चलन चल्तीको वेब सिरिज जस्तै कोरोनाको पनि दोस्रो सिजन सुरु भईसकेको थियो। पहिलो सिजनमा कोरोना विरुद्धको युद्धमा होमिएका हामीमध्येका केही साथीहरुले ज्यान गुमाईसकेका थिए।
पहिलो सिजनमा जसोतसो उम्किन सफल हामीलाई दोस्रो लहरको ओपेनिङ भने धमाकेदार लागेको थियोे ।
सुरुदेखिनै आफ्नो ज्यान जोखिममा राखेर काम गर्दा आफ्नो भन्दापनि परिवारको डर लाग्दथ्यो। मलाई केही भईहाले पनि सरकारले खर्च बेहोर्ला, हस्पिटलको सेवासुबिधा सजिलै उपल्ब्ध हुनसक्ला भन्ने सोचेको थिएँ।
तर, परिवारको कुनैपनी सदस्यलाई भयो भने म सङ कुनै उपाय नै नहोला जस्तो लाग्दथो ।
…..
कुरो बैशाख महिनाको हो!
जुनबेला,हामी कान्तिमा रेजिडेन्सीको अन्तिम बर्षको तयारी मा थियौ ।
थेसिस सकाएर प्रोफेसरहरु लाई बुझाउने तनाब मा थिएँ । पढाईको तनाब ,पिक समयमा भएको बिरामीको तनाब,कोभिडको तनाब अनि त्यसमाथी थेसिस को तनाब !
जसले गर्दा कसैको फोन उठाउन अनि म्यासेज फर्काउने फुर्सद पनि थिएन । घरबाट पनि मलाई भन्दा म भन्दा ३ घन्टा पर पहाडको छेउको गाउँपालिकामा बस्ने श्रीमतीलाई फोन गर्दथे।एकदिन,
घरबाट फोन आयो ।
घरबाट आमाले सन्चो नभएको पखाला नरोकिने भयो , श्वासप्रश्वासमा गार्हो भाएको तर ज्वरो चाहिँ नआएको भन्दै हुनुहुन्थ्यो।
अनि , श्रीमतीले आमालाई गार्हो भएकोे छ एक चोटि कल गरि हेर्नू , उपचार गर्न काठमाडौंतिर बोलाउने हो कि भनेर म्यासेजमा सुझाब दिदै थिइन्।
घरको आर्थिक अवस्था उकास्ने भनी बाबाको पुरै जिन्दगी भारतमा बित्दै थियो । अनि दाजु भने बिदेश तिर होमिनु भएको थियो। आमालाई असहय भएर गार्हो भए पछि “राजु म धेरै बाच्दिन क्या? के गर्ने हो ?” भनी भन्नू भयो ।
त्यति भनी सकेपछी मेरो बोली एक्कासी बन्द भयो।
मेरो बोली फुट्ने ओठहरु काम्न थाले ।
मलाई मेरो आमा बिसन्चो भएको बेला नजिक नभएकोमा निकै पस्चताप लाग्यो ।त्यति बेला नेपालगन्जमा कोरोनाले पुरै हस्पिटल बेड प्याक थिए । बेड पाउनको लागि त्यहाँ भर्ना भएका मानिस को मृत्यु कुरेर बस्नु पर्दथ्यो।
त्यहि भएर दायाँबायाँ नसोची आमालाई सिधै काठमाडौं ल्याउने ब्यवस्था मिलाएँ ।
सार्बजनिक बिदाको दिन थियो। ओपिडी बन्द थियो ।
आमा लाई रुम मा पनि नलगेर सिधै टिचिङ हस्पिटलको ईमर्जेन्सीमा जचाउन लगेँ। त्यहाँ सुरुवाती सोधपुछ पछि रगत जांच , एक्सरे अनि कोरोनाको परिक्षण गरियो।
सुरुमा गरेको छाती को एक्सरे हेर्ने बित्तिकै कोरोनाको शंका लागिसकेको थियो। पूरा रिपोर्ट आउन अझै ३-४ घन्टा बाँकी थियो। आमालाई ईमर्जेन्सी कक्षमा राखिएको थियो। कोरोना को रिपोर्ट नआएसम्म कतै सार्न मिल्दैन भन्ने खबर पाँए।
त्यतिबेलासम्म आमा अलि थकित मात्रै देखिनु भएको थियो।शरीरमा अक्सिजनको मात्रा ठिकै थियो।
उता घर बाट आफन्तको फोन अनि बुवा र दाजुको बिदेशबाट फोनमा सोधपुछ चल्दै थियो। आमालाई कोरोनाको आशंका हुने बित्तिकै हस्पिटलमा बेड पाइन्छ कि नाँई !
आसियु राख्नु पर्यो भने खर्च पुग्ला कि नाइँ !
दिनहुँ मानिसहरु मरेको देख्दा हाम्रो अवस्था पनि त्यस्तै आयो भने के गर्ने होला भन्ने सोच्दै थिएँ । केही समयपछि पिसिआर परिक्षणमा कोरोना पोजिटिभको रिपोर्ट आयो।
अब अर्को पोजिटिभ वार्डमा सार्छ होला भन्ने सोचेको त “अहिलेलाई सबै बेड प्याक छ । हजुर हरु अरु कुनै हस्पिटल खोज्नु होला” भन्ने सुचना आयो। त्यही टिचिङ्म मै म जस्तै अन्तिम बर्षको तयारी गर्दै बसेका तर पनि डिस्टर्ब गर्न नचाहँदा पनि एक कल गरि बेड बुझ्न खोजेँ। उताको जवाफ पनि निराशाजनक नै थियो।
एक दुई सरकारी हस्पिटल बुझेँ – कतै बेड खाली रहेनछ । आमाको ज्यानभन्दा ठूलो केही हैन भन्दै प्राईभेट अस्पताल बुझ्न खोजेको त्यहाँको पैसा बुझेर बैंक ब्यालेन्स हेरेँ!
कठै! २-३ दिन पनि नपुग्ने रहेछ।
गाउँको जग्गा बेचौ भने बिक्री हुने खालको जग्गा पनि थिएन र त्यो पनि तुरुन्तै कसले पो लिन्थ्यो र!
मेरो आफ्नो कमाईले मलाई आफ्नो खर्च चलाउन अनि पुरानो लोन तिर्न ठिक्क हुन्थ्यो।
बुवाको र दाजुको कमाइले घरको ऋण तिर्नै ठिक्क हुन्थ्यो।त्यसैले म सङ बचेको एउटै उपाय भनेको टिचिङमा बेड कुरेर बस्नु पर्ने थियो। कहिँ कतै खाली हुन्छ कि भनेर मैले आफूले चिन्ने टिचिङ ,वीर अनि कान्ति अस्पतालका साथी अनि सिनियर डाक्टरहरु सङ हारगुहार मागेँ।
साँझ भईसकेको थियो। केही उपाय नलागेपछि एउटा कुनामा गएर बसेँ।
आकाशबाट सिमसिम पानी पर्दै थियो अनि आफूलाई सम्हाल्न नसकी हार मान्दै भक्कानो फोडेर रुन थालेँ।
मलाई वरिपरि रहेका मान्छे हरुले हेरे अनि सुने पनि होलान्। फोन बजि रहेको थियो।
करिब त्यो १ घन्टा मा २०-२५ जना सङ कल गरेको थिएँ। साथी बिप्लव अनि सम्भु र दाजु सुशीलको कल रिसिभ गर्दा त दोहोरो कुरा हुन पाएन । सायद मेरो आंशु सकेको थिएन।मलाई मेरो गरिबी प्रती धिक्कार लागेको थियो।
पेसाप्रती घृणा जागेको थियो।
जिरो लेबलबाट उठ्न खोज्नु कमाउन धेरै समय लाग्ने रहेछ जस्तो लाग्यो।
आमाले बुवा लाई भनेको कुरा सम्झिएँ – “जिन्दगीभरी अर्का को देशमा चौकिदारी गरेर अहिले सम्म राम्रो घडेरी अनि जग्गा पनि किन्न सकिएको छैन। छरछिमेकमा सबैको ठाँउमा घर अनि घडेरी छ।”
जसको उत्तरमा बुबा भन्नू हुन्थ्यो -“हाम्रो लगानीमा हाम्रो पुर्खा मा कोहि पनि राम्रो सङ अक्षर नचिन्ने को सन्तानमा गर्व गर्ने लायक डाक्टर त बनाएका छौ। मैले सन २०१३ मा एमबिबिएस सकेर खजुरा PHC बाँकेमा डाक्टर भै काम गर्दा त्यस ठाउँ वरि परिका नेता भद्रभलाद्मीहरुले “बाबू तिम्रो घर कहाँ पर्यो? ” भनेर सोधपुछ गर्दा –
म – ” जमुनी डाफे पर्यो।”
उनिहरु -” फलानो बडाअध्य्क्ष/नेताज्यु को छोरा हौ कि गाउको प्रधान को आफन्तजन हौ”?
म -” हजुर मेरो पृष्ठभुमिमा त्यस्तो शक्तिशाली मान्छे कोहि पनि हुनुहुन्न !तर, म एक गाउँले कृषक अनि आफ्नो अनि परिबार को पेट पाल्न भनी भारतमा चौकिदार गरिरहेका इसरे सुनार को छोरो हुँ” भनी निर्धक्क जवाफ दिएको कुरा बेला बेला मा सम्झिन्छु जसले मलाई सधै अघि बढ्न प्रेरणा दिन्छ।
तर, नेपालमा डाक्टरको मर्म बुझ्ने सरकार अहिले सम्म आएको महशुस भएको छैन । तर, मलाई मात्रै हैन हाम्रो फिल्ड मा काम गर्ने थुप्रै डाक्टरहरु जो ,विशेष गरि शुन्य लेबलबाट आएका हुन्छन् , जसको पैतृक सम्पती केही हुँदैन – उसलाई त इमानदारीको साथ काम गरि डाक्टरको जिन्दगी जिउन पनि गार्हो हुन्छ। सरकारले गरेको तरिका हेर्दा हाम्रो ईमानदारीता कायमै राखि काठमाडौमा परिवार पाल्न गार्हो हुन्छ।
मिहिनेत अनुसारको अनि अन्य देशमा डाक्टर पेशालाई दिने सम्मानजनक तलब सुबिधा पनि दिन सकेको छैन।
दिनाप्रति दिन बढ्दै गरेकोमहंगीसङ जुध्ने हिम्मत पनि आउँदैन । सरकारको व्यबहार हेर्दा लाग्छ कि ” जाउ तिमीहरुलाई तलब भत्ता बढाउन सकिँदैन ।
तिमीहरु आफ्नो तरिका खोज । फलतः हामीमध्य धेरै ३-४ ठाउँ क्लिनिक भौतारिन्छौ कि कमिसनको चक्करमा डुब्छौँ । बिरामी लुट्छौ कि इमान्दारिता कायम नै राख्छौ।आफू संगै हुर्केका पढेका साथीहरुले घर घडेरी गाडी चढेर सुखी जिन्दगी बिताउन थाली सके हामी भने जहाँको त्यहिँ।
यहि सम्झेर यो देशमा डाक्टर बन्नु भनेको अभिसाप जस्तो लाग्दछ।
बिदेश पढ्न जानू पनि एउटा अर्को सम्भावना थियो।
तर ,त्यँहाको लागि दिइने प्रवेश परीक्षाको शुल्क पनि हामी जस्ताको लागि महंगो हुने भएकाले त्यता तिर बाटो कहिले सोच्न पनि सकिएन।
सोच्न सकियो त केबल एउटै कुरा – राज्यको अपहेलना सहि रहेको चिकित्सकिय पेसा येस्तै रहि रहे आफ्नो सन्तान लाई कहिले पनि डाक्टर पढन उत्प्रेरित गर्ने छैन।
मनमा धेरै कुरा खेल्दै गर्दा एकजना सिनियर दाजुको फोन आयो कि – ” डाक्टर साहब, एउटा बेड खाली हुँदै छ so don’t worry.” !
अनि , एकै छिनमा म प्रफुल्लित भएँ ।
फेरि आफुले काम गर्ने कान्ति बाल अस्प्तालको ईमर्जेन्सीको बाताबरण सम्झिएँ ।
बेड नपाएर भौतारिरहेको बिरामीको मान्छेलाई सम्झिएँ ।
अनि फेरि भन्न मन लाग्यो, यो सरकार किन निर्दयी ?
बेडको अभाबमा अनि आर्थिक स्रोतको अभावमा मान्छेहरुले कहिले सम्म ज्यान फाल्नु पर्ने हो?
आमालाई माथी Annex १ वार्डमा सारिसकेको थियो । श्रीमतीले उनको महिनाबारी रोकिएको खबर सुनाएको ३ दिन मात्रै भएको थियो । बच्चाको बाबू बन्न लागेको खुसीमा छुट्टै आनन्द थियो।
तर , म यहाँ धर्मसंकटमा परिसकेको थिएँ।
प्रकृतिले पनि म सङ कस्तो परिक्षा लिँदै थियो म अनभिज्ञ थिएँ!
मेरि उनीलाई आमाको स्याहार गर्न बोलाउँ भने बिहे गरेको ३ बर्ष पछि पहिलो पटक बुबा आमा बन्दै थियौँ।
दोस्रो लहरको कोरोनाले फेरि आमा अनि गर्भमा रहेको शिशुलाई अफ्ठेरो हुन सक्ने डर प्रबल थियो। नबोलाउँ भने आमाले के सोच्नु होला ,समाजले के सोच्ला भन्ने डर पनि भयो ।
सुरुमा हामी २ ले सल्लाह गरि उनले टाढै बाट भेट्ने अनि यथार्थ कुरो आमालाई भन्ने सोचेको थियौँ।
तर पछि आमाको अवस्था हेरे पछि जे हुन्छ हेर्दै जाउँला अहिले नजन्मिएको भन्दा जन्मिसकेको मान्छेलाई प्राथमिकता दिउँ भनी ढुङाको मन बनाई अगाडि बढ्ने निर्णय गर्यौँ ।
उनीले पनि मलाई यो कुरामा साथ दिएर मेरो शिर अझै ठाडो पारिदिइन् ।

उनी आएको २ दिन पछि आमाको अवस्था झन गम्भीर हुँदै गयो । सुरुसुरुमा त आमाको गाउँका साथीहरुसङ भिडियो कल हुन्थ्यो । पछि अवस्था जटिल भए पछि बोल्न पनि गार्हो भयो ।
वहाँको मोबाईल स्विच अफ भयो। गाउँतिर आमा बितिसकिन भन्ने हल्ला फिजिँएछ र सो कुरा को सत्यतथ्य बुझ्न मलाई केही फोन समेत आए ।शरीरमा अक्सिजन को मात्रा घटेर ७५% मा झर्यो । कृत्रिम अक्सिजन लगाएर पनि ८९- ९० % मात्रै हुन थाल्यो।
बेडमै दिशा पिसाब गराउनु पर्ने अवस्था आइपुग्यो।
उता मेरो हस्पिटलमा मलाई थेसिस साईन गराउन सर लाई भेट्न गार्हो भएको थियो। एकातिर आमाको चिन्ता अर्को तिर फाइनल बर्षको थेसिस सकाउनु पर्ने जुन नसकी म परीक्षा मा बस्न पाउदैन्थै।
जन्म दिने आमा भन्दा मेरो पढाइ ठूलो हुन सक्दैन । जे परे पर्छ म पढाइ छोड्नु परे पनि छोड्छु भन्ने निधो गरेँ। मेरो यो समस्या बुझेर मलाई थेसिस मा सहयोग गरि थप उर्जा दिने सफा हृदयका साथी बिनिता सिङ अनि साथी लक्ष्मी गुरुङ लाई धन्यबाद नदिई म बस्न सक्दिन।

पोस्टिङ भएको युनिट इन्चार्ज शुभाना कार्की थापा म्यामले मलाई बारम्बार हौसला अनि सहानुभुति दिनु हुन्थ्यो। वहाँको त्यो गुण म कहिल्यै बिर्सने छैन । मेरो आमाको ज्यान जोगाउन म्यामले गर्नु भएको सहयोग अनि प्रयासले वहाँ प्रती मेरो सम्मान सबै भन्दा माथी उक्लिएको छ।
आमालाई गार्हो हुँदै गएपछिको अन्तिम सस्त्र को रुपमा इन्जेक्सन रेम्डेसिभिर चलाउन बाँकी थियो। उक्त औषधि पनि सजिलै नपाउँदा केहि डोज ब्ल्याकमा किन्नु परेको थियो ।
सुरुमा औषधिको ब्यबस्था गरिदिने प्रिय साथी बिकास शाह को त्यो गुन म कहिले बिर्सन सक्ने छैन।
हाम्रो अर्को म्याम ले बिरगंजको बाटो बाट भएर पनि औषधि मगाउने प्रयास गर्नु भयो।
त्यसपछी कान्ति अस्पताल कै सिनियर दाजुको सहयोगमा बाकी औषधि को ब्यबस्था पनि भयो।
ब्ल्याकमा औषधि किन्दा गोजिको पैसो रित्तिएको पत्तै नहुने रहेछ। त्यसपछी पैसाको खोजीमा म एकजना चिनेको आफन्तकोमा बाईकमा जाँदै थिएँ । बेलुकातिर अर्को एक जना म्यामको फोन आयो -“पैसाको समस्या भए भन्न नहिच्किचाउनु , ढुक्क भएर भन्नू है” ।
माल्दिभ्सको साथीले त्यस्तै सहानुभुती दिएर आत्मबल बढाएका थिए।
साथीभाइ, आफन्त अनि सीनियर जुनियर साथीहरुले पनि बेला बेलामा हालचाल सोध्नु हुन्थ्यो। जसले गर्दा म एक्लै छैन भन्ने महसुस हुन्थ्यो र साहस आउँथो।
आमाको अवस्था झन झन बिग्रीदै गएको थियो । अनि ,त्यहाँ कार्यरत डाक्टरको टिमले अब आइसियु सार्नु पर्यो जति बेला पनि भेन्टिलेटरमा राख्नु पर्न सक्ने भन्न थाले।
मेरो उहीँ पुरानो समस्या आर्थिक अपरिपक्वता, बाहिर प्राइभेट मा त १-२ दिन पनि टिक्न सकिँदैन ।
भाग्यमा जति लेखेको छ यतिनै हो भनी हाई रिस्कमा त्यहीँ बस्ने निधो गरेँ।
अनि, सँगै आमालाई कुर्न आएको भाईलाई आमा अब बाच्दैनिन् भनेर मन गह्रौँ बनाई आँसु रोक्न खोजेँ तर असफल भएँ ।
म आत्तिए छट्पटाएँ , रोएँ , कराएँ, दिमागले केही सोच्नै सकेन।
आमाको अन्तिम समय आईसकयो भन्ने लागेर बिदामा घरमा भख्खर आउनुभएको दाजुलाई काठमाडौं बोलाई हालेँ।
बुवा भारत मै बोर्डर बन्द भएर नेपाल आउन पाउनु भएको थिएन ।
म आफैँमा कमजोर भैइसकेको थिएँ।
टिचिङको सिस्टरको कामप्रतीको लगाब, चिकित्सकको सल्लाह ,मेरो जीवन सङिनीको साथ ,आफन्तजन,गुरुबर्ग अनि अग्रज डाक्टर ,कान्तिमा कार्यरत मेरा सहपाठी जुनियर अनि सिस्टरहरुको साथ अनि मायाले आमामा क्रमिक सुधार हुन थाल्यो।
सायद आमाले दोस्रो जीवन पाउनु भयो । ठिक त्यही समयमा जुम्लामा बस्नु हुने छ्यामा(सानिआमा) अनि अंकल दुबै जना कोरोना सन्क्रमित हुनु भयो । सानी आमाको एक्सरे रिपोर्ट हेर्दा त आमाको भन्दा पनि धेरै खराब थियो। वहाँहरु हस्पिटल गएर भर्ना हुन अन्कनाउनु भाको थियो। यता यमराज नजिकैबाट फर्किएकी आमाको अवस्था सम्झिँदा म धेरै नै आत्तिएँ ।
त्यतिबेला सम्म अस्पतालका सम्पुर्ण बेडहरु प्याक भईसकेका थिए । यस्तो बेलामा रेफर गरेर पनि आउन सजिलो थिएन । त्यैसैले बेड पाइएको छ भने भर्ना भईहाल्नु भनेर छ्यामासङ जिद नै गरेँ।
मेरो परिवारमा कसैलाइ कुनै अप्रिय घटना नघटोस् भन्ने चाहन्थेँ। यता आमा तग्रिँदै जानुभएको थियो।
अझ आमाकै शब्दमा भन्नू पर्दा” पैसा नकमाए पनि मेरो यो दिन को लागि मैले छोरा लाई जन्म दिएकि रहेछु!
पहिलो जीवनमा मैले तिमीलाई जन्म दिएर आमा बन्ने सौभाग्य पाएँ र यो दोस्रो जीवन मा तिमीले मलाई दोस्रो जन्म दियौं ।”
…..
आमाबुबाको सत्कर्म अनि आशिर्वाद ले मैलेपनि मेरो आमा लाई दोस्रो जीवन दिन सफल भएकोमा खुसी थिएँ ।
त्यही खुसी बाड्नको लागि इन्टर्नेसन्ल नर्सिङडे को दिन मेरो तर्फ बाट Annex 1 को टिम नारायणि शर्मा सिस्टर को टिमलाई युरोपियन बेकरी क्याफे बाट केक गिफ्ट गरेर खुसी साटफेर गरेँ।
अनि,
भोलि पल्ट डिस्चार्ज भइ कोठामा फर्कियौँ !

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय