
बालबालिकामा देखिने मिर्गीको सबै भन्दा बढी देखिएको पहिलो कारण हो ‘फेब्राइल सिजर’ ।
प्राय ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकामा ज्वरो आउँदा बच्चाको जिउ काम्ने, आँखा माथि फर्काउने, जिउ कडा हुने, दाँत बाँध्ने, हातगोडा सबै कम्पन हुने, मुखबाट फिँज निकाल्ने, दिसापिसाब छोड्ने, बेहोस हुने समस्या देखिन सक्छ । यस्तो समस्या एकपटक मात्र देखिने वा दोहोरिन पनि सक्छ । बिरामीलाई यस्तो लक्षण केही मिनेटदेखि १०–१५ मिनेटसम्म देखापर्न सक्छ । शरीरको सम्पूर्ण भागहरु कम्पन भएको हुन्छ र २४ घण्टा भित्रमा दोहोरिदैन र यसलाई सिम्पल फेब्राइल सिजर भनिन्छ ।
तर,
कहिलेकाहीँ शरीरको कुनै एक भाग मात्र काम्ने हुन्छ अनि २४ घन्टामा पटक–पटक काम्ने र १५ मिनेटभन्दा बढी समयसम्म यस्तो समस्या देखिन सक्छ । यसलाई चाहिँ ‘कम्प्लेक्स फेब्राइल सिजर’ भनिन्छ । फेब्राइल सीजरको लक्षण छारेरोगको जस्तो हुने भए पनि यो छारेरोग भने होइन । जिउ काम्न बन्द भएपछि केही समय बच्चा सुस्त रहन सक्छ। र बच्चा तुरन्तै सामान्य अवस्थामा फर्किने गर्दछ । करिब ३ देखि ५ प्रतिशत बच्चा हरुमा बिशेषगरी सिम्पल फेब्राइल सीजर देखिने गरेको तथ्यांक् छ । त्यस्तै करिब १२ देखी १८ महीना को उमेर समुहमा यो समस्या धेरै भेटिएको छ ।
यो समस्या बारम्बार बल्झिने पनि हुन सक्छ ।
विशेषगरि तल उल्लेखित यस्तो अवस्थामा समस्या पटक–पटक बल्झिने सम्भावना हुन्छः
– १ वर्षभन्दा कम उमेरका बालबालिका ।
– ज्वरो आएको २४ घन्टाभित्र भएमा ।
– १००.४-१०२.२ फरेनहाइट ज्वरो आएमा ।
– घरपरिवारमा अरू कसैलाई यस्तो समस्या भएमा ।
– घरपरिवारमा छारेरोगको समस्या भएमा ।
– डे केयरमा बच्चा भएमा ।
– पुरुष बच्चा भएमा ।
– कम्प्लेक्स फेब्राइल सिजर भएकोमा ।
– रगतमा सोडियमको मात्र कम भएको अवस्थामा ।
माथि उल्लेखित जोखिमको कुनै पनि अवस्था नभएमा यो रोग बल्झिने सम्भावना १२ प्रतिशत मात्र हुन्छ । त्यसैगरी, माथिका कुनै पनि तीनवटा समस्या रहेमा दोहोरिने जोखिम ७३ देखि शतप्रतिशतसम्म हुन्छ ।
सिम्पल फेब्राइल सिजर मात्रै भयो भने १% मा पछी गएर छारे रोग देखिन सक्छ भने पटक पटक सिम्पल फेब्राइल सिजर भयो भने ४ % मा हुन सक्छ ।
त्यस्तै, शरीरको एकापट्टीको मात्रै भाग कापेंको कम्प्लेक्स फेब्राइल सिजर भएमा २९% मा सम्भावना हुन्छ भने जन्मजात दिमागी बिकास मा समस्या रहेछ भने ३३% मा पछी गएर छारे रोग हुन सक्छ ।
अभिभावकहरुले ध्यान दिनु पर्ने कुराहरु :
– अभिभावकहरु नअत्तालिने ।
– बच्चालाई सुरक्षित ठाउँमा कोल्टे फर्काएर राख्ने ।
– बच्चाको मुखमा केही नघुसार्ने । औँला घुसार्दा औँला टोकिने सम्भावना हुन्छ भने अन्य चिज राख्दा दाँत भाँचिने सम्भावना हुन्छ ।
– सीजर नरोकिँदासम्म पानी वा औषधि खुवाउने कोशिस गर्नु हुँदैन ।यसो गर्दा सर्किने सम्भावना हुन्छ ।
– ज्वरो धेरै नबढोस् भनेर सिटामोल दिन सकिन्छ। सिटामोल दिँदा पनि ज्वरो ओर्लिएन भने पानीपट्टि गर्न सकिन्छ ।
र मुख्य जान्नैपर्ने कुरा, जतिसक्दो चाँडो नजिकैको अस्पतालमा लैजाने ।
एक पटक फेब्राइल सीजर भएको बच्चालाई अर्कोपटक ज्वरो आउँदा फेरि सीजर आउन सक्छ। त्यसैले ज्वरो आएको बेला सचेत रहनु पर्छ ।
ज्वरोसँगै कम्पन हुने वा बेहोस हुने अवस्था फेब्राइल सिजर नै हो वा अरू कुनै गम्भीर रोगको लक्षण हो भन्ने निक्र्योल चिकित्सकले मात्र गर्न सक्छन् । त्यही भएर कम्पन रोकिएको अवस्थामा पनि एकपटक नजिकैको अस्पतालमा बच्चालाई लगेर परीक्षण गराउनुपर्छ । अस्पतालमा यसको सही पहिचान र ज्वरो आएको कारण पत्ता लाग्छ । सामान्यतः पहिलो २४ घन्टा निगरानीमा राखेर हेर्नुपर्ने हुन्छ । अवस्था हेरेर चिकित्सकको सल्लाहबमोजिम केही परीक्षण गर्नुपर्छ ।
(पेशाले बालरोग विशेषज्ञ डाक्टर अहिले कान्ति बाल अस्पतालमा कार्यरत छन्) ।