विवाह, अन्योलता र निर्णय :
मनुष्यको जन्म कर्म, कर्तव्य र बन्धनले बाँधिएको स्वतन्त्र  जीवन हो । स्वतन्त्र शब्द नै अचम्मको छ आफैँ । निष्फिक्री जीवन जिउनुलाई स्वतन्त्र भन्ने कि कर्तव्यपरायणतामा स्वतन्त्रता महसुस गर्ने । यी सबै व्यक्तिका विचार र आत्मस्पर्शका कुरा हुन् । विवाह पनि जीवनको एउटा खुड्किलो हो । दुई दशकभन्दा बढी समय कुनै अर्को घरको रहनसहनमा हुर्केको ब्याक्तिसँग तारतम्यता खोज्नु सानो कुरा हैन ।
विवाह गर्नु कुनै फिल्मको एक्सन र रिटेक गर्ने कुरा हैन । विवाहपश्चात्को जीवनमा तनाव सिर्जना भयो भने जीवन नै भताभुङ हुने गर्दछ । त्यसैले आफुले विवाह गर्न खोजेको व्यक्तिको सबै कुरा थाह नहुनसक्छ । केहि दिनको भेटमा त पटक्कै थाहा हुँदैन । हुन त वर्षौंसम्मको भेटपछीका विवाह पनि सफल हुन नसकेका उदाहरण प्रशस्तै छन् । भेट्नासाथ विवाह भएका विवाह पनि सफल देखिन्छन् ।
वास्तविक तत्व के हो त सफलता र असफलताको ?
त्यो सबैका भनाइ र विचार फरक पाइन्छ । मलाई त आफू राम्रो हुनु र विवाह गर्ने व्यक्तिलाई बुझ्न सक्नु र स्वीकार गर्नसक्नु नै मुख्य कुरा जस्तो लाग्छ ।
….
करिब सात महिना बितेछ उनीसँग कुरा गर्न लागेको । मलाई त पहिलो भेटमा नै उनलाई मेरो ब्रह्मले रोजिसकेको थियो । किन रोज्यो त्यो थाहा भएन । आनिबानी रुचि आदि केही कुरा पनि थाहा नहुदै किन मेरो आत्माले उनलाई नै खोज्यो भन्ने थाह थिएन । डर पनि थिएन । विवाह भनेको त हाम फाल्नु जस्तै त हो । तैरिन सकियो भने जीवन नै मधुवन हुन्छ । बिस्तारै उनी मलाई मन पर्न थालिन् ।
अवगुण मात्रै हेर्न खोज्यो भने कोहि पनि व्यक्ति Perfect भेटिन्न ।  सायद मेरो ब्रह्मले मलाई सहि बाटो नै देखाएछ । उनी भने सुरुमा मलाई विकर्षण मात्रै गर्न खोज्थिन्। म पनि समयसमयमा भाग्ने निर्णय  गर्थेँ । तर उनी मेरो मानसपटलमा घुमिरहन्थिन्। आफुलाई वास्ता नगर्ने व्यक्तिलाई धेरै मान गर्नुहुदैन भन्ने चाणक्य नीति सानैदेखि अध्ययन गरेको छाप थियो ।  कहिलेकसो त दिक्दार नै लागेर मनमनै निर्णय गर्थें !
” आज म उनीसँग कुरा नगर्ने प्रण गर्छु ।”
तर , सधैं कुनै न कुनै कुराले सम्बन्धको तार टुट्नै लाग्दा जोगिन्थ्यो ।
लाग्छ,
विवाह त्यस्तो निर्णय हो जसको लागि  एक अर्कालाई स्विकार गर्न सक्ने आत्मविश्वास चाहिन्छ ।

विवाहको पूर्वदिन 
उनी सँगको कुराकानी आज सातौँ महिना चलिरहेको छ । र विवाह गर्ने निर्णय पनि भएको छ ।
भोलि बिहेको दिन ।
आज छट्पटी चलिरहेको छ ।
कस्तो अनौठो छट्पटी ।
साँझमात्रै त हो मेहेन्दी कार्यक्रममा सहभागी भएको । कहिल्यै थाह नपाएको र यदाकदा हिन्दी सिरियलमा देख्ने गरेको मेहन्दी कार्यक्रमलाई भारतको स्वाद मिसिएको नवीन कार्यक्रम हो जस्तो लागेको थियो ।
मेहन्दीमा जान लाज लागिरहेको थियो । तर उनले भनेपछि मन राख्न पनि जानै पर्छ भनेर जाने निर्णय गरेको थिएँ ।  त्यसकै लागि भनेर लगाउने कपडाको रोजाइ गरिसकेका थियौँ । त्यसमाथि मामाले मलाई लिन नै आउने भएपछि त अवस्य जानपर्छ भनेर तयार भएको थिएँ । बिहानदेखि दिउँसोसम्म बजार दौड धुपमा हिँडेको थिएँ । यो बिहेको समयमा जति गरे पनि अन्तिमसम्म केही न केही बाँकी रहने नै रहेछ ।
मेहेन्दीमा मैले के गर्नपर्छ भन्ने कुरो थाह थिएन । थाह नभएपनि खाली हात जान अप्ठ्यारो हुने हुँदा फुलको गुच्छा किनेर राखेको थिएँ । तर , हिड्ने बेला त्यो  फूलको bouquet विर्सिन्छु । बाटोमा किन्न्नुपर्ला भनेर हिँड्छु । जति विज्ञान पढेपनि हिँडिसकेको साइतमा बाटो फेरि फर्किन हुन्न भन्ने कुरामा विस्वास भने कहिल्यै नजाने ।

मामासँग गफ गर्दागर्दै बुटवल आइपुग्यो । उनको घर पुग्न थालियो । तर गिफ्ट पसल नै भेटिन्न बाटोमा । बुटवलको धुलाम्मे खाल्डाखुल्डीको सडकमा कार लिएर जाँदा फर्किँदासम्म त  कार्यक्रम नै सकिने डर हुन्थ्यो ।  त्यसैले घर मुनि गाडी रोकेर मामा र म भाट्भटेनी गयौं । तर मैले खोजेको रातो गुलाबको bouquet भेट्न सकिन्न । बल्लतल्ल दुई चारवटा फुलहरु बटुलेर एउटा कामचलाउ bouquet बन्यो । हामी घरमा प्रवेश गर्यौँ । त्यहाँ त माहोल निकै रमाइलो भइसकेको रहेछ ।
प्रवेश गर्ने बित्तिकै एउटै किसिमका सारीहरुमा सुसज्जित नारीहरुको जमात देखेर मुटुको धड्कन नै बढ्यो । धड्कन बढेको महसुश गर्दै थिएँ । उनी सबैजनाको बिचमा मेहन्दी लगाउँदै थिइन् । उनलाई हेर्न  म निकै आतुर भइसकेको थिएँ । उनी निकै राम्री देखिएकी रहेछिन्। हुन त सधैं राम्री देखिन्छिन् । उनको अनुहारमा रहेको चमकले मलाई सुरुमै प्रभावित पारेको थियो । हरेक पटक उस्तै प्रभाव पारिरहन्छ । उनको अनुहारमा मुस्कान फिँजारिंदा ब्रह्म नै जागृत भएको महसुस हुन्छ मलाई । त्यो अड्को पड्को बनाएको फुलको Bouquet दिएर आफ्नो धड्कन सम्हालेर राख्छु । धन्न त्यो फुलको गुच्छा तयार गरेछु ।
केही समयमा सबैजनाले नाच्न कर लगाउँछन् । मलाई नाच्न फिटिक्कै नआउने । दुवैजना नाच्ने बेला सबैले हेर्छन् । सबैका आँखा केवल हामी दुई जनामा । उनी असाध्यै राम्री देखिएकी छन् । म एक टकले उनलाई हेरिरहन्छु । र नजानी नजानी हल्लिरहन्छु उनको तालमा । म उनको ध्यानमा हुन्छु । वरिपरिका मान्छे सबैजना बिर्सिन्छु । गीत सकिने बेलामा उनको कानमा खुसुक्क भन्छु ” आइ लभ यु डियर । ” त्यसको उत्तर दिने मौका उनले  पाउन्निन् । म उत्तरको प्रतीक्षामा रहिरहन्छु ।

विवाहको दिन
अर्को दिन- विवाहको दिन ।
सबेरै उठेर पूजा गर्नुपर्ने थियो ।
त्यही विहान कपाल दार्ही सबै मिलाउनुपर्ने पनि थियो । मेकअपको लागि घरमा नै बोलाएको थिएँ ।
पूजाले गर्दा मेक अप नभ्याउने डर थियो । तर दुवै काम सकियो । जन्ती हिँड्ने साइत हुन लाग्दा मैले आफ्नो पोशाक लगाउँछु । लगाउँदा मिल्दैन । फसाद पर्छ । इङेजमेन्टको दिनमा पनि अन्तिम घडीमा कोट पैन्ट लगाउने बेला निकै कस्सिएको महसुस भएको थियो । तर पनि लगाउनै पर्यो । व्यस्तताले गर्दा विवाहको दिनभन्दा अगाडि पोशाक सामग्री टेस्ट गर्ने मौका नै मिलेन । यु ट्युब हेरेर कोट, माला, खुकुरी भिर्न खोज्दै थिएँ । त्यो कोट बनाउने स्नेहाको बहिनीलाई नै भिडियो कल गरेर लगाउने तरिका थाहा पाएर लगाएँ ।
फोटोग्राफरहरुले राम्रो फोटो निकाल्न खोज्छन् । तर त्यहाँ कसैलाई चासो नहुनाले धेरै महत्वपूर्ण क्षणहरुका फोटो कैद हुन पाउँदैनन्। फोटोले पछिसम्म बिहेको दिनलाई जिवन्त बनाइरहन्छ । त्यसैले त फोटो खिच्ने लहड धेरै देखिन्छ अचेल । दुवोको माला लगाएको फोटो पनि खिच्न पाइन । सबैजनाको भिडमा फोटो खिच्ने कार्य ओझेलमा पर्यो ।

घरबाट शुभ साइतमा नै निस्किन्छौँ । इङेजमेण्टको दिनमा हामी घरबाट हिंड्न् ढिला हुन्छ । बहिनीहरुविना टिकाटालो गर्न नजाने भनेर कुर्दाकुर्दै १ घण्टा अबेर भएको थियो । यो नारी श्रृङ्गारले समय नै थाह नपाउने !  समयलाई सम्मान गर्न नसक्नु आफ्नै वचनको सम्मान नगर्नु हो । त्यसैले विवाहको दिन भने साइतको पालना पक्का गर्ने कुरामा दृढ़ थियौँ  । बिहेको साइत दिउँसो भएकोले बिहे ढिलोसम्म हुने प्रष्ट देखिन्छ ।

सजिएको कारमा बस्दा मलाई आफ्नो बिहे हुन लागेको कुरामा पत्यार नै लागेको थिएन । जीवनको महत्त्वपूर्ण दिन । नयाँ जीवन सुरुवात गर्न सहयात्रीसँग बाँधिने दिन । केही छट्पटी हुन्छ। हल्का डरको महसुस हुन्छ । महाराजा पार्टी प्यालेस पुगेपछि कारबाट निस्किन्छु म । सबैजनाको विचमा एउटा फरक बेहुलो पोशाकमा म उभिएको छु ।  विवाहको दिन अन्तिमसम्म पनि केहि न केही छुट्छ भनेको सहि रहेछ । बेहुलालाई ओडाउने छाता छुटेको थाहा भएर तुरुन्तै छाताको जसोतसो  बन्दोबस्त हुन्छ ।
(अब तेस्रो तथा अन्तिम भागमा बाँकी  सबैसबै कुराहरु)!

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय