नु भयो।

बिरामीको बारेमा भन्यौँ, करिब ५ दिन सम्म पनि आमाको स्वास्थ्यमा उल्लेखिय सुधार आएको थिएन ।
हामीले ५८ वर्षको आमा सकेसम्म अब काठमाण्डौँ, नेपालगंज सुर्खेत कता हुन्छ त्यतै लानु भन्यौँ तर उहाँ हरुको उत्तर लाटो श्वास मात्र भएकि लाई खर्च गरेर के गर्नु बरु घरै लान्छु डिस्चार्ज दिनुहोस भन्नु भयो हामिले लाख बुझाउदाँ पनि नमाने पछि मेडिकल भाषमा “जबर्जस्ती लगेको” भनी पठायौँ ।
आमाको सम्पर्क नम्बर माग्यौँ र भोलिपल्ट फोन गर्दा आमाले मज्जाले खानाखानुभएको बताएका थिए छोराले ।
करिब ४ दिन पछि फोन गर्दा आमाको बाठो श्वास गयो, लाटो श्वास बाँकि छ हामीले त आश मार्यौ भन्नु भयो र मैले पुन सम्झाँए कि यता अस्पताल ल्याउनुहोस कि शहर लानुहोस यो लाटो र बाठो श्वासमा नबस्नुहोस भन्यौ।
तर ,आर्थिक रुपले पनि समपन्न परिवार यहि भ्रम मा परेर घर लगेको करिब १ महिना पछि आमाको बाठो र लाटो श्वासले पनि साथ छोडेछ ।
……..

लेखक

लेखक

वर्ष ६२ कि आमा।
३ छोरा २ छोरि सबै परिवार हुने खाने ।
परेको बेला सजिलै रकमको जोहो गर्न सक्ने ।
जिल्ला सदरमुकाम भन्दा २ दिन टाढाको गाँउमा बस्ने अहिले त गाडीले सहज गरिदिनाले १ दिनमै सजिलै आउन सक्ने । दम र प्रेशर को समस्या रहेको तर औषधि एकपटक खाए सधै खानु पर्छ भन्ने सोचले औषधि नखाने तर आफु सँग औषधि भने राख्नुभएको । १ हप्तादेखि श्वास फेर्न समस्या, ज्वरो आएको तर गाँउमै उपचारमा बस्नुभएको, १ हप्ता पछि अस्पतालमा ल्याएर आउनु भयो । अस्पतालमा आउदाँ प्रेशर १६० का मुनि ९० अनि रगतमा चिनीको मात्रा जम्मा ७६ अनि अक्सिजनको मात्रा ७८ बिना अक्सिजन, आमालाई सँगै ल्याएर आएको छोरा, सबै जाँचेर हेर्दा भर्ना गर्नुपर्छ भनेर भन्यौ तर छोरा बस्न चाहेन्न, हामिले बिरामीकै लागि हो भनेर मनाएर छाड्यौ, एक्सरेमा निमोनिया देखियो ।
भर्ना गरेर राख्यौ तर ८ दिन सम्म पनि आमाको अक्सिजनको मात्रा शरिरमा बिना अक्सिजन ८० भन्दा माथि आएन ।
यता छोराले आफ्नो काम बितिसक्यो अब घरै लान्छु भनेर जिद्दी गर्न थाले। हामीले १० दिनको औषधिको मात्रा पुरा गराएर जानु भन्यौ तर ९ दिनमा आमा बोल्न छाड्नु भयो, हामीले घर लानु भन्दा राम्रो अस्पताल लानुहोस् जसले आमालाई सहज गराउला भन्दा मानेनन् ।
चिनिको मात्रा हेरेको जम्मा ६० mm/mg !
शरीरमा चिनीको मात्रा घटेको देखिएपछि तुरुन्तै डेक्सटोज दियौँ बेहोसी अवस्थाकी आमाले एक्कासी आखाँ खोलेर बोल्न थाल्नु भयो । अनि , छोराले यसरी उठेपछि बाठो चेत गैसक्छ, हामी घर जान्छौँ भन्नु भयो ।
र ,
हामीले कोशिस गर्दा पनि नमानी घर लगेर गए तर त्रिपुराकोट पुग्दा आमा हिड्न सक्नु भएन भने, त्यहाँको हेल्थ पोष्ट गएर फोन गर्नु भन्यौँ, फोनमा कुरा गर्दा आमाको अक्सिजनको मात्रामा कमी आईसकेको रहेछ त्यहाँ जाच्दाँ जम्मा ६० प्रतिशत बिना अक्सिजन, अनि बोलि बन्द, अब छोरालाई पुन आज यता जिल्लामा ल्याउनु भोलि नेपालगंज लानु भन्दा आमाको बाठो श्वास नै छैन, नाडि छाम्न लगाएको अब दिन छैन्न भने जान्ने मान्छेले बरु हामि घर लान्छौँ भनेर त्यहाँ पनि नराखि घर लगे, बिडम्बना, घर गएको दिनमै अक्सिजनका लागि लड्दा लड्दै आमाको लाटो र बाठो श्वास दुवैले छाडेर गएछ ।
…….
माथिका केहि घटना यहाँ जिल्ला अस्पतालमा आउने केहि बिरामिहरुको प्रतिनिधि घटना मात्र हो । सिमित साधन स्रोतमा जिल्ला अस्पतालबाट सकेसम्म बिरामीलाई सेवा दिदै आईरहेका छौँ, बिरामीको उपचारमा कमि नहोस् भन्ने हाम्रो पहिलो ध्येय हुन्छ तर बिडम्बना कहिले काहि नचाहदाँ नचाहदै पनि रिफर गर्नुपर्छ । कति रिफर गरेपछि ठाँउमा पुग्छन् र निको भएर फलोअपका लागि यतै आउछन् अनि माथि भनेका जस्तै केहि प्रतिनिधिहरु लाटो र बाठो श्वासमा अड्केर दिन कुरेर बस्छन् ।

भर्खरको उमेर, केहि आर्थिक खर्च र समय दिने हो परिवारले भने जिवन अझै मज्जाले बाच्थे होला तर बिडम्बना घरमुलि र छोरा छोरिको निर्णय नै प्रमुख हुन्छ । र त्यो निर्णय पनि लाटो र बाठो श्वास भित्र अड्कको हुन्छ । लाटो र बाठो श्वासमा परेर जानेहरु प्राय महिलाहरु नै हुन्छन् । तर महिलानै त्यो निर्णयमा किन बाधिन बाध्य छन् भन्ने आज सम्म मैले नबुझेको हाम्रो समाजको यथार्थ धरातलको कुरा । यदि कसैले गरिबि र अशिक्षाले गर्दा हो भनेर भन्छन् भने त्यो सरासर गलत हो । पैसा भएकाले पनि लाटो श्वास मात्र छ नेपालगंज काठमाण्डौ लगेर खर्च किन गर्नु भनेर घरमै लगेर दिन कुर्नेहरु पनि छन् । तिनै बिरामि महिला अनि पुरुषहरु जसले आफु जवान हुदाँ अझ भनौँ उक्त समयमा सन्तानहरु बिरामि हुदाँ कुनै श्वास कुरीन्न होला, सक्दो खर्च गरी आर्थिक अवश्थाले नसके पनि ऋण काटेर भएपनि उपचार गरिन् होला र जानु पर्ने ठाँउ धाईन् होलिन्, कति रात अस्पतालका छिडि अथवा अन्य ठाँउमा अनिधो बसिन् होलिन् । तर बिडम्बना जवानि सकिदै जादाँ बुडेयौलिले गाजिरहदाँ तिनै सन्तानले तिनै बा आमाको स्वास्थ्यलाई लाटो र बाठो श्वास मै झुण्डाई रहेका छन् । नेपालको संविधान अन्तर्गत धारा ३५ मा स्वास्थ्य सम्बन्धि हकको व्यवस्थालाई मौलिक हकका रुपमा व्यवस्था गरेको छ । स्वास्थ्यलाई नेपाल सरकारले पहिलो प्राथमिकतामा राख्दा समेत यता दुरका अस्पतालहरुमा सक्दो उपचार दिए पनि बिरामि र उनका आफन्तहरु भने औषधि उपचारभन्दा पनि बुढ्यौलिको समयलाई लाटो र बाठो श्वासमा झुण्डाएर राखिदिदा प्राय त्यस्ता दृश्यले मन खिन्न भने बनाउदँछ । २ ४ पैसाको लोभ भन्दा ज्यान ठुलो मानेर बेलैमा सुविधा सम्पन्न ठाँउमा लग्नुहोस भन्दा पनि नमान्ने सन्तानहरु देख्दा पनि यहाँ मन विरक्तिएर खिन्न भएर आँउछ ।

यो भन्दा पनि ठुलो कुरा अहिले पनि अन्धविश्वासमा रुमलिएको समाज देख्दा अझ उदेग लाग्छ । समाज लाई यहि लाटो र बाठो श्वास बाट बाहिर निकाल्न आजको अवश्यकता भनेकै शिक्षा र चेतना को हो । समाजलाई चाहे त्यो धर्मको बाटो होस या त कर्मको बाटो विश्वास गर्नु तर अन्धविश्वासमा नपर्नु भनेर सिकाउनु र शिक्षित गर्नु आजको आवश्यकता हो । उचित शिक्षा दिन सकियो भने अबका दिनमा लाटो र बाठो श्वास मा अड्केर कुनै बुढा आमा बा हुन् या मृत्यु सँग लडाईगरेर जित्ने आत्मविश्वासमा बसेका युवा हरुले विना उपचार मृत्युवरण गर्न पर्दैन थियो ।
समाप्त!!!

डा अखण्ड उपाध्याय
मेडिकल अफिसर
डोल्पा जिल्ला अस्पताल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय