केही दिन अघी कन्सल्टेसनको क्रममा एक जना विरामीले भन्नुभयो – “तपाईंलाई थाहा छ डाक्टरसाब, रोग निको हुन डाक्टर र विरामीको ग्रह मिलेको हुनुपर्छ नि। ग्रह मिलेको छ भने सामान्य औषधीले पनि एकै पटकमा च्वाट्टै निको हुन्छ। ग्रह मिलेन भने कैले औषधीले काम नगर्ने, कैले के, कैले के समस्या आउने भईराख्छ नि।“
मैले “ए हो र” मात्रै भनें, तर पछी यसो सोच्दा हो कि क्या हो जस्तो लाग्यो। धेरै विरामीहरुसँग आफैले गरेको अनुभव अनी धेरै विरामीहरुको अरु धेरै डाक्टरहरुसँगको अनुभवलाई सुन्दा यो कुरामा केही त सत्यता छ जस्तो लाग्यो।
अनी आफ्नो दिमाग केही मन्थन गरें।
खासमा उपचार भनेको औषधी, चक्की, झोल, सूई, अप्रेशन मात्र हैन। उपचारमा एउटा ठुलो भाग विरामी र डाक्टरको सम्बन्धको हुन्छ, विरामीले डाक्टर र डाक्टरले विरामीको बारेमा राख्ने सोच र मनस्थितीको हुन्छ, उनीहरु बीचको ‘साइकोलोजी’को हुन्छ। यो कुरा अध्ययन अनुसन्धानहरुबाट पनि प्रमाणित कुरा हो। शायद यसलाई नै ठेट नेपाली भाषामा ‘ग्रह मिल्ने वा नमिल्ने’ भनिन्छ।

विरामी र डाक्टरबीचको ग्रह-दोषमा सबैभन्दा ठुलो भूमिका खेल्ने ग्रह – डाक्टर र विरामी बीचको विश्वास।
विरामी र उसका आफन्तले कत्तिको विश्वास गरेर डाक्टरलाई देखाउन गएको छ भन्ने कुराको ग्रह मिल्नु, नमिल्नुमा ठुलो भूमिका हुन्छ। नाम चलेका डाक्टर, सिनियर डाक्टर, समाज र वरपरका छिमेकी, आफन्तले विश्वास गरेर “यो डाक्टरलाई देखायो भने च्वाट्टै हुन्छ” भनेर सुनाएको छ भने ती डाक्टरमाथी ठुलो विश्वास बोकेर गइन्छ र ती डाक्टरले केही समय मिठो बोलिदिए, “तपाईको समस्या ठुलो हैन, यो औषधी खानुस् निको हुन्छ” मात्रै भनिदिए पनि आधा भन्दा बढी रोग निको हुन्छ वा रोग निको नभए पनि विरामीलाई आनन्द आउछ। यो सबै विरामीको विश्वासको कमाल हो, वा भनौं विरामी-डाक्टरको ग्रह मिलेर भको हो।
एक जना विरामीले सुनाएको अनुभव।
वर्षौंदेखी एउटा स्वास्थ्य समस्याले उनलाई दु:ख दिईराख्थ्यो। जती देखाउदा नि निको नहुने, बल्झिराख्ने। आफ्नो ठाउँको लगभग सबै अस्पतालका त्यो रोग सम्बन्धी सबै डाक्टरलाई देखाइसकेका थिए। एक पटक काठमाण्डौ गएको बेला टिभीमा उनको जस्तै समस्याबारे एक जना नाम चलेका डाक्टरले बोलिरहेका थिए। उनको समस्या र डाक्टरले भनेको कुरा ठ्याक्कै मिल्यो रे। अनी उनी तिनै डाक्टरलाई देखाउन पुगे। डाक्टरले जाँचेर १००-१५० रुप्पेको औषधी लेखिदिए। बस् त्यत्तीले उनको समस्या काँडा निकाले जस्तो निको भयो रे। त्यसपछी समस्या दोहोरिएर आएको पनि छैन रे।
के ती डाक्टरले जादु गरेका थिए त?
के ती डाक्टरले अरु कसैले नदिएको औषधी आँफैले बनाएर दिएका थिए त?
के ती डाक्टरले कसैले पत्ता लगाउन नसकेको रोग पत्ता लगाएर जरैदेखी निको परेका थिए त?
कतिले डाक्टरले जादु गर्या झैं विरामी निको पार्छन् भनेर सुनाउँछन्। तर यो सब जादु विरामीको डाक्टरप्रतीको विश्वासको हो, जुन विश्वासको जगमा विरामीले “म अब ठीक हुन्छु” भन्ने आत्मविश्वासको घर बनाउने गर्छन् र ती विरामी निको हुन्छन्।
तर सबै रोग विश्वासले मात्रै निको हुँदैन। व्याक्टेरिया, भाईरसको संक्रमण भएको छ भने विश्वासले मात्रै निको हुँदैन। क्यान्सर भएको छ भने विश्वासले मात्र पक्कै निको हुँदैन। तर विश्वास छ भने विरामीले आफ्नो समस्या, आफ्नो उपचार पद्दती र आफ्नो वर्तमान र भविष्यप्रती हेर्ने दृष्‍टिकोण नै फरक हुन्छ र निको हुने, राम्रो महसुस गर्ने सम्भावना बढेर जान्छ।
डाक्टरको व्यवहार र विरामीको अपेक्षाबीचको तालमेल
सामान्यतया डाक्टरको व्यवहार, लवाइ, ‘आउटलुक’ कस्तो हुनुपर्छ भनेर समाजले बनाएको एउटा चित्र हुन्छ। जस्तो कि भरपर्दो डाक्टर भनेको अलिकती उमेर पुगेको, कपाल हल्का फुलेको, खाइलाग्दो, फर्मल ड्रेसअप गर्ने, महिलाको हकमा भद्दा मेकअप नगर्ने, पुरुष भए दाह्री जुंगा चिटिक्क पारेको आदी। अझ महिला भए त समाजले पत्याउन अझ गाह्रो मान्छ। मान्छे र समाज स्वाभावैले ‘जजमेन्टल’ हुन्छन्। आफूले सोचेकोभन्दा फरक चित्रण र व्यवहारमा डाक्टर देखियो भने शुरुदेखी नै डाक्टर र विरामीको ग्रह नमिल्न शुरु हुन्छ, अर्थात विरामीले शुरुबाट नै डाक्टरको कार्यक्षमतामाथि शंका शुरु गर्न सक्छन्।
“हेर्दै डाक्टर जस्तो देखिदैन”!
“यस्तो बच्चा जस्तो डाक्टरले नि के निको पार्ला खै”!
“ए, केटी डाक्टर पो रैछ। सिस्टर्नी पो रैछ”!
तर सबै कुरा ‘आउटलुक’मा मात्रै भर पर्ने भन्ने हुँदैन। त्यसपछी ग्रह मिलाउन सक्ने, नसक्ने भन्ने कुरा धेरै डाक्टरको हातमा हुन्छ। केही विरामीको हातमा नि हुन्छ। डाक्टरको बोली कस्तो छ, बोल्दा कत्तिको ‘आइ कन्ट्याक्ट’ गर्छ, कस्तो ‘बडी ल्यांगवेज’ देखाउछ, व्यवहार कत्तिको ‘प्रोफेसनल’ छ, कत्तीको समय दिएर हेर्छ, विरामीको कुरा सुन्छ, विरामीको समस्या बुझ्नसक्छ, कसरी जाँच गर्छ, उपचार कसरी बुझाउछ। यी सबै कुराले शुरुमा मिल्न नसकेको ग्रह पनि बिस्तारै मिल्न जान्छ।
विरामीले आफ्नो समस्या सुनाउदै छ, डाक्टरले मोबाइल निकालेर बोल्न थाल्ने, विरामीसँग बोल्ने भन्दा ओपिडी कार्डमा लेख्न थाल्ने, सधैं हतार भए जस्तो व्यवहार देखाउने, झर्केर बोल्ने, रुखो बोल्ने, रिसाउने जस्ता व्यवहार देखायो भने शुरुमा मिलेको ग्रह पनि भड्किदै जाने हुन्छ।
अस्पतालको लोकप्रीयता र समाजले गर्ने विश्वास।
कुनै कुनै अवस्थामा भने डाक्टरको व्यक्तिगत प्रयास र व्यवहारभन्दा पनि अस्पतालको इमेज र लोकप्रीयताले ग्रह मिलाउन बढी काम गरेको हुन्छ। दुर्गमका अस्पतालमा मेडिकल अफिसर वा एमडि डाक्टरले नै हेरेको विरामी “निको भएन, विश्वास लागेन” भनेर “काठमाण्डौ गएर देखाउछु” भनी टिचिङ अस्पताल गएर त्यहा इन्टर्नले हेरेर नि निको भयो भनेर आएको देखेको छु, सुनेको छु। यसो भनेर इन्टर्नले विरामी निको पार्न नसक्ने भन्न खोजेको हैन, तर विरामीमा काठमाण्डौको, त्यो पनि टिचिङ अस्पतालको डाक्टरले औषधी दियो, अब निको हुन्छु भन्ने ‘साइकोलोजी’ले कसरी काम गरेको हुन्छ भन्ने खोजेको मात्रै।
भरतपुर, नेपालगन्ज, भैरहवाबाट आँफै रिफर भएर काठमाण्डौ जाने अधिकांश विरामीको पहिले देखाइएको डाक्टरहरुसँग ग्रह नमिलेको हुन्छ। काठमान्डौ छिरेपछी हावापानीले र नाम चलेका प्राइभेट, सरकारी अस्पताल पुगेपछी विस्तारै नमिलेको ग्रह मिल्न थाल्छ। आफूलाई मुटुको समस्या छ भन्ने सोचाइ भएको विरामी सिधै गंगालाल गएर देखाउन पाए ठ्याक्कै ग्रह मिल्छ। आफूलाई नसा, न्युरो सम्बन्धी समस्या हुनुपर्छ भन्ने मनमा गढेको छ भने न्युरो अस्पताल पुग्न पाए ठ्याक्कै ग्रह मिल्छ। कहिलेकाँही बरु रोग अनुसार अस्पताल चै नमिल्न सक्छ। आफ्नो विरामी बच्चालाई कान्ती बाल अस्पतालमा देखाउन पाए आमाबुवाको ग्रह ठ्याक्कै ठीक ठाउँमा आउछ। रोगअनुसार ब्रान्डिङ भएका अस्पतालमा पुग्न सकियो भने डाक्टर र विरामीको ग्रह मिल्ने सम्भावना बढी हुन्छ।
अहिलेको समयमा डाक्टरसँग मात्र हैन, पूरै आधुनिक चिकित्सासँग नै मान्छेहरुको ग्रह मिलिरहेको छैन। सरकारी स्वास्थ्य संस्थाहरुको कमजोर सेवा प्रवाह र स्वास्थ्यमा बढ्दो निजिकरण र व्यापारीकरणले गर्दा विरामी र समाजको स्वास्थ्यकर्मीहरुसँग ग्रह मिलिरहेको छैन। त्यसैले त विरामीको उपचार सफल नहुने बित्तिकै अस्पताल तोडफोड, स्वास्थ्यकर्मीमाथी हातपात हुने घट्ना बढ्दो छ। त्यसैले जरैबाट ग्रह मिलाउने हो भने सरकारी स्वास्थ्य संस्था र त्यहाबाट दिने स्वास्थ्य सेवाको स्तरलाई बढाउनै पर्छ, त्यसको लागि सरकारले लगानी र ‘मनिटरिङ्ग’ बढाउनै पर्छ। यो माथिल्लो स्तरबाट हुनुपर्ने कुरा भयो।
विरामीसँग हाम्रो ग्रह मिलाउन हामीले व्यक्तिगत स्तरबाट चै के गर्न सक्छौं त?
१. विरामीका कुरा समयले भ्याएसम्म ध्यान दिएर सुन्ने
२. विरामीका कुरा, दृष्‍टिकोणलाई महत्व दिने, ठाडै कुरा नकाट्ने
३. उपचार गर्ने, नगर्ने, कस्तो विधी अपनाउने निर्णय आफन्त र विरामीको हुन्छ, त्यसमा बलजफ्ती आफ्नो सोच, निर्णय नलाद्ने
४. ‘जजमेन्टल’ वा पूर्वाग्रही नहुने। हुन त समाजै पूर्वाग्रही हुँदा डाक्टर मात्र त्यसो नबन्न गार्हो हुन्छ। तर यो धेरै आवश्यक व्यवहार हो। जस्तो कि नियमित ‘फलोअप’मा आएन भने कती डाक्टरले विरामी, आफन्तलाई गाली गर्छन्। “आफ्नो स्वास्थ्यको चिन्तै छैन, मन लाग्यो आयो, मन लागेन आएन” भनेर भन्छन्। तर हामीलाई के थाहा उनको घरमा बिहान-बेलुका खानलाई नै पो समस्या छ कि? विदेशबाट छोराले समयमा पैसा पठाउन सकेन कि?
५. ‘प्रोफेसनल’ हुने, धेरै ‘इन्फर्मल’ नहुने। व्यवहारमा ‘कन्सिस्टेन्ट’ हुने, व्यक्तिगत समस्या, मनस्थितीले विरामीसँगको सम्बन्धमा असर पार्ने नदिने।
ग्रह मिलाउन डाक्टरको मात्रै नभएर विरामी र आफन्तको पनि हात हुन्छ। डाक्टर र विरामीबीच ग्रह मिलाउन विरामीको तर्फबाट के के गर्नुपर्ला त?
१. सकेसम्म ‘जजमेन्टल’ वा पूर्वाग्रही नहुने। विरामी जाँच्न पाएको छैन, परामर्श गर्न पाएको छैन, ‘यो डाक्टरले खै के निको बनाउला’ भनेर शंका नगर्ने। त्यस्तो शंका लाग्छ भने बरु त्यहा जचाउन जादै नजाने।
२. पहिले नै ‘मलाई यो रोग लाग्या हो, मलाई यो जाँच गराउनु छ, मलाई यसको औषधी चाहिएको छ’ भन्ने सोचाइ नबोक्ने। डाक्टरसँगको परामर्श र जाँचमा केके हुनसक्छ भनेर छलफल गर्ने।
३. डाक्टरलाई भगवान मानेर जादुई उपचारको आशा नराख्ने र डाक्टर भनेको मान्छे मार्ने राक्षस हो भनेर शंकैशंका पनि नगर्ने। डाक्टरलाई नि मान्छे जस्तो व्यवहार गर्ने।
४. आफ्नो कुरा सुनाउने अनी डाक्टरको कुरा पनि सुन्ने। नबुझेको कुरा बुझ्न खोज्ने।
आधुनिक चिकित्सामा विरामी र डाक्टरबीचको ग्रहमा नै धेरै कुरा अडेको हुन्छ। त्यसैले अर्को पटक विरामी हेर्दा ग्रह कत्तिको मिलेको छ छैन, नमिलेको भए मिलाउन के गर्न सकिन्छ हेर्नुहोला है।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय