
सुरुवातमै भनिहाल्छु, पढ्दा धैर्यता राख्नुहोला! विषय लामो रहेको चेतावनी सुरुमै भनिसकेँ है!
आज हामी एउटा विवाहको कहानीको यात्रा गर्ने जमर्को गर्छौं ।
काउकुती:
भैरहवाबाट फर्किँदै थिएँ । घरमा एउटा सानो काम थियो । कोभिडले कन्तविजोग पारेको बेलामा त्यो यात्रा गर्नु पटक्कै मन थिएन । तर जीवन स्थिर त रहँदैन । विभिन्न आयामहरुलाई सन्तुलनमा राख्न सक्नु नै जीवन जिउने कला हो । सामाजिक सन्तुलन , भावानात्मक सन्तुलन र कार्य सन्तुलन सबै मिलाउनु कुशलता हो । त्यसमा सकेसम्म चुक्न नचाहने मलाई कोभिडले चुक्ने मौका दिन खोजेको थियो ।
…….
पानी सिम सिम परिरहेको थियो । म एयरपोर्टको टर्मिनलमा थिएँ । फ्लाइट ढिला हुने निस्चित थियो । एक घण्टा अगाडि नै पुगेकोले मलाई समय कटाउन निकै मुस्किल हुँदै थियो । फोनमा चार्ज खपत कम गर्नुपर्ने हुनाले मोबाइलमा गेम आदि खेल्न पनि सकिन । एकाएक म बसेको सिट अगाडि एउटी सुन्दर नानी बसिन् । मिलेको जिउडालमा लाम्चो लाम्चो अनुहार भएकी ती नानीको अनुहार कता चिनेजस्तो लाग्यो । कतै पहिले भेटेको जस्तो लाग्यो । कुनै सूक्ष्म आत्मीयता भएको अनुभव भयो । मलाई उनले आकर्षण गरिन् कि उनको उपस्थितिले भन्ने कुरामा दुबिधा थियो । जे होस् उनको उपस्थितिले मनमा संगीत भरेझैँ लाग्यो एकाएक ।
गीत भर्न बाँकी रहेको मीठो संगीत । वरिपरि अरु पनि राम्रा युवतीहरु थिए । उनले नै किन आकर्षित गरिन् त ? यसको उत्तर अर्धचेतन मस्तिष्कको गहिराइमा होला ।
……
हेर्दा कम बोल्ने देखिन्थिन् ।
मास्कले मुख छोपेको थियो ।
नयनहरु आकर्षक नै देखिन्थे ।
त्यो पूर्ण अनुहार हेर्न मन लागिरहेको थियो । त्यो मास्क पछाडिको अनुहारको कल्पना गर्दै थिएँ । अनायास बोल्न मन लाग्यो । केही कुराकानी गर्ने प्रयास गर्दै थिएँ । तर अन्जान मान्छेसँग नबोल्ने कसम नै खाएकी हुन् जस्तो भान भयो । वातावरण सहज बनाउने प्रयास गर्दै थिएँ । अलि अलि बोल्दै थिइन् । उनलाई घुम्न मन पर्ने रहेछ । ट्रेकिङ आदिमा रुचि रहेछ । बेलाबेला मुसुमुसु हाँस्ने पनि गर्थिन् । ओठमा मुस्कान फिँजारिदा अझै राम्री देखिन्थिन् । अल्पभाषी हुनाले धेरै कुरा थाहा हुन सकेन । तर मेरो मनले केही कुराहरु आँकलन गरिसकेको थियो ।
ओहो!
मेरो फ्लाइट छुट्ने बेला भएछ । माइकिङ हुन्छ ” श्री एअर लाइन्सको उडान न. ६७८ बाट काठमाडौं तर्फको उडानको लागि पाल्नुहुन अनुरोध गरिन्छ । ”
उनको बुद्ध एयरको फ्लाइट रहेछ । हातमा समाइरहेको टिकेटबाट थाह पाएँ । मलाई भने बुद्ध एयरको टिकेट नकाटेकोमा पछुतो भइरहेको थियो । अझै केही ढिला भए त अझै खुसी हुने थिएँ त्यो बेलामा। यत्तिकै बोल्न गएकोमा उनले भने कस्तो पातकी केटा रहेछ भनेर सोचिन् होला ।
फोन नम्बर माग्नै आँटेको थिएँ । उनको मामा टुप्लुक्क आइपुगे! ” भान्जी । फ्लाइट हल्का ढिला हुने भयो । ” उनका मामा फिल्मको खलपात्रजस्तो महसुस भयो त्यो क्षण । तर गन्तव्य त एउटै हो भनेर मनलाई आफ्नै विचारले सुम्सुम्याउँछु । उतै फेरि भेटाउनेछु भन्ने आशा पलाउँछ।
बाइ बाइ पनि भन्न मन थिएन । फेरि भेट्ने जो इच्छा थियो । समयको इच्छाको अगाडि कसको के लाग्छ र !!
हगि?
मन नलागी नलागी म उठेर लाइनमा लामबद्ध भएँ । तर चुम्बकले तानेजस्तो म उनीतिर खिचिएको थिएँ । लाइनको पनि अन्तिममा बसेँ । कसैले ध्यान दिएर हेरेको भए लाग्थ्यो होला कि म जत्तिको धिरजवान मनुष्य नै छैन । वास्तवमा मेरा पाइला नै अघि सर्न कत्ति मानिरहेका थिएनन् ।
सिट न.०७ मा बसेँ । प्रिय अंक परेछ । कोभिडको भाइरस त्यहाँ भित्र हावामा छ कि भन्ने निकै डर थियो । हातमा स्यानिटाइजर खन्याएर हात धुने त बानी नै परिसकेछ। साइडमा बसेको केटाले भाइजर नलगाएकोमा खुब रिस उठिरहेको थियो । विमान परिचारिका पि पि ई लगाएर ओहरदोहोर गर्दै थिइन् । उसले नलगाएको भाइजर पनि लगाएको देखिन् जस्तो लाग्यो। केही नबोलेको हुनाले ।
उनलाई फेरि सम्झेँ । अनि रिस पनि शान्त भयो । एउटा मनोवाद सुरु भयो,” म यत्तिकै उनीसँग आकर्षित भएको हो । पहिले नभेटेको मान्छेसँग एक घण्टामा कसरी आकर्षण हुन सक्छ । समयले जम्काभेट त गरायो । तर फ्लाइट फरक परेर बाटो छुट्टिसक्यो । उनलाई म बाट भने उम्केको जस्तो भएको थियो । भेट गर्नमा कत्ति रुचि थिएन सायद …….. । “
विमान उड्ने वेला हल्का झड्का महसुस भयो । पहिले पहिले हुन्थेन त्यस्तो । तब ३५ मिनेटको यात्रा तय गर्नुपर्ने थियो । कोभिडले गर्दा विमानमा पानी र पि नट्स पनि बाँड्न वर्जित गरिएको रहेछ ।
“कस्तो न्यास्रो यात्रा । ” भनेर मनमनै सोच्दै थिएँ । भगवानले सुनेछन् सायद, विमान त हल्लिन पो थाल्यो । यात्रामा रस भर्नको लागि त्यो इच्छा त गरेको थिइन । विमान दायाँ बायाँ तल माथि हल्लेको हल्ली गर्छ । यस्तो लाग्यो कि त्यो आकाशको बाटोमा पनि खाल्डा रहेछन् । देवताहरुका कर्मचारीले बाटो बनाउँदा पनि घुस खाएछन् । कलियुगको आकाशमा खोट नहोला भन्न पनि सकिएन ।
……..
मौसम खराबीका कारण विमान हल्लिन गएकोले धैर्य धारण गर्न माइकिङ भयो । सबैजनाको मुटुले ठाउँ छोडिसकेको थियो । आकाशमा भित्ता र भिर नहुनाले विमान कतै ठोक्किन्न भनेर मनलाई शान्त बनाउन खोजेँ । तर पहाडहरु सम्झेर मनको शान्ती भङ्ग भयो । वास्तवमा भन्नुपर्दा त्यस्तो झड्का कहिल्यै महसुस भएको थिएन । सायद जीवनको अन्तिम नै त्यही दिन थियो कि भन्ने धेरैलाई पक्कै लागेको होला । मलाई पनि त्यस्तै लाग्यो । विमानबाट त कोही पनि सकुशल फर्किन्न भन्ने समाचारहरु झल्यास्स याद हुँदा मनोभाव अझै कहालीलाग्दो भयो ।
त्यो डर मैले पहिले कहिल्यै महसुस गरेको थिइन । मनुष्यलाई मृत्युसँगको डर हुन्छ कि जीवनका इच्छाका पोकाहरु पूरा नहोलान् भन्ने डर हुन्छ भन्ने नजिकबाट अनुभुति गर्दै थिएँ । मलाई केवल याद आयो ” परिवार र उनको ।
मात्रै एक घण्टा भेट भएको र म प्रति अनुराग नभएको मान्छे त्यो बेलामा सम्झिनु अनौठो लाग्यो ।” शिवोहम् ” जप्दै थिएँ ।
सम्बन्धको सम्बन्ध अजिबै हुनेरहेछ है!
१५ मिनेटजतिमा विमान शान्त भयो । बाहिर बादलहरु पनि शान्त भएछन् । पवन पनि शान्त भएछ सायद । त्यो समयमा मनमा विचारहरुका धेरै ज्वारभाटाहरु उम्रिएका थिए । आफूभित्र नियाल्न मनुष्यलाई परिस्थितिले धकेल्नुपर्ने रहेछ ।
नभए त शरीर र मस्तिष्क अहम् को थुप्रो त हो ।
उनलाई पनि बेला बेला सम्झिरहेँ ।
बिर्सिन खोजेँ ।
तर , जबर्जस्ति बिर्सिन सकिन ।
यादहरुलाई जबर्जस्ती सम्झिन वा बिर्सन नसकिने रहेछ।
त्यसैले मनमा आउने विचार रोक्ने प्रयास गरिन ।
……
उनलाई मैले चिनेको पनि थिइन । एक पटक साक्षात्कार गरेको भरमा मलाई उनको अनुभुतीले सताइरहेको थियो । काउकुती पनि लगाइरहेको थियो । अनौठो काउकुती । हर्मोनशास्त्रलाई दोष दिन मन लाग्यो । तर मनमा कुविचार भने कत्ति थिएनन् ।
विमानबाट ओर्लिएपछि यताउता हेरेँ । उनी कतै देखिन्छिन् कि भन्ने आशमा । सुस्त सुस्त गेट बाहिर निस्किँदै थिएँ । सरसामान लिने ठाउँमा एक नजर लगाएँ । तर उनले कतै दर्शन दिइनन् । त्यसपछि ट्याक्सी खोजेँ । भैरहवामा जस्तै पानी सिम सिम परिरहेकै थियो । भैरहवा र काठमाडौंको पानी पार्ने बादल दौँतरी रहेछन् कि !
ट्याक्सीमा बसेपछि घरमा कल गर्छु भनेको घरबाट नै कल आयो । सकुशल भएकोमा ढुक्क हुनुभयो । आकाशको रौद्र स्वरुपसँग डर हुने नै भयो । मोबाइलले आफू निभ्न लागेको चेतावनी दिन लागिसकेको थियो । नेट चलाउन आफ्नै कोठामा पुगेपछि सहज हुने भयो ।
उनले त मलाई खोज्ने सम्भावना न्यून थियो । तैपनी एक पटक त सम्झिन् कि भनेर मनको एउटा कुनाले आश भने गरेको थियो । आफुले चाहेजस्तो आंकलन गर्नु मानवीय स्वाभाव नै हो । उनलाई त्यो जबर्जस्तीको सानो भेटले जबर्जस्त असर त पक्कै पारेन होला । तर त्यो पुर्व अनुमान गरेर बस्नु निष्क्रियता हो भन्ने ठानेँ । उनको मनको कुराको अन्दाज गरेर फैसला मैले आफै किन गर्नु !
एक क्षण राम्रोसँग विचार गरेँ । उनलाई खोज्ने निर्णय गरेँ । कुनै कुरामा धेरै जोड गर्नु पर्यो भने सधैँ समयले न्याय गर्छ भनेर कुरा टार्दिने गर्थें । त्यो बेला भने मैले उनलाई खोजेर समयलाई न्याय गर्छु भन्ने लाग्यो । जीवनमा कसलाई भेटिन्छ भन्ने कुरा समयले निर्धारण गर्छ । तर जीवनमा को रहिरहन्छ भन्ने व्यवहारले निर्धारण गर्छ । त्यसैले मलाई अलि सक्रिय हुन मन लाग्यो ।
आफू भित्रको त्यो अनौठो काउकुतिलाई शान्त पार्नु थियो । कतै उनको मनमा पनि काउकुती लागेको भए भनेर कस्तो आशा गरेको मेरो मनले ! नलागेको भए पनि पछि आफैलाई देखेर प्रयास गरेकोमा खुसी नै लाग्नेछ भन्ने सोचेँ । त्यसैले धेरै महिनादेखि निष्क्रिय रहेको इन्स्टा खोलेँ । नाम त मैले टिकेटबाट सम्झिसकेको थिएँ । र “सर्च” गरेँ …… …..।
प्रेम बस्न कत्ति समय लाग्दैन रहेछ । केवल Resonance को आवस्यकता मात्रै हो ।
होइन होला त?
इन्स्टामा खोजी ।
मेरो मनले त उनलाई रोजिसकेको थियो । उनको खोजीकार्यका लागि भएको व्याकुलतालाई नै शब्दमा लेख्दा एक अनुचछेद बन्थ्यो होला । म सामाजिक संजाल मा खासै सकृय नरहेको कारण उनलाई भेटाउन मुस्किल हुने पक्का थियो ।
सायद भाग्यले साथ दिने सोचेको रहेछ ।
इन्स्टामा फेला पारेँ ।
उनलाई इन्स्टामा फेला त पारेँ । तर , इन्स्टाको प्रोफाइलको फोटो बाहेक अरु सबै हेर्ने अनुमति रहेनछ । सो अनुमतीको लागि उनलाई फलो गरेँ । अब अर्को व्याकुलता थपिएको थियो । के उनले स्विकार गर्लिन् त एक पटक मात्रै देखेको व्यक्तिको अनुरोधलाई ?
एकपटक देख्दैमा उनले रुचाउने संकेत देखेको थिइन । उनले फलो गर्लिन् भन्ने झिनो आशमा राती सुत्ने बेलामा हेरेँ । केही उत्तर आएको रहेनछ। मेरो झिनो आश पनि मनको आशाको त्यन्द्रोमा अड्किन पुग्यो । जुन टुट्ने पक्कै थियो ।
अर्को दिन पनि उनको सम्झना आइरहयो । यसरी मलाई कसैले प्रभाव पारेको थिएन । त्यो प्रभाव सामान्य आकर्षणभन्दा बढी नै थियो । मेरो मनले त उनलाई रोजिसकेको थियो । उनको बानी व्यवहार आदि केही थाहा थिएन । तर म आकर्षित भइसकेको थिएँ ।
प्रार्थना गरेको थिएँ कि उनी सबै कुराले अब्बल होउन्। रुपले मात्रै त धोका दिन सक्छ । तर मलाई यति बिश्वास थियो । उनी मलाई मन पर्नेछिन्।
किनभने उनको नजिक हुँदा त्यो आभास भएको थियो । विवेकले सोचेको होइन ।
विशुद्ध मनले खेलेको लिला थियो ।
त्यो नदेखिने अब्स्ट्राक्ट मनलाई कसरी प्रमाण माग्नु ? कसरी ठिक बेठिकको तराजुमा तौलिनु ?
कसरी निर्दोष र अपराधी छुट्याउने विवेकको अदालतमा उभ्याउनु ?
यसैलाई सायद Intuition भनिन्छ होला ।
……..
अब त उनले मेरो अनुरोध स्विकार गर्दिनन् भन्ने मलाई निस्चित भइसकेको थियो । निराशामा मान्छेले सोमरसको साहारा लिन्छ । तर , म अझै निराश हुन चाहन्नथेँ । त्यसमाथि सोमरसले मलाई आकर्षण गर्दैन । कहिले कसो सानो पलले फरक पार्ने रहेछ । राती नौ बजेतिर ipad हेर्दा उनले फलो व्याक गरेकी रहेछिन् । कुरा कसरी सुरु गर्ने भनेर म अल्ल्मल्ल परेको थिएँ । तर पनि आफै सुरु नगरी नहुने मैले बुझिसकेको थिएँ ।
कहिले कहिले त कसले सुरु गर्ने भन्ने हुन्छ नि !
तर , यहाँ मैले नै सुरु गर्नुपर्ने थियो । आशामा जिन्दगी अडिएको हुन्छ । उनलाई ” Hi” भनेर लेखी पठाउँछु । त्यसपछि सोध्छु ” के तिमी कसैसँग आफ्नो मनलाई बाँधेकी छौ ? “
कसैको बाँधिएको मन फुकेर बसाइ सर्न निकै गार्हो हुन्छ । स्वतस्फूर्त मन आफै नसरेको अवस्थामा भने त्यो सर्दैन पनि । त्यसको उत्तर “छैन ” भनेर मेरो मनले चिताएको थियो । नभए त कुरा सुरु गर्दा नै ब्रेक लगाउन पर्थ्यो । केही घण्टापछि आशा गरे अनुसार उनले कसैसँग हाल मन नबाँधिएको स्पस्ट गरिन्। त्यसपछी अलि अलि कुरा गर्न खोजेँ । के कुरा गर्दा ठिक हुने के गर्दा बेठिक हुने भन्ने हेक्का भने मलाई हुँदैन ।
साथिहरु भन्ने गर्छन् – ” केटीसँग कुरा गर्दा तौलेर गर्नपर्छ । आफुलाई कहिल्यै अनुभव थिएन । युद्धमा लड्न गएको पनि त हैन पाइला फुकि फुकि कदम चाल्नुपर्ने । बम नै त नपड्केला ! जे होस् । कुरा गर्न मन लागिरहन्छ । आफ्नै मनलाई निमोठेर फाल्दिम् जस्तो पनि हुन्छ बेला बेला । एकतर्फी रुचि स्पस्ट हुन कति नै समय लाग्छ र ! बालुवामा पानी हाल्दा हराउने मात्रै हो । उनीसँगको कुराकानी पनि त्यस्तै थियो ।
उनलाई कत्ति रुचि थिएन भनेर मैले राम्ररी बुझेको थिएँ । मेसेजको रेप्लाई गर्ने तरिका, समय र प्रसङ्गबाट जाँगर भएको नभएको थाहा पाउन धेरै गार्हो हुन्न । उनले रुचि विना नै मेसेज रिप्लाइ गरेको महसुस हुन्थ्यो। त्यसैले मलाई पनि यो फिल्मी कुराको पछाडि लाग्न मन हुँदैन । फिल्ममा मात्रै होला एक पटक देखेरै माया बस्ने । माया त परको कुरा हो । यहाँ त नैसर्गिक आकर्षण सम्म एकतर्फी थियो । उनको बानी नै त्यस्तै होला भनेर कुरा गरिरहन्छु । ………
मनले उनलाई रोजिसकेकोले होला घमन्डीको उपमा दिन मन हुन्न । प्रमाणविनाको विश्वास परमात्मामा गरिन्छ । त्यस्तै मलाई पनि समयमा विस्वास थियो । समयले भेट गराउनु अकारण भने पक्कै नहोला भन्ने आफ्नै सिर्जित बिश्वास ।
म उनको मेसेज कुरेर बस्थेँ।
तर , उनले मेरो मेसेज कहिल्यै कुरिनन् ।
म बेरोजगार ।
उनी रोजगार ।
उनी रोजगारमा भएर होला भनेर चित्त बुझाएँ । सानो सानो कुराले चित्त बुझाउने कस्तो नराम्रो बानी मेरो । यस्तो बानी नभएको भए म उनको बाटो हेरेर बस्दिनथेँ होला!
एक दिन उनको फोन नम्बर माग्ने मन भयो ।
के थाहा !
फोनमा कुरा गर्ने वातावरण मिल्यो भने “कनेक्सन” बन्थ्यो कि ।
झिनो आश भएपनि म फोन नम्बर मागेँ । उनले सोझै अस्विकार गरिन् । उनीसँग पहिलो पटक मेरो चित्त हल्का भारी भयो । मैले फोन गरेर उपद्रो गर्ने पनि होइन । न त उनलाई दु:ख दिने नै नियत थियो । असल नियतमा कसैले शंका गर्दा चित्त भारी हुन्छ भन्थे ।
हो रहेछ ।
अनुभवले सिकाउँछ भन्थे!
हो नै रहेछ!
…….
कुटिल नियतले गरेका क्रियाकलाप पो कृत्रिम हुन्छ ।
चित्त भारी हुँदैन ।
बरु ,
ईर्ष्यालु हुन्छ ।
कार्यसिद्धि मात्रै मुख्य उद्धेश्य हुन्छ ।
म त मनमा हरि राखेको व्यक्ति ।
त्यसैले म कुरा नगर्ने निर्णय गर्छु । मेरो मनको हितका लागि सोच्छु उनी घमन्डी नै रहिछिन् कि । इगो शान्त नगरे मन बिरामी पर्छ । त्यसैले जो समयको इच्छा भनेर कुरा नगर्ने निर्णय गरेँ । मेरो आफैमाथि विस्वास उड्न खोजेको थियो । प्रमाणविना कसैमाथि आफ्नो मन बिसाउन नहुने रहेछ । मनमा काउकुती लाग्नबाट रोक्न पर्ने रहेछ ।
पख्नुस् त!
मेरो मनमा यस्तो कुरा आउँदै गर्दा उता इन्स्टामा उनको नम्बर आइसकेछ ।
अचम्मै भएँ!
मनमनै सोचेँ ,
मनले खाएको मान्छेलाई समयले जुरायो भने त्यो सबैभन्दा भाग्यमानी व्यक्ति हो ।
शिष्टाचार र मनको खेल
कसैले आफुलाई वास्ता गरेको छैन भने कुरा गरिरहन मुनासिव हुँदैन । उनले पनि मलाई कत्ति वास्ता गरिनन्। फोन नम्बर सम्म दिन अप्ठ्यारो मान्नेसँग कुरा गर्ने मन त हुँदैन । सधैं आफै कुरा गर्ने प्रयास गर्नुले एकतर्फी प्रयासको विफलता जनाउँछ । त्यसैले म लागिरहन मन हुँदैन । उनको भाग्यमा अरु नै कसैको स्थान लेखिएको हुनपर्छ भनेर मेसेज गरिन्।
उनीसँग नबोल्ने निश्चय दृढ भयो मेरो । दुई दिन बित्यो, उनको कुनै खबर आएन । समय मिलेन भनेर सोच्ने हो भने सानो मेसेज गर्न कति नै समय लाग्ने थियो र ! वास्तविकतामा भन्नुपर्दा म कुनै प्राथमिकतामा परिन ।
…..
म पनि अब आफ्नो कामको सुरमा लागिसकेको थिएँ । मनमा विचार आयो ।
” कोही मान्छे किन हेर्दा मनले खान्छ तर व्यवहारमा मिल्दैन । व्यवहार कति राम्रो भएको मान्छे आकर्षक नहुने हुन सक्छ । मन नै वैरी हो । आकर्षण नभएसम्म मन पग्लिन्न । मनको आकर्षण हुन लामो समय साथमा संगत गर्नुपर्छ होला। त्यसपछि न कपाल न शरीर न अनुहार। वास्तवमा व्यवहारको मात्रै हिसाब हुन्छ । यो हिसाब गर्न दिमागले कहिल्यै नछोड्ने नै होला है । ”
तर यहाँ उनको मनलाई कसरी वैरी भन्नू ।
चित्त नबुझे बुझेन ।
आफूलाई वास्ता नगर्ने केटीलाई धेरै फकाउने प्रयास गर्नु खासमा बुद्धिमत्ता होइन। एक जना साथीले भनेको थियो ” जीवनमा आफूलाई मन पर्ने साथी भएन भने आफूलाई मन पराउनेसँग जीवनको भविष्यको कल्पना गर्नु उत्तम हुन्छ। किनभने उसले आफूलाई कहिल्यै छोड्दैन । ”
हुन त यस्ता दर्शनका कुराले जीवन संतोषी बनाउने मात्रै त हो ।
मैले फकाउने प्रयास गर्न चाहिन । त्यो म जान्दिन ।
र , उनी पनि त्यस्तो क्रियाकलाप रुचाउने जस्तो लागेन मलाई । समयले इच्छा नगरेको कुरामा जोड गर्नु खास राम्रो कुरा होइन । आफ्ना विचारहरुलाई मन्थन गरेर चित्त शुद्ध गर्ने प्रयासमा लागेँ । अर्थात् उनका अवशेष मेटाउनमा लागेँ ।
मैले त उनीप्रति आफ्नो केही भावना राखेको थिएँ। त्यसलाई ” Interest ” अर्थात रुचि भन्छन् होला । मप्रति उनको रुचि नहुनाले मैले उनलाई सम्पर्क नगर्ने निश्चय गरेँ । मप्रति रुचि राख्ने कतै त हुनैपर्छ नि। कसैको जिवनमा धेरै ठोक्किन जानु Noise हो । म सधैँ music मात्रै हुने प्रयास गर्छु । कसैप्रति अनुराग हुनु नहुनु व्यक्तिगत कुरा हो । उनको अनुरागको पात्र अझै समयले जुराइसकेको छैन । पुनः समयलाई जिम्मामा छोड्छु ।
उनले सम्पर्क गर्न नखोज्नु मलाई ” Noise” मानेकी हुनुपर्छ । यति विचार मन्थन गरेपछि मेरो मन हल्का भयो । फेरि चङ्गा भएँ । केही गुमेको महसुस भएन । “शिवोहम शिवोहम्”
……
एक जना साथीलाई पनि आफ्नो कुरा सुनाएँ । ऊ सधैं यति सकारात्मक हुन्छ कि मन खुसी बनाउने उपाय खोज्न उसलाई भेट्न पर्छ । नभन्दै उसले भन्यो ” समय मिलेन होला। फोन नलाग्ने भएर पो हो कि । आशा राख्नुपर्छ । ”
मैले भनेँ – ” कुरा त सहि हो । तर आशा भनेको मनको भ्रम हो। भ्रम कुनै वेलामा सुखदायक पनि हुन्छ । र ,
दु:खद पनि हुन सक्छ । ”
हाम्रो कुरा नभएको तेस्रो दिन भयो। मलाई उनको आश थिएन । तर खै के अचम्म भएछ -” तपाईं राम्रो लेख्नुहुँदो रहेछ भनेर मेसेज गरेकी रहेछिन्। “तपाइँको इन्स्टा स्टक गरेकी थिएँ । ” भनेर ठट्यौली भावमा पनि लेखेकी रहेछिन्। म बडो कन्फुजनमा परेँ ।
भर्सेला परोस् । एकतर्फी अनुरागलाई सफल पार्ने प्रयास गर्दिन । उनले यत्तिकै पठाएको मेसेज हो । म पुनः आफ्नै मनको खेलमा पर्दिन भनेर दृढ भएँ । तर त्यान्द्रोजतिको खुशी नलागी पनि बस्न सकिन । उनको थोरै भएपनि भावना नमिसिएको मेसेज थियो । पठाइहालम् न भनेर पठाएको मेसेज थियो भनेर थाहा हुँदाहुँदै पनि मलाई किन अलि अलि खुसी लागेको ? मनको खेलमा म हारेँ ।
केही खुसी,
केही शिष्टाचार,
केही बिश्वास आदि कुरालाई केलाउँदा शिष्टाचारलाई भएपनि धन्यवाद भनेर भन्ने निर्णय गरेँ ।
“Thank you”.
छुट्नै लागेको सम्बन्ध पनि सामान्य व्यवहारको मसिनो तारले बाँधिरहेको हुन सक्छ ।
(लेखको सुरुवातमै भनेथेँ – कथा लामो छ, धैर्य गर्नुहोला । यो पहिलो भागमा यत्तिनै । दोस्रो भागको प्रतीक्षा गर्नुस् है ।)