रसुवा जिल्ला अस्पतालमा दरबन्दी अनुसारको स्वास्थ्यकर्मी नहुँदा सेवा लिन आउनेले सास्ती ब्यहोर्नुपरेको छ ।
जिल्लाको अधिकांश भेगको जनताले सेवा लिने यस १५ बेडको जिल्ला अस्पतालमा जम्मा दुई जना डाक्टरको स्थायी दरबन्दी रहिआएको छ ।
अहिले त्यही जनशक्तिपनि नहुँदा बिगत डेढ महिनादेखी दुई छात्रवृत्तिका करार चिकित्सकले सम्हालिरहेका छन् ।
दसौं तहको नभए कम्तीमा ९ औं तहको विशेषज्ञ चिकित्सक अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट हुनुपर्ने नियममा भएतापनी ७ औं तहको स्वास्थ्य शिक्षा अधिकृतलाई निमित्त मेसुको जिम्मेवारी दिएर राखिएको छ। जिल्ला स्वास्थ्यसँगै अस्पताल हेर्ने एकैजना हुँदा दैनिक कामकारबाहीमा प्रभावित हुँदै आएको छ ।
दुई डाक्टर ,एक डेन्टल सर्जन अनि पाँच जना अन्य कर्मचारीले अस्पताल धानिरहेको एक कर्मचारीले बताए।
मेडिकल सुपरिटेन्डेन्ट ,नायक सुब्बा र एकाउन्टेन्ट लगायतको पद रिक्त भएपनी अस्पतालको सेवा संगै प्रशासनिक काममा बाधा पुगिरहेको नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले बताए।
इमर्जेन्सी सेवा, जेनरल ओपिडी सेवा, डेन्टल सेवा,प्रसुती सेवा,परिवार नियोजन सेवा,ल्याब,एक्सरे सेवा,भिडियो एक्सरे सेवा देखि पोस्ट मार्टमसम्म हुने अस्पतालमा जम्मा दुई जना डाक्टरको भरमा चलिरहेको छ ।
यसरी दिनरात काम गरिरहेका डाक्टरहरुलाइ अस्पताल प्रशासनले चरम श्रमशोषण गरेको खुलेको छ ।
अस्पताल प्रशासनमा काम गर्ने सबै कर्मचारीले कोभिडको एकमुष्ट भत्ता बुझेपनी प्रत्यक्ष फिल्डमा खटिएका डाक्टरहरुलाई अहिलेसम्म भत्ता दिइएको छैन ।
सरकारी तह अनुसार हामी ८ औं मा पर्ने चिकित्सकलाई नाइट डिउटी गरेबापत जम्मा दुइसय पचास दिने गरिएको छ। अत्यन्तै न्यून भएको भन्दै पीडित चिकित्सकहरुले प्रमुख जिल्ला अधिकारीलाई पत्र लेखेपछी अहिले नाइट डिउटीको पाँच सय भत्ता दिनेगरेको पाइएको छ।
“कोभिड भत्ता पाउनु त परको कुरा । रातभरि काम गर्दा अनि सार्वजनिक बिदाको दिन गरिने एक्ट्रा कामको उचित पारिश्रमिक अहिलेसम्म पाइएको छैन । न त सरकारी नियम अनुसारको बिदा नै पाइएको छ । बेलामौकामा आउने ट्रेनिङ लगायतमा पनि जानबाट बिमुख भइएको छ । पाँच जना स्थायी डाक्टर अनि त्योभन्दा बढी अन्य कर्मचारी हुनुपर्ने जिल्ला अस्पताल जम्मा दुई डाक्टरको भरमा चलिरहेको छ “! – नाम उल्लेख नगर्ने सर्तमा एक कर्मचारीले भने ।
अस्पताल ब्यवस्थापन समितिको यो लापरबाहीले टाढाबाट उपचारका लागि आउने बिरामीहरु मारमा परेका छन् । “जिल्ला अस्पतालजस्तो ठाउँमा जम्मा दुई जना मात्र डाक्टर हुनु बिडम्बना हो । सम्बन्धित सरोकारवालासँग हामीले डाक्टरको संख्या थप्न बारम्बार अनुरोध गरिरहेका छौँ । तर, अस्पताल ब्यवस्थापन समितिले यस्तो संबेदनसिल कुरामा चासो देखाएकै छैन “- अस्पताल भएकै ठाउँको विद्यालयमा पढाउने एक शिक्षकले भने ।
यता,अहिले अस्पतालको निमित्त प्रमुखको जिम्मेवारी समेत सम्हालेका जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख वसन्त चालिसेले जनशक्तिको अभाव भएको स्विकार्दै दरबन्दी अनुसारको जनशक्ति ल्याउन पहल भइरहेको बताए ।
“अहिले तत्काललाई मैले जिल्ला स्वास्थ्यसँगै अस्पतालको पनि नेतृत्व सम्हालिरहेको छु । स्थायी कोहि पनि नभएकाले करारलाइ नेतृत्व दिने कुरा भएन । संघीय मन्त्रालय देखि प्रदेशसम्म म दौडिरहेको छु “- उनले भने ।
रसुवा अस्पताल ब्यवस्थापन समितिको अध्यक्ष रामशरण कुँइकेल पनि दक्ष जनशक्तिको अभावमा अस्पतालको कामकारबाहीमा कठिनाइ आइपरेको स्वीकार्छन्।
“यो प्रादेशिक अस्पताललाई प्रदेशको स्वास्थ्य मन्त्रालयदेखि यहाँकै गोसाइँकुण्ड गाउँपालिकालाई कुनै वास्तै छैन । १२ जना प्यारामेडिकल स्टाफ भएकोमा अहिले जम्मा पाँच जना छन् । छ जना मेडिकल अधिकृत भएकोमा अहिले जम्मा ३ जना छन् । यसरी जनशक्तिको अभाव भएपछी भएका जनशक्तिलाइ अतिरिक्त भार त परेको सत्य हो “।
आफू अधिकांश समय यहि जनशक्ति ब्यवस्थापनमा बितिरहेको भन्दै जिम्मेवार निकायले चासो नदेखाउनु दुखत भएको बताए।
तर, अस्पतालमा कार्यरत कर्मचारीहरुले कोभिड भत्ता अहिलेसम्म नपाएको भन्ने गुनासोलाई उनले गलत भएको बताए। तर, स्वास्थ्यपाटीलाई प्राप्त सन्देशमा अहिलेसम्म कोभिड भत्ता नपाएको कार्यरत कर्मचारीले बताएका छन् ।नदिएको भत्ता दिइसक्यो भन्ने प्रशासनको ठाडो जवाफ तर पाउनुपर्नेले नपाएको धरातलीय यथार्थका बीच कतै कोभिड भत्ता हिनामिना त भएन भन्ने आशंकालाइ बल पुगेको छ ।
रात्रीकालिन समयमा काम गर्दा पाउनुपर्ने पैसा नदिइएको भन्ने अर्को गुनासोमा समिति अध्यक्षले सरकारी कर्मचारीलाई प्रोत्साहनस्वरुप खाजा खर्च दिइएको बताउँदै यति नै दिनुपर्छ भनेर सरकारी नियममा कतै नभनेको बताए।
प्रदेश सरकारले जनशक्ति पुर्याउन चासो नदिने अनि अस्पताल ब्यवस्थापनले भएका कर्मचारीलाई उचित प्रोत्साहनबिना जबर्जस्ती भार थपिदिँदा अन्ततः उपचारमा आउने बिरामीहरुले सास्ती ब्यहोर्नुपरिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय