चितवन – उद्योग व्यवसाय गर्न ऋण पाइनु त सामान्य मानिन्छ। तर, यहाँ कपाल रोप्न पनि ऋणको व्यवस्था गरिएको छ । चितवन मेडिकल कलेज शिक्षण अस्पतालले कपाल रोप्न (प्रत्यारोपण गर्न) आउने सेवाग्राहीलाई ऋणको व्यवस्था गरेको हो।
अस्पतालले कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचार शुल्क किस्ताबन्दीमा तिर्न पाइने व्यवस्था गरेको छ। अस्पतालले सनराइज बैंकसँग सहकार्य गरेर किस्ताबन्दी सुविधा दिएको हो। 
कपाल प्रत्यारोपणलगायत कस्मेटिक उपचारका लागि आउने सेवाग्राहीलाई किस्ताबन्दीमा शुल्क तिर्ने व्यवस्था मिलाइएको अस्पतालको डर्माटोलोजी विभागका व्यवस्थापन प्रमुख कृतिस्मा अर्यालले बताइन्। 

बैंकले २५ हजारदेखि दुई लाख रुपैयाँसम्म धितोबिना यस्तो ऋण शून्य व्याजदरमा उपलब्ध गराउने उनको भनाइ छ।
अठार महिनासम्म किस्तामा तिर्न मिल्ने ऋणका लागि आयस्रोत भने खुलाउनुपर्ने जनाइएको छ।
लक्जरी सुविधा भएकाले एकैपटक शुल्क तिर्न गाह्रो हुनेलाई लक्षित गरेर ऋणको व्यवस्था गरिएको उनको भनाइ छ। सेवा लिन आउने सेवाग्राहीलाई आवश्यक कागजपत्र बनाउन अस्पतालबाटै सहयोग गरिनेसमेत जनाइएको छ। 

अस्पतालको डर्माटोलोजी विभागमा कपाल प्रत्यारोपणका साथै अनुहारको चाउरीपन हटाउने, छालामा चमक ल्याउने, चाया, पोतो हटाउने, डण्डीफोरलगायतका दाग, धब्बा हटाउने सेवा छन् । यी सबै सेवाको शुल्क किस्ताबन्दीमा तिर्न मिल्ने उनले बताइन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय