एमबीबीएस लगायत अन्य फ्याकल्टीमा नयाँ शैक्षिकसत्रको लागि भर्ना खुलेसँगै निजि मेडिकल कलेजले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बाहिर गएर आफ्नै तजबिजमा विभिन्न शीर्षकमा अबैध शुल्क असुल गर्न सुरु गरेका छन् ।

स्वास्थ्यपाटीलाई विद्यार्थीहरुले पठाएको कलेजको आधिकारिक पत्रमा चिकित्सा शिक्षा आयोगले तोकेको रकमलाइ “शैक्षिक शुल्क” मात्र भएको जिकिर गर्दै कलेज प्रशासनले अन्य शुल्क तिर्न बाध्य पारिरहेको गुनासो गरेका छन् ।

आफ्नो नाम कहिँकतै उल्लेख नगर्ने सर्तमा पुरानो मेडिकल कलेज चितवनमा भर्ना भएका एक विद्यार्थीले पठाएको सन्देशमा भनेका छन् -” भर्ना भएको दिनमै आयोगले तोकेको भन्दा पाँच लाख एक्ट्रा शुल्क मागिसके ।आयोगले तिर्नै पर्दैन भनेको शीर्षकमा समेत सुरुवातमै यसरी माग्नेले पढ्न थालिसकेपछि कति माग्लान् भन्ने चिन्ता थपिएको छ”।
यस्तै,बिराट मेडिकल कलेज ,नेपालगंज मेडिकल कलेजले इन्टर्नसीप शुल्क भन्दै सुरुमै दुई लाख रुपैयाँ तिर्न बाध्य पारिरहेको विद्यार्थीको गुनासो छ । पाँच बर्षको पढाइ सकिएपछी हुने इन्टर्नशिपको लागि अहिल्यै रकम असुलिएको छ । जबकी, इन्टर्नसीप भनेको काम गरेको भएर पाइने रकम हो। मुस्किलले दस हजार रुपैयाँ मासिक भत्ता दिने मेडिकल कलेजले सुरुवातमै लाखौं रुपैयाँ असुलेर आफ्नो गैरजिम्मेवारी देखाइसकेका छन् ।
अझ, अचम्मै पार्ने कुरा के भने, बिराट मेडिकल कलेजले होस्टेलमा बसेर पढिरहेका विद्यार्थीसँग “बिजुलीको छुट्टै पैसा लिइनेछ” भनेर आधिकारिक सुचना नै जारी गरेको छ।
पानी तताउने सामान लगायत प्रयोग गरेमा वा कलेजले तोकेको भन्दा धेरै बिजुली खपत हुन आएमा स्वयं विद्यार्थीले नै तिर्नुपर्ने उसले जारी गरेको सुचनामा प्रष्ट भनेको छ।
अन्य मेडिकल कलेजबाट पनि यस्तै किसिमका कयौं गुनासो आइरहेका छन् ।
यस्तो अबैध शीर्षकमा शुल्क असुली गरिरहँदा पनि जिम्मेवार सरोकारवाला निकाय भने “अनुगमन गरिरहेका छौँ /गर्नेछौं” भन्ने औपचारिक जवाफमा पन्छिरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय