हिजो भर्खरै एमडी स्पेसलिस्ट डाक्टरहरुको नेपाल मेडिकल काउन्सिल परिक्षामा उत्तीर्ण भएका नयाँ विशेषज्ञ डाक्टरहरुलाई बधाई दिदैं नेपालको स्वास्थ्यको वास्तविक मैदानमा स्वागत गरेको थिएँ!
आजै प्रख्यात हास्य कलाकारबाट यस्तो पोस्ट पढ्न पाइयो।
हाँस्य कलाकार मनोज गजुरेलले “नि:शुल्क स्वास्थ्य जाँच भनेर डाक्टर नि:शुल्क शर्माले सद्धे मान्छेको प्रेसर कम बढी देखाएर, सुगर कम बढी देखाएर आफ्नो अस्पतालमा बोलाएर थुप्रै जाँच गराएर, नभएको रोग देखाएर पैसा लुट्छन्” भन्ने अर्थको फेसबुक पोस्ट गर्नुभएको रहेछ। उहाँले प्रेसर, सुगर नाप्ने मेसिनमै शंका गर्नुभएको छ, जाँच्ने डाक्टरको नियतमै शंका गर्नुभएको छ।
हुन त “हँसी मजाकमा भनेको हो, ‘सिरियस्ली’ नलिनु न” भन्ने कुरा आउँला।
अझ,हाँस्य कलाकारले भनेका!
तर ,
यो कुराले हाम्रो समाजको सोचलाई प्रतिविम्बीत गरेको छ।
यस्तै समयसमयमा आफू भित्र उकुसमुकुस भएका बिचार/बिकार हरु पोखिने त हुन् !

यसको दुइटा पाटा छन्।
एउटा विरामी, सेवाग्राही वा जनताको तर्फको पाटो हो ।
अर्को स्वास्थ्यकर्मी तर्फको पाटो ।
अब,
विरामी, सेवाग्राही तर्फको पाटो हेरौं।
“डाक्टरहरुले लुट्छन्। सामान्य विरामी लगेर गयो, हजारौँको जाँच गराउछन्। हिंडेर गएको विरामीलाई आइसीयुमा राखिदिन्छन्, दिनकै हजारौँको औषधी चलाऊछन्। मरेको मान्छेलाई भेन्टिलेटरमा राख्छन्। किड्नी निकालेर बेच्छन्। पैसा लुट्न बसेका हुन्छन्।“
हिजोआज धेरैको यस्तै सोच भएको पाउँछु। प्रख्यात कलाकारको फेसबुक पोस्टले पनि यस्तै आशय दियो, धेरैले यसमा सही जनाए।
के साँच्चै डाक्टरहरुले लुट्छन्? नचाहिदो जाँच गराउछन्?
एउटा उदाहरण हेरौं है।
एक जना विरामीको कुरा-
“हल्का टाउको दुखेर लोकल फार्मेसीमा प्रेसर जचाउदा अली बढी रहेछ, डाक्टरलाई देखाउनु भनेर पठाएपछी ७५० रुप्पेको टिकट काटेर लाइनमा कुरेर डाक्टरलाई देखाइयो। डाक्टरले फेरी प्रेसर नापे, बढी नै रहेछ भनेर यो जाँच गराएर रिपोर्ट लिएर आउनु भनेर पठाए। जाँचको टिकट काट्न काउन्टरमा गएको ४ हजार भयो रे। धन्नै बेहोस भएको। जाबो प्रेसर बढेर जाँदा नि कती धेरै जाँच गराएको हो, खुरुक्क प्रेसरको औषधी नदिएर। के के को जाँच रहेछ भनेर काउन्टरमा सोधेको, “रगत, पिसाब जाँच, किड्नी, कोलेस्ट्रोल, मुटुको इसीजी जाँच, छातीको एक्सरे सबैको छ” रे। हैन के सारो लुट्ने हो के। अनी म फरक्क फर्किएर घर नजिकैको फार्मेसीबाट अली ठीक्क ठीक्कको प्रेसरको औषधी दिनुस् त, त्यही खान्छु भनेर मागे, जाबो २-३ सय रुप्पे पर्‍यो। अहिले त्यही खाँदैछु, प्रेसर घटिरछ क्यारे। डाक्टरहरुलाई देखाउनै हुन्न, मौका पाए कि लुटिहाल्छन्।“
अब भन्नुहोस् के ती डाक्टरले लुट्न खोजेका हुन्?
प्रेसर जाँच्न आको, खुरुक्क प्रेसरको औषधी मात्र नलेखेर नानाभाँती जाँच गराएर के डाक्टरले विरामीलाई ‘हार्ट अट्याक’ दिन खोजेका हुन्?
अध्ययन अनुसन्धान र मेडिकल विज्ञानको कुरा गर्ने हो भने प्रेसर बढेको विरामीको सम्पूर्ण समस्या सुनेर के कारणले प्रेसर बढेको हुनसक्छ र प्रेसर बढेर केही जटिलता देखिएको छ छैन भनेर थाहा पाउनका लागि रगतका विभिन्न जाँचहरु जस्तै जसले म्रिगौलाको अवस्था कस्तो छ, रगतमा बोसोको मात्रा कस्तो छ, पिसाबको जाँच, मुटुको जाँच, छातीको एक्सरे आदी गराएर त्यसको आधारमा प्रेसरका औषधी चलाऊनुपर्ने भए चलाऊनु, नभए जीवनशैली परिवर्तन गर्न सल्लाह दिनु भनेर पढाईएको, सिकाइएको हुन्छ। ती डाक्टरले पनि आफ्नो त्यही ज्ञानको प्रयोग गरेका हुन्। विरामीको ढाड सेक्नलाई चाहिने नचाहिने जाँच लेखेका हैनन्।
के विकसित देशमा पनि यसरी नै भएभरको जाँच गराउछन्?
यो भन्दा बढी गराउछन् र राम्रो प्राक्टिस गर्ने हो भने, विरामीको रोग, समस्याको राम्रो पहिचान गर्ने हो भने, अन्तराष्ट्रिय निर्देशिका अनुसार उपचार गर्ने हो भने जाँचहरु धेरै गराउनुपर्ने हुन्छ, जाँचहरुमा धेरै खर्च हुन्छ। तर विदेशमा त “डाक्टरले लुट्यो, पैसाको लागि विरामीको ढाड सेक्यो” भनेको कहिल्यै सुनिदैन त?
विदेशमा विरामीको जाँच, उपचारमा हुने धेरै जसो खर्च स्वास्थ्य बीमाले तिर्छ, जुन धेरै देशमा सरकारी हुन्छ। अर्थात तपाईंले सरकारलाई कर बुझाउनुहुन्छ, सरकारले त्यही करबाट उठेको पैसाको केही हिस्सा स्वास्थ्य सेवा दिने सरकारी संस्था सुधार्न, औषधी उपलब्ध गराउन, जाँचहरुमा, स्वास्थ्यकर्मीलाई तलब दिन, समग्रमा जनतालाई स्तरिय स्वास्थ्य सेवा दिनमा खर्च गर्छ।
तर हाम्रो देशमा के हुन्छ?
सरकारी स्वास्थ्य संस्थाहरुको स्थिती दयनीय छ। पालो पाउनै गार्हो, डाक्टर भेट्नै गार्हो, औषधी पाउनै गार्हो।
अनी प्राइभेटमा गयो, उपचार, जाँच, औषधी सबैको खर्च विरामीले आफ्नो गोजीबाट तिर्नुपर्ने हुन्छ, त्यसैले उसलाई सार्है महंगो लाग्छ। हुन त अहिले नेपालमा पनि स्वास्थ्य बीमा गरिन थालिएको छ तर सरकारले गर्ने बीमा भन्दा यो केही फरक छ। यही बीमाको सेवामा पनि धेरै सुधार हुन बाँकी नै छ।
औषधी भन्ने कुरा “त्यो के बाट बनेको हुन्छ, कसरी काम गर्छ, के के साइड इफेक्ट हुनसक्छ, कती डोजमा खाने” सबै जानेको पढेको डाक्टरले चलाऊने कुरा हो। विकसित देशमा यही कुरा बुझेर नै जथाभावी, विना डाक्टरको प्रेस्क्रिप्सन किराना पसलमा चना, भट्मास बेचेको जस्तो औषधी बेच्न पाइँदैन।
अनी अर्को कुरा ,
औषधी मात्रै उपचार हैन, आफ्नो समस्याको बारेमा बुझ्नु, औषधी विना कसरी नियन्त्रण गर्न सकिन्छ,
बानी व्यवहारमा के के परिवर्तन गर्नुपर्ने हुन्छ,
उपचार नभएमा के के जटिलता हुनसक्छ,
उपचार प्रकृयाको के के असर हुनसक्छ,
आदी सम्पूर्ण थाहा पाएर निर्णय लिने कुरा पनि महत्वपूर्ण हुन्।
डाक्टर तर्फको पाटो पनि हेरौं।
मेडिकल विज्ञान भनेको समय अनुसार परिवर्तन भईरहेको हुन्छ, हिजोको उपचार पद्दती आज फेरीसकेको हुन्छ। त्यसैले बेलाबेलामा अपडेट भईरहनुपर्छ। आफूले पढेको, जानेको, पछील्ला अध्ययन अनुसन्धानहरुले प्रमाणित गरेको विधी अनुसार स्वास्थ्य सेवा दिन खोज्दा विरामीको गोजीमै प्वाल पर्ने अवस्था आउने डर हुन्छ, अनी त्यसमाथी विरामी र जनताले लुट्यो, ठग्यो भन्ने दोष लगाउने डर त झन छँदैछ।
आइसीयु बसेको विरामीको दिनदिनैको अवस्था के छ भनेर रगत जाँच, एक्सरे, इसीजी गर्‍यो भने भित्र राख्या छ, दिनदिनै जाँच्या जाँच्यै छ, पैसा लुट्या लुट्यै छ भनेर बाहिर गफ हुन थाल्छ। विरामी निको भए त त्यती सार्हो कुरा काट्दैनन्, विरामी निको भएन, रिफर गर्नुपर्‍यो, विरामीको मृत्‍यु भयो भने त पैसा ठग्यो, लुट्यो, मान्छे नि मार्यो भनेर उपद्रो शुरु हुन्छ।
के साँच्चै डाक्टरहरुले मेसिन बिगारेर, रिपोर्ट बिगारेर, डर देखाएर पैसा लुट्छन् त?
कसैलाई शंका लाग्छ भने त्यही भन्ने हो।
मान्छेलाई शंका लाग्न पाईन्छ।
तर ,शंका लाग्दैमा त्यस्तै गरेका हुन्छन् भन्ने प्रमाणित भने हुँदैन। स्तरीय स्वास्थ्य सेवा दिने हो भने, अन्तराष्ट्रिय निर्देशिकाहरु अनुसार उपचार प्रकृया गर्ने हो भने त्यो महंगो हुन्छ नै। किनकी औषधी भनेको चना भट्मास जसरी औषधी पसलबाट जथाभावी किनेर खाने चीज हैन।
फेरी नि:शुल्क शिविर भनेको सिमित जाँच, डाक्टरी परामर्श नि:शुल्क भनेको हो, सबै उपचार त्यही नै नि:शुल्क गर्ने भनेको हैन। समस्या देखिएको छ भने थाहा हुन्छ, थप जाँच गर्नुपर्ने, उपचार प्रकृया कसरी अघी बढ्ने बारे सल्लाह हुन्छ। अगाडिको उपचार गर्ने नगर्नेमा विरामी आफ्नै निर्णय हुन्छ।
एक जना विरामी छाती पोलेको छ, ग्यास्टिकले होला भनेर आउनुभो। हुनसक्छ भनेर विरामी जाँच गरें, प्रेसर दुवै हातमा २३०/१२० रहेछ। यो त धेरै बढी प्रेसर भयो, मुटुको समस्या हुनसक्छ, रगत, किड्नी, कोलेस्ट्रोलको जाँच गर्नुपर्छ, औषधी खानुपर्छ भनेको मात्र के थिएँ -जवाफ आइहाल्यो,
“अहिले नगराउने, प्रेसरको औषधी दिनुस्, अनी ग्यास्टिकको नि दिनुस् भन्नुभो। मैले सक्दो तरिकाबाट अवस्थाबारे बुझाउने प्रयास गरें र आफ्नो कर्तव्य सम्झेरै भनेँ
-“यती धेरै प्रेसर हुँदा त ICU/CCU मा राख्छ, सूईबाट औषधी चलाएर राख्छ , प्रेसरले हान्ने, पारालाइसिस हुने डर हुन्छ” ।
उहाँले “मेरो सरकारीमा बीमा छ, भोली त्यहीँ गएर देखाउँछु” भन्नुभो। मैले ओपिडी कार्डमा भएको, काउन्सेलिङ गरिएको सबै कुरा लेखिदिए र केही औषधी दिएर सकेसम्म छिटो जचाउन जानुस् भनेर पठाइदिएँ।
डाक्टरको काम विरामीलाई अवस्था अनुसारको सल्लाह दिने हो, त्यो अवलम्बन गर्ने नगर्ने विरामीको आफ्नो मर्जी हो। अझ नेपाल जस्तो देशमा जहाँ हरेक उपचारको खर्च विरामीको आफ्नै गोजीबाट जान्छ त्यस्तोमा विरामीका अनेकन समस्या हुनसक्छ। स्वास्थ्य समस्या ती समस्या भन्दा साना हुनसक्छन्, त्यसैले उपचार जाँच गराउने नगराउने जिम्मा विरामी र उनका आफन्तलाई नै दिनुपर्छ।
हुन त अती व्यापारीकरण भएको स्वास्थ्य क्षेत्रमा अन्य व्यापार व्यवसायमा झैं व्यवसाय बढाउनका लागि प्रचार प्रसारका विभिन्न उपाय, नाफा कमाउनका लागि विभिन्न उपाय नलगाउने हैनन्। सरकारले नै “व्यवसाय गर” भनेर सरकारी स्वास्थ्य संस्थालाई समय अनुसार सुधार नगरेर प्राइभेटलाई हुर्काउने बढाउने वातावरण दिएपछी यस्तो त हुनु नै थियो। तैपनी किड्नी चोरेर बेचेको, मरेको विरामीलाई भेन्टिलेटरमा राखेको, भएका मेसिन बिगारेर नभएका रोग देखाइ लुट्न खोजेको जस्ता काम चैं डाक्टरहरुले गरे जस्तो लाग्दैन।
हामी नि आखिर मान्छे नै हौं नि।
कुरा जती गरे त्यती लम्बिन्छ।
बाँकी कुरा पछी गरौंला, हाम्रो देशको स्वास्थ्य क्षेत्रको धरातल र जनताले हेर्ने नजरिया यही हो!
स्वागत छ नयाँ विशेषज्ञ चिकित्सकहरुलाई।
अहिलेलाई विदा।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय