हरेक नारी “आमा” भन्ने प्रक्रियामा जाँदै गर्दा – एउटी छोरी श्रीमती बन्छिन्, बुहारी बन्छिन् , र, आमा बन्ने प्रक्रियामा अघि बढ्दै जाने प्राकृतिक नियम नै हुन्छ ।
आमा बन्ने प्रक्रियामा हरेक नारीले शारीरिक, मानसिक, पारिवारिक परिवर्तन आफ्नो वरपर र आफ्ना शरीर र शरीरसँग को बनावटमा परिवर्तन धेरै हुने गर्छन् । यस्तो परिवर्तनमा परिवारको साथ, श्रीमान्को साथ र सँगसंगै त्यो नौ महिना एउटा भरपर्दो माध्यम बच्चाको लागि र आफ्नो ज्यानको सुरक्षाका लागि चिकित्सक आवश्यक पर्ने हुन्छ ।

“डा वन्दना” एक यस्तो नाम हो, जसलाई चितवन लगायतका क्षेत्रका हरेक घर परिवार, नारी अनि आमा बन्नेहरुले खोज्दै खोज्दै आउने गर्छन किनकि उहाँ एउटा परिवार, एउटा आमा बन्न लागेकी नारीको मन मस्तिष्कमा रहनु भएको छ  ।
कारण , उहाँको बिरामीप्रतिको लगाव, प्रेम स्नेह अनि सबै भन्दा ठूलो कुरो हो “विश्वास ” अनि भरोसा ।
……
डा वन्दनाको विषयमा आज मलाई लेख्न मन लाग्यो ! म एक युवा चिकित्सक इन्टर्नसिप कै क्रममा करिब २ महिना स्त्री प्रसूति विभागमा काम गरेँ त्यति बेला मैले धेरै कुरा सिक्न त मौका पाएँ । अझ नजिकबाट हाम्रो प्रिय म्याडम डा वन्दना खनाल न्यौपानेको कार्य गर्न शैली, बिरामी प्रतिको लगाव, स्वभावलाई झन् नजिकबाट नियाल्न पनि पाएँ ।

हरेक व्यक्तिमा बिम्ब प्रतिबिम्ब हुने गर्छन् । र, जिन्दगी “भोगाइ” पनि यसैमा त छ ।
डा वन्दना र उहाँको प्रतिबिम्ब र बिम्ब केलाउने हो भने उहाँ साँच्चै जन्मिनु भएको नै चिकित्सक बन्न कै लागि हो जस्तो लाग्छ । पोखरामा जन्मिएर पोखरामै आफ्नो एमबिबिएस मणिपाल मेडीकल कलेजमा अध्ययन गरी, इंडियाको केएमसी कलेजबाट एम डी गर्नु भएको डा वन्दना करिब ८-१० वर्ष देखि चितवनलाई आफ्नो कर्मथलो बनाएर , चितवनका धेरै आमाहरुको सारथी बन्नु भएको छ ।

हाम्रो नेपाली समाजमा महिलाले अझैपनि आफ्नो व्यथा, रोग नभनी लुकाउने, स्त्रीमा लाग्ने यौन रोग लुकाएर राख्ने, आफ्नै श्रीमानलाई भन्न डराउने, भएका शारीरिक परिवर्तनका बारेमा खुलेर आफ्ना कुरा राख्न निकै कठिन नै रहेको छ ।
यस्तो बाध्यात्मक अवस्थामा बिरामी अस्पताल आएर डा वन्दनासँग भेट्दा आफैं परिवार जसरी सहायता दिने, बोली मिठो अनि प्रेम र स्नेहले अपनत्व गराइदिने व्यवहारका कारण ले होला, धेरै महिलाहरु सहज नै डा वन्दनालाई खोज्दै हिड्ने गरेको पाईन्छ ।
एक स्त्रीले गर्भधारण गरेदेखि पृथ्बीमा नयाँ फूल नआउन्जेल उ पटक पटक गरी कम्तीमा पनि ५ पटक चिकित्सक लाई भेट्नै पर्ने हुन्छ, जसकारणले पनि आफ्नो चिकित्सक कस्तो छ भन्ने मौका बारम्बारको भेट ले देखाउने गरेको हुन्छ ।
नजिक बाट चिन्न र चिनाउने मौका हुन्छ । प्रत्येक भेटमा मन्द मुस्कान सहितको सेवा, मिठो बोली अनि प्रष्ट बिरामीलाई दिने उपचार पद्धति र संगसंगै उपाय र निर्क्यौल गर्ने खरो शैली कै कारण डा वन्दना एक अग्रणी चिकित्सकका रूपमा स्थापित हुनुहुन्छ ।
उहाँमा एक असल चिकित्सकमा हुनु पर्ने गुण छन् भन्ने कुरा बिरामीले उपचार पश्चात् देखाउने सन्तुष्टिले पनि देखाउँछ ।  समस्या लिएर आएका बिरामीलाई आत्मसन्तुष्टिको वातावरण प्रदान गर्ने, हरेक रोगका निवारणका बारेमा प्रष्ट रुपमा बोल्ड भएर परिवार र बिरामीलाई राखिदिने, समस्या र चुनौतीका बारेमा अडिग र रणनीतिक तयार गरिहाल्ने र सुल्लझाउने र आँट र आत्मविश्वास मज्जैले नै देख्न पाइन्छ ।

प्रसूति र स्त्री रोग विशेषज्ञको जीवनमा उत्साहजनक हुन्छ, जसरी बच्चा र आमाको दुई जीवनसँग सम्बन्धित छ।

अब एउटा आफ्नै भोगाइको कुरा सुहाउँछु ।
एकदिन,
बिहान करिब ७:३० को समय एकजना स्त्री आमा बन्नु भएको थियो, बेलुका अप्रेशन गरेर तल वार्डमा राखिएको थियो । बिहानी ७:३० बजे तिर डा वन्दना बिहानै बिरामी हेर्ने आउनु भो, बच्चा दूध खाइरहेको थियो, दूध चुसाउन छोडेर घाउ हेर्न लाग्दा बच्चा रुन थाल्यो  । अनि आमाको काखबाट बच्चा लिएर करिब ५-८ मिनेट डा वन्दना ले बच्चा लाई खेलाउनु भो, एकछिन बच्चालाई खुसी पार्न कोशिस गर्नु भो , बच्चा शान्त हुँदै गइन्!
म त्यति बेला म्याडमको त्यो क्रियाकलाप अनि त्यो बच्चा, आमाको अनुहार हेर्दै बसिरहेको थिएँ , आमाको अनुहारमा एक किसिमको आँखा थिए जसमा डा वन्दना लाई हेरिरहेका थिए । प्रस्टसंग देख्न सकिन्थ्यो, त्यो आँखामा प्रेम, स्नहे अनि आफ्नोपन अनि आहा उहाँ जस्तोको चिकित्सक भन्ने एक खाले पक्का मनमा थियो , जुन पृष्ठभूमिमा बस्ने हामीले देखिरहेका थियौं ।
सायद त्यति बेला भनिन्छ नि , जन्मिँदै गर्दा आमाको पेटबाट जमीनमा आउन अन्तिम १०-सेन्टिमिटर यात्रा मानिसले आफ्नो जीवनमा गरेको सबैभन्दा कठिन यात्रा मध्ये एक हो। यो यात्रालाई सहज अनि विश्वासिलो बनाउन एक प्रसूति चिकित्सकले सबै अनुभव र सीपलाई माध्यम बनाएको हुन्छ जसकारण पनि उसको परिवार, उ आफैं आमा सधैं भरी एक परिवार को नजिक रहेको हुने गर्छन ।।
…….
स्त्री रोग र प्रसूतिशास्त्र एउटै सिक्काका दुई पाटा हुन्, जबकि पहिलोलाई विज्ञान, पछिल्लोलाई कला मानिन्छ।
डा वन्दना यो दुवै कलामा निपुण हुनहुन्छ जस्तो लाग्छ, उहाँ सँग काम गर्नेहरू सुरुवाती चरणमा गर्हो नै महसुस हुन्छ किन कि उहाँ बिरामी प्रति वफादार, लगाव अनि मेहनत , परिश्रम जुन सुरुवाती चरण मा उहाँ सँग संगै पाइला चाल्न हम्मे हम्मे नै पर्ने हुन्छ, तर हामी जस्तो भर्खर चिकित्सकीय जीवनमा पाइला चाल्न खोज्ने चिकित्सकले उहाँबाट एउटा ऊर्जा, बोल्ने र बिरामीलाई माया गर्ने कौशलता सिक्न जरुरी छ । चिकित्सक बन्नु नै अरूको घरमा हाँसो, खुसी दिन कै लागि हो ।

डा वन्दनाको अर्को पक्ष जुन हामी युवा चिकित्सक र आम मानिसले पनि सिक्नु पर्ने छ ।

उहाँ प्रकृति प्रेमी हुनहुन्छ । काम, समय, अनि एकदम टाइम टेबलमा बस्नै पर्ने पेशा चिकित्सक पेशामा अनेकौं दुःख आइरहन्छन् भन्ने त हरकोहीलाई थाहै छ!  अझ स्त्री प्रसूति रोग विशेषज्ञकोमा काम गर्दा हरेक पल्ट खुसी मात्र हुने गर्दैन, प्रसूति पीडामा गुज्रिरहेका नारीहरुको त्यो चिच्याहट, त्यो दुखाइ प्रतक्ष्यरूपमा देख्नु नै छ!
दिनदिनै ।
सँगसँगै हरेक बच्चा राम्रो नै जन्मन्छन् भन्ने छैन  ।
हाम्रो जस्तो देशमा कैयौं बच्चा पेटमै खेर गएपछि आउँछन्, कैयौं अस्पताल आउँदै गर्दा बाटोमै साल अड्किएर बाँच्दैन, कैयौं बच्चाहरु जन्मिँदा खोट भएर पनि जन्मन सक्छन् । यो सबै कुरो देख्दा आफैं एक नारीलाई हुने मनोभावना, पीडाले पक्कै पनि सताउने गर्छन, जसकारण सुख अनि दुःख लाई समेटेर आफ्ना अन्तर्मनको कथाहरू लाई सुनाउन छुट्टी मिलाएर हिमाली भेगमा ट्रेकिङ , हाईकिङहरु फुर्सद मिलाएर हिडी हाल्नुहुन्छ डा वन्दना ।
प्रकृतिको नव पालुवालाई पस्कने र आफू पनि प्रकृति, हिमाल पहाडसँग सधैं जोडिरहेन् मन भइरहने भएर पनि होला डा वन्दनामा प्राकृतिक रूपमै जीवनका अवयवहरुमा बिरामीका मनमा मन मस्तिष्कमा रहन सक्नु भएको छ |

हाम्रो नेपाली समाजमा एउटा सफल र अनुकरणीय योगदान प्रधान गर्ने व्यक्तिको पछाडि पक्कै पनि कसैको लामो साथ, सहयोग, प्रेरणा अनि सम्बन्ध हुने गर्दछ ।
डा वन्दनाको जीवनसाथी डा गौरव न्यौपाने पनि एक कुशल, ख्याति प्राप्त हाडजोर्नी रोग विशेषज्ञको रूपमै चितवनमा रहेर काम गरिरहनु भएको छ ।
हामी पृष्ठभूमिमा बसेर अवलोकन गर्दै गर्दा यो दुई जोडी र चिकित्सकीय पेशाको सुरुवात अवस्थाबाट नै एक अर्का का पूरक रूपमा रहेर काम गरेकै कारण नै आज यो दुई दम्पती आफ्नो आफ्नो क्षत्रेमा निपुण , ख्यातिप्राप्त र आदर्श जोडीको रुपमा स्थापित भएको छ र हामी जस्ता नवयुवाहरूले दुवै को जीवनबाट धेरै प्रेरणा लिन सक्छौ ।

जसकारणले नै हामी जस्ता कैयौं चिकित्सकले डा वन्दनाबाट सिक्ने कुरा धेरै छन्,
प्रेरित हुने आधारहरू धेरै छन्।
सबै जना उहाँ जस्तै हुनु भन्दिन तर उहाँको गुण र प्रकृति हामी जस्तो युवा चिकित्सकले लिनै पर्ने हुन्छ ।

मैले लेखेका यो हरफहरू कुनै व्यक्तिको बयान र बखान को लागि नभई, अग्रणी चिकित्सकहरु आजका दिनसम्म कसरी स्थापित हुनु भाे काम र काम गर्ने आधारहरू मात्र केलाउने कोसिस गरेको छु।
र , कैयौं यस्ता कुराहरू डा वन्दनाबाट सिक्ने कोसिस र भोलि का दिनमा आफ्नो चिकित्सकीय यात्रामा अवलम्बन गर्ने नै छु ।
डा बन्दनालाइ देख्दा कहिलेकाहीँ आफैंसँग सोच्छु-” चुलो चौकाको अँध्यारो चौघेराभन्दा बाहिर निस्कन निरुत्साहित गर्ने समाजमा “अपबाद” बनेर आफ्नो स्वयंको मिहिनेतमा एक मुकाम हासिल गरेपछी उहाँ  अहिले आफूले भोगेका समस्या अहिलेका डाक्टरी पढ्दै गरेका पुस्ताले भोग्न नपरोस् भनेर शिक्षण पेसा अनि आफूले हासिल गरेको शिक्षाबाट अत्याधिक लाभ बिरामीले पाउन् भनेर अस्पताल कक्षमा उहाँको  दैनिकी बितिरहन्छ!
त्यो डाक्टरी पढ्ने बाल्यकालको सपनादेखि अहिले हजारौंको बिश्वास जितिसकेको यो बर्तमान यथार्थलाई बाहिरबाट देख्दा त हामीलाई कति खुसी लाग्छ, डा बन्दना स्वयंलाई फर्केर त्यो दिनदेखी आजसम्म सम्झिल्याउँदा कस्तो आत्मसन्तुष्टि मिल्छ होला है!
अरु त के भन्न सक्छु र,
हृदय देखिनै नमन म्याडम डा वन्दना खनाल न्यौपाने प्रति ।
….
(आफ्नो नाम उल्लेख गर्न नरुचाउने लेखक चितवन मेडिकल कलेजबाट एमबिबिएस पास गरेका विद्यार्थी हुन् )।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय