
घडीमा ७ :३० बजेको रहेछ ।
निद्राबाट झसँग बिउँझीएछु म । बिहान अबेर भएको जस्तो लाग्यो । ड्युटिमा जान अबेर भएछ भनेर छिटोछिटो नित्यकर्म गरेर रेडी भएँ । जिउ पूरै भारी भएको अनुभव थियो । जाँगर रत्तिभर थिएन । शरीर तात्तिएको महसुस भएको थियो । निदार छाम्दा ज्वरो आउला जस्तो थियो। रुघाखोकी त महाराजगन्ज टिचिङ प्राङगण प्रबेश गरेको अर्को दिनबाट सुरु भएको थियो । खुट्टाका कुर्कुच्चा र पैतला हुर्किएका थिए । हल्का घुमाएको जस्तो पनि भएको थियो । जिउ पुरै लथ्रक्क परेको थियो।
यस्तो लागिरहेको थियो- “सुत्न पाएँ भने त कुम्भकर्णको ६ महिने रेकर्ड पनि पक्कै तोड्न सक्छु” ।
पहिले पहिले दिनभरी हिंडेर बेलुका घर पुग्दा हुन्थ्यो यस्तो । धेरै बर्षपछि बाल्यकालको झझल्को आयो । सदरमुकामबाट घर हिंडेका गोरेटा बाटा याद आए ।
आफ्नो यो डाक्टरी गोरेटोको पनि लामो बाटो अझै तय गर्न बाँकी रहेको यथार्थ पुन स्मरण भयो।
घर पुग्ने गोरेटो र डाक्टरी गोरेटो उस्तै लाग्यो ।
दुबै सांघुरा अनि थकानपूर्ण यात्रा ।
फरक भन्नुपर्दा चाँही डाक्टरी यात्रा कतै टुङो नभएको । पढ्दै दुई तिहाइ उमेर बित्ने ।
एप्रोन लगाएर झ्याल लगाउँछु भनेर लागेको थिएँ । बाहिर हेर्दा त राती पर्न लागेको रहेछ । समयचक्रसँग म झुक्किएको रहेछु । अघिल्लो दिन बिहान ७ बजेदेखि त्यो दिनको ४:३० सम्मको गतिबिधी एकपछि अर्को सम्झना हुन थाल्यो । म त ड्युटिबाट कोठामा आएर बेडमा पल्टिएपछी दुई घण्टामा उठेको रहेछु । अब भोली ड्युटि खबर गरेर नजाने बिचार गरेको थिएँ । अनी फेरि सुत्ने प्रयास गरेँ। कुन दिनमा यो डाक्टरी बिधा पढ्न पुगिएछ भन्ने महसुस भएको थियो । त्यो रात एक ट्याब्लेट सिटामोल र सेट्रिजिनको शरणमा परियो। जे होस् केही काम गरेछ त्यसले । बिहान हल्का ठीक भएको थियो ।
भन्नुपर्दा ज्वरो आएनछ कस्सो । एक मनले त भर्सेला परोस् भनेर आराम गर्न मन लागेको पनि थियो।
……
पढेर कहिल्यै सकिने रहेनछ । ६ बर्षको एम बि बि एस पढेर तीन बर्ष दुर्गम जिल्लाहरुमा बितिसकेपछि नेपालको केन्द्र मानिने काठमाडौको महाराजगन्जमा एमडी अध्ययन गर्ने अवसर प्राप्त भयो । पढ्ने बानी पूरै मन्द भइसकेको थियो । प्रबेश परिक्षाको केही महिना पूर्व पढाइको गति तिब्र बढेको थियो । नाम निस्केपछि फेरि एक महिना ब्रेक लाग्यो । मस्तिका दिनहरु थिए ति । अब मस्तीका दिनहरु सकिदै छन र ब्यस्तताको जात्रा सुरु हुँदै छ भनेर रारासम्मको यात्राको समय जुराएको थिएँ ।
थाहा थियो, अबको ३ बर्षलाई घुम्ने ठाउँ भनेको अस्पातल परिसर मात्र पाइनेछ!
रेजिडेन्सी प्रबेश गरेको पहिलो दिनमा दिमाग पूरै रणभुल्लमा परेको थियो । गाँउबाट शहर प्रबेश गरेका सुरुका दिनहरु जस्ता ।
नयाँ ठाउँ नयाँ परिबेश ।
………
बिहानको ९ बजेको थियो। । कन्फरेन्स हलमा कुनै एउटा बिरामीको केसको बारेमा प्रस्तुत भैरहेको थियो । कता कता त्यो बातावरणमा पहिले कतै बसेको जस्तो लागिरहेको थियो । ड्युटी भएको डाक्टरले भर्ना गरिएको बिरामीका बारेमा बिस्तृत रुपमा बरिष्ठ डाक्टरहरु तथा तैनाथ सबै रेजिडेन्ट डाक्टरहरुलाई प्रस्तुत गर्नुपर्ने रहेछ । एकदम फरक महसुस हुँदै थियो । एकै दिनमा विद्यार्थी भएको अनुभव भएको थियो। सेतो कोट अर्थात् एप्रोन नलगाएको धेरै नै भएछ । जिल्लातिर काम गर्दा डाक्टर सजिलै चिनिने भएर नलगाउँदा फरक पर्थेन । करिब ४५ मिनेटमा त्यो प्रस्तुतिकरण सकिएको थियो। हामी पहिलो बर्षका रेजिडेन्टहरु सबै आइनपुगेकोले त्यो पहिलो दिन बिदा मिलेको थियो । प्रस्तुत गर्दै गरेका रेजिडेन्टको अनुहार हेर्दा दार्हीले लटरम्म ढाकेको ,फुर्सद नपाएको र आँखाका माथि तलका परेलाहरु टाँस्सिन खोजेको जस्तो देखिन्थ्यो । अब आफ्नो हालत पनि त्यस्तै हुनेवाला छ भनेर फिल्म हलतिर गएको थिएँ म त्यो दिन । त्यस्पछि अस्पतालको परिसरबाट बाहिर स्वतन्त्र कदम राख्ने सौभाग्य प्राप्त भएको छैन ।
बिहान ८ बजे वार्डमा पुगेको थिएँ । पहिलो औपचारिक दिन थियो त्यो । वरिपरी हेर्दा कुनै एउटा सरकारी अस्पतालको समुन्नत रुप जस्तो लागेको थियो । वार्डहरुको बारेमा केही थाहा हुने कुरा भएन । मैले चिनेको कोही पनि देखिन । त्यसैले बिधीपूर्बक बिरामीको बिहानी राउन्डमा सहभागी भएको थिएँ । वार्डमा धेरै जसो सोमरसको महिमाले पीडित बिरामी देखियो । त्यो दिन सिस्टम र ल्याब जाँचका कागजका बारेमा बुझ्दैमा बित्यो । अर्को दिन ड्युटी परेको थियो । जसलाई “माइनर” भनेर नामाकरन गरिने रहेछ ।
नामले “ माइनर ” राखेकोले हल्का किसिमको ड्युटी होला भन्ने अनुमान गरेको थिएँ । तर मेरो अनुमान पूरै गलत साबित हुने वाला रहेछ । ड्युटी डा हरि सँगै परेको थियो । हरी दाइसँग मेरो पहिलेदेखिको चिनाजानि थियो । ड्युटीको बारेमा एकदम बिस्तारका साथ भन्दै हुनुन्थ्यो ।
हरि दाइ बोलिले मिजासिला कामले पक्का ।
बिरामी त पक्कै दंग पर्दा हुन् । माइनर भनेको त वार्डमा कुद्ने काम रहेछ । कस्सो उकालो कुद्नु परेन ! आकाशबानीको पनि ब्यबस्था रहेछ । कतै भर्ना गरिएका बिरामीलाई समस्या परेमा कल आउने कि त ठाउँठाउमा राखिएका माइकबाट आवाज आउने रहेछ । मेरो फोनमा चार्ज धेरै टिक्दैन । सँगै ड्युटी भएकोले फोन सबै हरी दाइकोमा आइरहेको थियो । दाइ अगाडि अगाडि म पछाडि पछाडि कुदिरहेका थियौँ । त्यती धेरै फोन आएको देखेर नयाँ चार्ज टिक्ने मोबाइलको टड्कारो थियो मलाई अब ।
कतै के रगतको रिपोर्ट राम्रो आएन ।
कतै पोटासियम र सोडियम भन्ने रगतको रिपोर्ट धेरै बेसी धेरै कम ।
कतै बिरामीले नाकबाट पाइप निकाले ।
कतै बिरामीलाई ज्वरो आयो ।
कतै प्रेसर बढ्यो ।
आदि आदि ।
यो सबै दौडधुपले आफ्नै प्रेसर बढ्ने जस्तो थियो । त्यही नेफ्रो वार्डमा बसेर रिपोर्ट हेर्दै गरेको बेलामा ००१ भन्दै आकाशबानि भएको थियो ।
अर्थात्, तुरन्तै दौडिनुपर्ने सिरियस बिरामीको अवस्था हेर्न । त्यसपछि हस्याङ्फस्याङ गर्दै श्वासप्रश्वास रोगको वार्ड पुगेको थिएँ । सबै जम्मा भइसकेका थिए । हरी दाइ पहिल्यै पुगिसक्नभएको रहेछ ।
पहिलो ड्युटिमै बिरामीको मृत्युको सर्टिफिकेट बनाउन परेको थियो । यस्तै दौड गर्दा गर्दै २ बजिसकेको थियो शायद ।
शरीरले आराम खोजिराखेको थियो । ड्युटि रुममा गएर पल्टिएको थिएँ । जिउ पुरै दुखेको थियो । आँखा पोलेका थिए । आँखाले खबरदारी गर्दै थिए आरामको लागि । दिमागका कोशीकाले सोच्न बन्द गर्दै थिए । त्यसैले बिहान आफ्नो कोठामा गएर पल्टिन मन लागेको थियो । तर अर्को दिनको बिहानको राउन्ड बसेर काम सकेर जानुपर्ने रहेछ । राउन्डमा बिरामीको रोगका बारेमा छ्लफल हुने रहेछ । जे होस् आफ्नो हालत जस्तो भएपनि बिरामीको लागि भने राम्रै हुने जस्तो लाग्यो । तर आराम नपाएको दिमागले सोच्न भने भ्याउने रहेनछ । सुरुका दिन भएर होला । केही पनि मेसो पाइरहेको थिइन ।
यस्तो ड्युटि पुरै अबैज्ञानिक लागेको थियो । हरि दाइलाई देख्दा स्ट्यामिना प्रचुर भएको जस्तो लाग्यो । म भन्दा बढी दौडिएपनी हरि दाइमा थकान कम देखिन्थ्यो । शायद सबैलाई समयसङै बानी पर्ने होला । खुट्टाले कतै ठाउँ छोड्ने हो कि भन्ने डर पनि थियो । जिउ पुरै गलेको थियो । आरामदायी सोफामा अडेस लगाएर नदीको किनारामा बसेर प्रकृति नियालिरहेको सपना आए हुने जस्तो लागेको थियो । तर सपना सम्म डराएर भागिछन् शायद । बिहान ५ बजे उठ्दा सपना केही याद आएन । यो रेजिडेन्सीले मेरो स्ट्यामिना जाँच्न लागेको जस्तो लाग्यो । बिहान ८ बजेसम्म सुत्ने बानी परेकोमा एक्कासी २ ३ घण्टाको मात्र आरामले ३६ घण्टा धान्न त कठिन हुनेनै भयो । जम्माजम्मी ११ किलोमिटर हिँडेको कुरा स्मार्ट वाचले देखायो । त्यस्ता ११ किलोमिटर त पछि पछि दैनिकी नै बन्न पुगे । कस्तो सारो दौडेको भनेर आफैलाई देखेर अचम्म लाग्यो ।
कतिखेर त किन यो बिषय रोजिएछ भनेर दिक्क नलागेको पनि हैन ।
……
साथीहरुलाई फोन नगरेको धेरै भएछ । फोन गरेको पनि रिप्लाई गर्न बिर्सिएको रहेछ । आराम खानाभन्दा पनि महत्वपूर्ण भएको छ ! त्यो फोन र मेसेज त प्राथमिकतामा पुछरमा धकेलिएको हुन्छ । । मेसेन्जर आदिका मेसेजको रिप्लाई ३- ४ दिनमा मात्र दिँदा कस्तो मान्छे होला भन्दा हुन् । नदेखेसम्म धेरैले पत्यौन्नन् पनि । सबैलाई एमडि पढ्ने भनेको टेबुलमा किताब कपी राखेर कुर्सिमा बसेर क्लासमा पढाई हुन्छ भन्ने लाग्दो रहेछ ।
हुन पनि मेडिकल कलेज भनेपछी प्लस टु कलेजको जस्तै पढाई हो भन्ने छाप रहेछ सबैको लागि ।
हल्का मैलो सेतो कोटको दाहिने खल्तिमा एउटा नोट बुक, पेपर ,ह्याम्मर, टेप आदी र बाँया खल्तिमा सानो किताब वा ठुलो आकारको मोबाइल बोकेर घाँटीमा आला झुन्ड्याइ हिंडेका डाक्टरको क्लास भनेको बिरामी हेर्ने, ड्युटी गर्ने र बिरामीको रोगको बारेमा केस प्रस्तुती गर्ने हो । यो क्लासमा कुर्सी टेबलमा बसेर ४० मिनेटको क्लास हुँदैन । यसमा क्लास भनेको बिरामीको बेड, बिरामीको फाइल, बिरामिसँगको रोगको भलाकुसारी र एक आपसमा छलफल हो ।
भोली पुन: ड्युटिमै जानुपर्ने हुँदा कलम यत्तिमै बिसाउने अनुमती पाऊँ । धन्यवाद ।
उही
थकित रेजिडेन्ट(२०७५-०२-०४)
………
( भख्खरै चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षामा स्नातकोत्तर तर्फको नतिजा निकालेको छ ! अबको केही हप्तामा अस्पतालहरुले नयाँ रेजिडेन्ट डाक्टर पाँउछ । आफ्नो रेजिडेन्सिका सकसपुर्ण सुरुवाती दिनहरुलाइ सम्झँदै लेखक डा शम्भु खनालले यो लेख अब आउने रेजिडेन्ट हरुलाइ समर्पित गर्दै लेखेका हुन् )!