दृश्य १ :
स्वास्थ्य जीवन बिमा गरेको ८ महिना भयो । अहिले काठमाण्डौँ घुम्न आएको थिएँ, यहाँ आएको समयमा होल बडि चेकअप गराएर डोल्पा आउने सोचेको फेरि यता रिफर चाहिने रहेछ, अब आफ्नै मान्छे डाक्टर रहेछौ, आज बेलुकासम्म जसरी पनि एउटा रिफर लेखेर पठाईदिनु पर्यो । मैले बिमांक नम्बर फेसबुक म्यासेन्जरमा म्यासेज गर्देको छु है ।
दृश्य २ :
डाक्टर बाबु , हेर्नुस् न । नेपालगंज जानुपर्ने काम थियो तर एअरपोर्टमा टिकट पाउनै मुस्किल छ । ३ दिनसम्म कुरे टिकट पाइन अब तपाँईले अस्पतालबाट बिरामी भनेर रिफर कागज बनाईदिनुपर्यो र त्यति कागज भए सहजै टिकट पाईने रहेछ । त्यसैले रिफर कागज बनाईदिनुपर्यो । लौन बाबु यति गरिदिनुपर्यो
दृश्य ३ :
डाक्टर साब नमस्ते, म यहि जिल्ला मै एक सरकारी कार्यालयमा काम गर्छु । काठमाण्डौँसम्म जाने आफ्नै काम थियो, तर उपचारका लागि भनेर जाँदा आउदाँ अफिसले प्लेन भाडा दिन्छ । मलाई बेला बेला टाउको झन्काउँछ, अब हजुरले टाउकोको सिटि स्कान गर्नुपर्छ जुन यहाँ छैन भनेर एउटा रिफर लेखिदिनु पर्यो ।
दृश्य ४ :
घरमा १२ वर्षको छोरा छ । सानोमा लडेर दहिने हात भाँचिएको अहिले पनि हात बांगो नै छ । त्यसैले उसलाई अपांगको सिफारिस बनाईदिनु पर्यो र वडाले पनि अपांगताको “क” अथवा “ख” वर्ग ल्याएर आउ नेपालगंज वा काठमाण्डौँमा निशुल्क पढ्ने व्यवस्था गरिदिन्छु भनेका छन् । अब हाम्रै ठाँउको डाक्टर रहेछौँ यति सिफारिस गरिदिनु पर्यो डाक्टर बाबू!
दृश्य ५ :
सशस्त्र द्धन्दका क्रममा राज्य पक्षबाट मेरो बुवालाई मारे, अहिले सरकारले द्धन्द पिडित घाईते अपाँगलाई राहत दिने भनेको छ । मेरो ढाड दुख्ने समस्या छ र यो दायाँ घुडाँमा दाग छ । त्यसलाई गोलिको छर्रा लागेको भनेर सिफारिस गरिदिनु पर्यो ।
…….
जिल्ला अस्पताल डोल्पामा आएपछि थाहा पाएँ , मान्छेको जिन्दगीमा एउटा सिफारिस अनि रिफरको महत्व कति रहेछ भनेर । सामान्यतया रिफर गर्नु एक चिकित्सकका लागि सजिलो विषय पक्कै होइन, कस्तो बिरामि कति खेर, कुन अवस्थामा र कस्तो बेला रिफर गर्ने भन्ने बारे सोचेर मात्र रिफर गर्नुपर्छ हचुवाको भरमा रिफर गर्दा बिरामीको डाक्टर लगायत स्वास्थ्यकर्मीमाथिको विश्वासमा कमि आउने कुरा त छँदै छ । तर, बिडम्बना यहाँ रिफर त टिकट काट्नदेखि टिकटको पैसा माग्न सम्म प्रयोग गरिनेरहेछ ।
अझ , नेपाल सरकारले जनताहरु पैसा अभावकै कारण उपचार बाट बञ्चीत नहोउन् भनेर लागु गरेको स्वास्थ्य जीवन कार्यक्रमको दुरुपयोग केहि ब्याक्तिबाट भएको देख्दा अझ नरमाईलो लाग्ने रहेछ ।
सामान्यतया आफुले बिमा लागुगर्दा कम्तिमा ६ महिना सुचारु हुन समय लाग्ने , विमा गर्दा आफुले पहिलो सम्पर्क तोकेको अस्पतालमा नगई सोझै अर्को ठाँउमा गएर उपचार गराउन पाँईदैन ।
यसको कारण भनेको सरकारको रिफरल सिस्टमलाई बलियो राख्नको लागि हो ।
तर , बिमीतले आफुअनुकुल परिभाषित गरेर सेवा लिन खोज्दा जिल्लामा अनावश्यक बिमाको रिफरका लागि दबाव आउने, अझ स्थानिय डाक्टर भएपछि त जता बाट पनि नाता जोडिने अनि यस्तै काम गर्न अनावश्यक दबाव आइ आफ्नो “मुल कर्तव्य” नै ओझेलमा आर्नेरहेछ ।
यतिका दबाब-प्रभावका बीचपनि एउटा कुराले आफैंलाई सन्तुष्टि दिन्छ ।
हामीले आजको मितिसम्म अनावश्यक रिफर चाहि गरेको छैनौँ ।
हो , डोल्पा जिल्ला अस्पतालमा भनेको जति सेवा सुविधा छैन। सुधार्न सकिने ठाउँ कयौं होलान् !
तर यसको मतलब अस्पतालमा आउनेबित्तिकै अनावश्यक जाँचका लागि जिल्लामा छैन भन्दैमा रिफर त गर्न भएन नि ! तर , बिडम्बना नै मान्नुपर्छ!
यति सामान्य कुरा पनि नबुझेर काठमाण्डौँ घुम्न आउँदा पैसा यतिकै जान्छ बिमामा त्यसैले जाँच गराईहालौ र रिफर मगाई हालौँ भन्ने सोच रहिआएको छ ।
यो सोच मुख्यतः पढेलेखेका ,कर्मचारीमै बढी छ ।
एकातिर सामान्य औसधिसम्म नपाएर त्यहाँका भुइँमान्छ्ले दुख पाइरहने तर अलिकति बुझेकाहरुले चाहिँ कसरी कानुनको छिद्रता प्रयोग गरेर ब्याक्तिगत लाभ लिन सकिन्छ भन्ने “घातक” सोच रहिआएको छ ।
यस्तो सोच रहुन्जेल राज्यले गरेको लगानी अनि राखेको उद्धेश्य कहिल्यै पुरा हुँदैन ।
यति मात्र होइन, पछिल्लो पटक अस्पतालमा रिफर माग्न आउने बिरामीभन्दा पनि प्लेनका टिकट नपाएका आफुलाई चलाख सम्झने यात्रुहरु देख्दा अझ हाँसो उठेर आउछ । जिल्ला प्रशासन कार्यालय अनि हवाई कम्पनीहरुले दुर्गमका बिरामीलाई सहज होस भनेर बिरामीको लागि प्रत्येक फ्लाईटमा १ वा २ सिट राखेका हुन्छन् तर त्यहि सिटको लागि हामीले रिफर जस्तो संबेदनसिल कागज सहज ढँगले अनावश्यक बनाईदिन हाम्रो नैतिकताले दिँदैन भन्ने समेत नबुझेर आउने त्यस्तालाई सम्झाएर पठाउदाँ आज फेरि अर्को अनैतिक काम गर्नबाट जोगिए भन्ने भाव आउँछ ।
सँगै,
हामी पढेलेखेकामा जरा गाडेर बसेको यस्तो घातक सोचबाट अन्यलाइ कस्तो प्रभाव पर्नसक्छ भन्ने क्य्रा नबुझेको देख्दा अचम्मै लाग्छ ।

सोच्नुस् त,
त्यस्ता रिफर दिएर भोलि कुनै सिरियस बिरामीले सिट नपाएमा त्यसको जिम्मेवार कसले लिन्छ?
यति सामान्य कुरासमेत हेक्का नराख्नेलाई सम्झाएर पठाउनुको “समय खेर” त छँदैछ । तरपनी, बिरामीको रिफर माग्न आउन सद्धे व्यक्तिहरुलाई कडाई गर्न अझैपनि जिल्ला अस्पताल सक्षम छ भन्ने बुझाउन बडो रमाइलो लाग्छ ओपिडिमा । 
…….
अनावश्यक रिफर माग्ने चलन डोल्पामा व्याप्त कहिलेदेखि भयो त्यो त थाहा छैन ।
तर , यसप्रकारको रिफरलाई निस्तेज पार्न जिल्ला अस्पताल हिजो पनि लागि रहेको थियो र आज पनि उस्तै गरि लागि रहेको छ ।
आज यसै लेखमार्फत पनि भनिहाल्छु – कृपया यसरी अनावश्यक रुपमा स्वास्थ्य जीवन बिमा देखि टिकटको पैसा अफिसबाट माग्नकै लागि रिफर माग्न आएर आफै लज्जित हुने काम नगर्नु होला । आवश्यक परेको खण्डमा हामी डाक्टर लगायत स्वास्थ्यकर्मिले समयमै रिफर गरिहाल्छौँ तर अनावश्यक दबाबमा आएर हामीबाट हुँदैन ।
…….
रिफरभन्दा पनि भयंकर डरलाग्दो ट्रेण्ड चाहि अपांगको सिफारिस माग्न आउनेहरुको छ ।
अपांगको परिभाषामा को को पर्छन र कस्तो पर्छन भन्ने समेत हेक्का नराख्नेहरुको ठुलै जमात रहेछ ।
हात सामान्य बांगो छ तर दैनिक जीवन यापनमा कुनै समस्या छैन उसैलाई “क” अथवा “ख” वर्गको सिफारिस बनाईदिनु पर्ने !
काममा जादाँ लडेर तिघ्राको हड्डी भाँचिएर रड हालेको तर उसलाई पनि अपाँगको सिफारिस चाहियो रे!
यो त ठिक हुने समस्या हो अनि यसले तपाईको दैनिक जीवन यापनमा कुनै असर पार्दैन भने किन अपांग बन्नु हुन्छ भन्ने प्रश्न गर्नेबित्तिकै जवाफ आउँछ –
” लोकसेवाका परीक्षामा कोटा पाईन्छ। त्यसैले बनाईदिनुहोस” !
म गम खान्छु – यस्तो जवाफ दिइरहँदा कुनै हीनताबोध-ग्लानी- अफ्ट्यारो लाग्दैन होला ?
तर,बुझ्नेले कुरा नबुझेपछी के अर्थ!

नचाँहिदो रुपमा अपांगको सिफारिस गर्दिन भनेर बस्दा अनावश्यक दबाव पनि हुने, अझ स्थानीय डाक्टरलाई त झनै गार्हो हुने ।
अंकल-अण्टी , दाई – भाई , हजुरबुवा- हजुरआमा यति मात्र नभएर आमा – बुवाको नाम लगेर समेत सिफारिस माग गर्ने हरुको सँख्या अझै धेरै!
शारिरिक समस्या हेरेर नचाहिनेलाई सिफारिस नदिदाँ आफ्नै मान्छे भएर पनि यति नगर्ने भनेर आउने आक्षेप भोग्नु पर्दा को पीडाले कहिलेकाहीँ नराम्ररी पिरोल्ने रहेछ ।
…….
डोल्पा हो , यहाँ जे पनि हुन्छ र चिनजानकै भरमा जस्तो काम पनि बन्छ भन्ने सोचाईकै कारण हामी पछाडी छौँ भन्ने सोच नहराएसम्म अनावश्यक रुपमा यसरी सिफारिस माग्ने आँट कहिल्यै मेटिँदैन ।
कामगर्ने बेलामा औँलामा चोट लागेका देखि लोकसेवाका परीक्षाकै लागि कान सुन्दैन भनेर अपाँगको सिफारिस माग्न आउने हरुकै कारण बास्तविक अपाँगहरुले ठाँउ नपाएका होलान् ।
यस्तै कार्यलाई रोक्न हाल जिल्ला अस्पतालबाट दिईने अपांगको वर्गीकरण कार्यलाई कडाई गरिएको छ ।
बिडम्बना, जति नै कढाइ गरेपनी केही स्थानीय तहका पदाधिकारी लगायतकाले अपांगको सिफारिस गरेर पठाईदिनु भन्ने सिफारिसका कारण त्यस्ता व्यक्तिलाई सम्झाउन धौ धौ हुन्छ ।
यसरी जथाभाबी अपांगको सिफारिस लाई बन्द गर्न स्थानीय तहले नै कडाई गरिदिने हो भने हामीलाई पनि सहज हुनेथियो ।
……
सामान्यतया राज्यले अपांग, अशक्क्त, द्वन्द्वपीडित लगायत लाई सहज होस भनेर राज्यले दिने सुविधामा अन्यले आँखा गाड्दा बास्तबिक पीडितहरु आज पनि पछाडि नै परेका छन् । द्वन्द्वपीडितका नाममा पनि अनावश्यक सिफारिस माग्नेको संख्या पनि उस्तै छ ।
सजिलै उपचार हुने अझ भनौँ, रोग र समस्याको पुर्ण निदान हुन्छ भनेर भन्दा पनि नबुझेर हो या अझ भनौ बुझ पचाएर अपांगको सिफारिस माग्नेहरु पनि भेटिन्छन् ओपिडीमा । विशेष त हाडजोर्नी भाँचिएकाहरुमा उपचार भन्दा पनि पहिले अपांगको सिफारिस बनाउने सोचले गज्जबसँग जरा गाडेको छ ।
……
जे होस जिल्लामा काम गर्न आएदेखि विरामिको सेवामा तल्लिन हाम्रा हातहरु बेला मौकामा यस्तै अनावश्यक सिफारिसको झमेलामा पर्नु पदर्छ अझ स्थानिय डाक्टर भएको हिसाबमा यस्तै सामान्य लाग्ने तर गहिरा बिषयमा नचाहिदो दबाब र आग्रह हुने रहेछन् । तसर्थ यस्ता झमेला बाट अझ भनौ नचाहिदो सिफारिस लाई रोक्न आफ्नो ईथिक्स चाहि भुल्न हुन्न रहेछ भन्ने ज्ञान यहि आएर प्राप्त गरेको छु ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय