हुन त गर्भअवस्था र सुत्केरी हेर्न नपर्ने भएको ४ वर्ष बितिसकेछ । तर, जिल्ला अस्पतालहरुमा काम गर्दाको अनुभवहरु भने समाचार -संजाल पढ्दा – सुन्दा बेला बेला सम्झना हुने गर्छ । राष्ट्रले जति फड्को मारेको गफ दिए पनि कुनाकुनामा चेतनाको दियो अझै बल्न सकेको छैन । चेतनामा फड्को नमारेसम्म सबै कार्यक्रमहरु विफल हुने गर्छन् ।

डोल्पाको दुनै बजार डोल्पाको सदरमुकाम हो । त्यहाँ एउटा जिल्ला अस्पताल रहेको छ । ढुङा र सिमेन्टले बनेको अस्पताल । वरपरका गाउँहरु जाने बाटो कच्ची नै छन् । कति गाउँसम्म एम्बुलेन्स आदि केहि पनि जाँदैनन् । विजुली बत्ती छ । तर कयौ पटक टर्च बालेर उपचार गर्नुपर्छ । किनभने बत्ती गएपछी फेरि आउन धेरै दिन लाग्छ । अस्पतालको जेनेरेटर बिग्रेको मर्मत गर्न प्रशासनिक झन्झटले रोकिरहन्छ । जनसंख्या नै पातलो हुनाले विरामी कम आउँछन । तर जटिल आउने गर्छन् । सानातिना समस्या त मान्छेले यत्तिकै पचाउने बानी परेको जो छ त्यहाँ ! त्यहाँको विषेशता के छ भन्दा बिरामी आउँदा शरीरको रोग मात्रै लिएर आउँदैनन्। साथमा सामाजिक अन्धविश्वासको रोग पनि लिएर आउने गर्छन् ।

यस्तै दुख सुखका विचमा सेवा दिने क्रममा केहो समय पहिले एउटी सुत्केरी महिला आइपुग्छिन्। उनी करिब ४ घण्टा पैदल दुरीमा रहेको एउटा गाउँबाट आएकी हुन्छिन् ।
उनको अवस्था चिकित्सकीय भाषामा भन्नुपर्दा Hemorrhagic shock को अवस्था हुन्छ ।
डा ऋषभ र डा शंकर दुवै जना यो खबर पाउने बित्तिकै एमर्जेन्सीमा पुग्छन् । कुरा बुझ्दा ती महिलाले बच्चा जन्माएको ४० घन्टा अगाडि रहेछ ।
र ,४० घन्टा देखि बच्चालाई स्तनपान नगरेको थाह हुन्छ । नवजात शिशुको शरीरमा रक्तप्रवाह पनि निकै सुस्त भइसकेको हुन्छ । शिशु निकै सुस्त हुन्छ । अझै दयनीय कुरा के भन्दा शिशुको शरीर ढाक्न पुग्ने टोपी र कपडा पनि हुँदैन ।

साथमा आमाको पनि साल अड्केको र रगत बगिरहेको हुन्छ । ब्लड प्रेसर नाप्दा ब्लड प्रेसर निकै कम हुनाले सुन्न सकिदैन । त्यसमै अर्को दृश्य देखिन्छ – शिशुको नाभीमा कपालले बाँधेको हुन्छ । यो सबै दृश्यमा त्यहाँ उपस्थित डाक्टर र नर्सिङलाई यथेष्ट व्यस्तता र तदारुकता हुन्छ नै । बल्लतल्ल सलाइन चडाएर र हरसम्भव औषधिहरु दिएर आमाको प्रेसर सुनिने गरि उकालो लाग्छ । सो सँगै सबैजनामा खुसीको ग्राफ पनि एकाएक उचाइमा पुग्छ । शिशुको नशा नभेटिनाले सक्सन ट्युबलाई नाकबाट पेटसम्म पुर्याएर सलाइन पानीबाट उपचार गर्न पर्छ । र यो सबै समयमा टर्च बालेर उपचार गर्नुपरेको हुन्छ ।
यो दृश्य सायद नेपालको कुनै पनि भ्यु टावरबाट देखिँदैन होला ।
फेरि दोहोर्याउँछु,
यो दृश्य सायद नेपालको कुनै पनि भ्यु टावरबाट देखिँदैन होला
जसले देख्नुपर्ने उसले नदेखेजस्तो गरेपछी के अर्थ !
यो दृश्य त्यहीँ कै हो, जहाँ केही समय पहिले त्यही ठाउँलाई आधार बनाएर गरिएको युद्धको प्रमुख कमान्डर भ्यु टावर उद्घाटन गर्न पुगेका थिए /पुग्छन् ।
साँच्चै,
त्यो भ्यु टावरबाट ऊनीहरु के देख्छन् होला?
के देख्न चाहन्छन् होला?
…….
नेपाल सरकारले गर्भवती अवस्थामा ४ पटक स्वास्थ्य सँस्था भेट्नुपर्ने नीति रहेको छ ।
यो नीतिले Zero Home Delivery को जोडदार प्रयास गरिरहेको छ ।
तर डोल्पामा एउटा बिश्वास गहिरो रहेको छ ।
उनीहरु सोच्छ्न् – ” सिमेन्टले बनेको अस्पतालमा सुत्केरी गरायो भने चिसो पसेर न्युमोनिया हुन्छ । त्यसैले जब Delivery को समय नजिक हुँदै जान्छ, उनीहरु सुत्केरी गराउन दुनै बजारबाट आफ्नो घरतिर लाग्छन् । गर्भधारण गरेको सुरुका ६-७ महिनाजति दुनै बजारमा बस्ने र त्यसपस्चात सुत्केरी गराउन घरतिर जानुले त्यहीँ नजिकै रहेको अस्पताललाई जिस्काइरहेको आभास हुन्छ । अस्पतालमा सुत्केरी गराउन लैजाने हो भने अपरेसन गर्दिन्छन्। घाउ पाकेर मृत्यु हुन्छ भनेर पनि अस्पताल जान डराउने गर्छन् ।
ओहो! बुझाइको कस्तो अन्तर है!
यो बुझाइमा ऊनीहरुको के दोष !
जसले कहिल्यै सिमेन्टले बनेको कोठामा बस्न सक्ने “सौभाग्य” पाएनन् , ऊनीहरुमा भ्रम नभएर के पो होस् त!
यो भ्रम तोड्नुपर्ने जिम्मा तपाइँ हाम्रो होइन?
एउटै देशमा ,एउटै भुभागमा , एउटै कालखण्डमा बाँचिरहेका हरुमा आएका यो भिन्न सोचलाई एकै बनाउने पहलकदमी हाम्रा जिम्मेवार निकायले लिनुपर्नेहोइन र?
म सँग प्रश्न मात्रै छन् !
उत्तर दिने हैसियतमा म छैन!
कतिपय उत्तरहरु प्रश्नै नसोधी दिनेगरेको छु आफ्नो काममार्फत!
तर,
यो सब देख्दा सोध्न मन लाग्छ,
के मातृ स्वास्थ्य कार्यक्रम फगत एउटा कागज मात्रै हो ?

….
परिवर्तन अवस्यम्भावी छ । परिवर्तन नै संसारको एकमात्र स्थायी कुरा हो । एक दिन नेपालको कुनाकुनामा जनचेतनाको स्तर उन्नति होस् भन्ने कामना । यो सबै दृश्य देख्दै र घटना भोग्दै कार्य गरिरहेका डाक्टरहरुले फोनसम्पर्कमा भएपनि यथार्थ वस्तुस्थिति बेलाबेलामा सुनाउने र सरसल्लाह माग्ने हुनाले सो स्थानको स्वास्थ्य अवस्थाको बोध मलाई भइरहने गर्छ ।
प्रिय मेरा सहकर्मी डाक्टरहरु,
टर्च बालेर पनि सेवा दिइरहेका स्वास्थ्यकर्मीहरुको मन राज्यको वेवास्ताले अहिले कुँडिएपनि भविष्यमा आत्मसन्तुष्टिको एउटा मीठो याद दिलाउने छ ।
त्यो बेला हाम्रो अन्तरात्माले भन्नेछ- “तैले आफ्नो तर्फबाट कोसिस गरेकै थिइस् नि”!
(समसामयिक बिषयमा लेख्न रुचाउने लेखकलाइ नियमित पढ्न उनको आफ्नै ब्लग    http://www.shambhukhanal.com.np  हेर्नुहोला)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय