
केही समय अगाडि नयाँ वर्ष उमंगको संकेत गर्दै आयो ।
भित्ते पात्रोमा मात्रै नयाँ वर्ष नभएर दैनिकीमा पनि नयाँपनको महसुस हुनु सबैको ध्येय हो । दिनभर गर्मीले सताउने हुनाले बाहिर निस्किन साँझ कुर्नै पर्यो ।
साँझ परेपछि सार्है नै खल्लो र निरस दिन नबितोस् भनेर एउटा रेस्टुरेन्टमा नयाँ वातावरण अनुभवको लागि प्रवेश गर्यौँ । वातावरण संगीतमय तथा भोजनमय थियो ।
नयाँ वर्षले होला कुनै टेबुल खाली थिएनन् ।
सबैतिर ” प्याक ” । बिस्तारै वातावरण धुवाँमय पनि भयो ।
नयाँपनको सौख सबैलाई हुन्छ । नयाँ कपडा नयाँ ठाउँ नयाँ भोजन नया कृयाकलाप सबैले आनन्दको सन्चार गर्न मद्द्त गर्छ । त्यस्तै नयाँपन र क्षणिक आनन्दको पछाडि अहिलेको समाज दौडिरहेको अनुभुती हुन्छ । त्यसको एउटा पात्र म आफै पनि हो भनेर स्विकार गर्नै पर्छ । हरेक दिन पसिना चुहिने गर्मीमा काम गरेपछी एसिमा चिटिक्क परेका सफा सोफामा बस्दै रेस्टुरेन्टका आइटमहरु खान लालायित हुनु स्वभाविक नै हो । कसलाई मन हुन्न र रमाइलो गर्न ? वरिपरि धुवाँले आकाशमा फन्को मार्दै थियो ।
धेरै जसो टेबलमा अचेल निकै प्रचलनमा रहेको हुक्का देख्न सकिन्छ। त्यो हुक्का विभिन्न स्वाद र सुगन्धको हुने भएर चुरोटको धुवाँ भन्दा तान्न सजिलो हुने हुन्छ । तर त्यही पाइप सबैले तान्ने हुनाले एक अर्काको शरीरमा संक्रमण सर्ने सम्भावना त हुन्छ नै । साथै सहज र स्वादिलो मानिने हुनाले लामो सर्को तान्ने र बारम्बार तान्ने मन जागेर आउँछ । हेर्दै थिएँ लामो श्वास तानेर भित्र लगेर नाकबाट धुवाँ निकाल्ने होडबाजी नै हुन्छ । र हावामा सुरेली खेलेको जस्तो देखिने धुवाँको मुस्लो निकाल्ने प्रतिस्पर्धा । त्यो कार्यले दिमागमा एउटा नशा सिर्जना गर्छ । बारम्बार गर्न मन लागिरहन्छ ।
अब हुक्कासँग सम्बन्धित केही भ्रमहरुलाई चिर्ने प्रयास गरौ ।
१. हुक्का चुरोटभन्दा सुरक्षित छ ?
हुक्कालाई चुरोटभन्दा सुरक्षित मान्ने बुझाइ देखिन्छ । जुन कुरा पुरै गलत छ । हुक्कामा पनि सिगरेटमा जस्तै केमिकल निकोटिन, कार्बन मोनोअक्साइड आदि पाइन्छ । जुन क्यान्सरजन्य पदार्थ हुन् ।
२. हुक्का कहिलेकसो सेवन गरे के होला त ?
हुक्का तान्ने बेला व्यक्तिले निकै धेरै तान्ने र धेरै पटक तान्न्ने हुनाले १०० सिगरेट बराबरको असर एक घन्टाको हुक्का तान्ने कृयाकलापमा असर हुने अध्ययनले देखाउँछ । र एक पटक हुक्का तान्दा एउटा खिल्ली सिगरेट भन्दा ९ गुणा बढी कार्बन मोनोअक्साइड र १.५ गुणा निकोटिन नामक विषालु ग्यास फोक्सोमा पुग्ने अध्ययनले देखाएको छ ।
३. हुक्काको धुवाँ पानीबाट फिल्टर हुनाले अरुलाई असर गर्दैन ?
यो पनि सबैभन्दा ठूलो भ्रम हो । पानी हुँदै पाइपमा आउने भएपनि त्यसको धुवाँमा निकोटिन लगायतका अन्य घातक तत्वहरु चुरोटकै बराबरीमा शरीरमा प्रवेश गर्ने हुनाले कम हानिकारक मान्नै सकिन्न ।
४. हुक्काले क्यान्सर हुने सम्भावना कम हुन्छ ?
यो पनि पुर्ण रुपमा गलत सन्देश हो। हुक्का र चुरोट दुवै क्यान्सर बनाउने कुरामा एकै कित्तामा पर्छन् ।
हुक्का तान्ने क्रममा अनेकौं व्यक्तिले प्रयोग गर्ने हुनाले एक अर्काका श्वास प्रस्वासका रोगहरु पनि सर्ने सम्भावना उत्तिकै हुन्छ । र हेपाटाइटिस B र हेपाटाइटिस C जस्ता रोग पनि सर्ने अनुमान गरिएको छ । त्यसैले हुक्का संस्कृतिलाई विशेष चासोका साथ ध्यान दिने गरौं । यसको सहजता र अवाञ्छित प्रचारले गर्दा सचेत व्यक्तिहरुमा पनि भ्रम सिर्जना भएकोले हुक्का संस्कृति मौलाउनु बिल्कुल राम्रो हैन ।
अज्ञानताको उपचार भेटिन्छ । तर मुर्खताको उपचार गर्न दैव डराउँछन् । हुक्काको अवगुणहरु जान्दाजान्दै पनि प्रश्रय दिनु व्यक्तिगत, सामाजिक र राष्ट्रिय मुर्खता हो ।